सुख्खा मौसममा पनि पर्याप्त पानी ल्याउने तयारी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ५ असार ।
    सुर्खेत उपत्यकामा पानीको अभावलाई न्यूनीकरण गर्न झुप्रा बृहत खानेपानी तथा सरसफाई संस्था सुर्खेतले बैकल्पिक स्रोतबाट आगामी सुख्खा समयमा वितरण गर्ने गरी निर्माण योजना बनाउने भएको छ ।
    रतु, गर्पन र साटाखानी गाविसको खरिखोला र बोरी खोला दोभानमा रहेको मुहानबाट हाल सञ्चालनमा रहेको करेखोला स्थित ट्रिट्मेन्ट प्लान्टमा पानी ल्याइ आगामी सुख्खा समयमा पानी वितरण गर्ने संस्थाले आवश्यक योजना बनाएको हो ।
    दोभानमा रहेको मुहानबाट प्रति सेकेन्ड ७३ लिटर पानीको स्रोत भएकाले सुख्खा याममा खानेपानी आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए ।
    संस्थाले तत्काल स्रोत दर्ता प्रक्रियामा जाने र यसको स्टिमेट तथा डिजाइनको काम सुरु गर्ने योजना रहेको अध्यक्ष देवकोटाले बताए । बैकल्पिक स्रोतको रुपमा फेला परेको मुहानबाट पानी ल्याउन परियोजना प्रस्ताव एक हप्ता भित्र तयार गरी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयमार्फत खानेपानी विभागमा पठाइने जनाएका छन् ।
    दोभानमा रहेको मुहानबाट करेखोलाको पानी प्रशोधन केन्द्रसम्म पुर्‍याउनका लागि स्थानीय निकायको सहयोग आवश्यक पर्ने उनले बताए । योजनालाई पुरा गर्नका लागि संस्थाले तिर्नुपर्ने ऋणलाई दुई वर्षपछि सारेर भएपनि सुर्खेतका उपभोक्तालाई पानी पुर्‍याउने संस्थाले लक्ष्य लिएको उनको भनाइ छ । दोभान मुहानबाट करेखोलाको पानी प्रशोधन केन्द्रसम्म खसाल्नका लागि आवश्यक पर्ने उचाइ ५० मिटरभन्दा माथि रहेको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेलले बताए । केही भागमा चट्टान भएपनि पाइप लाइन विस्तर गर्नका लागि त्यति गाह्रो नहुने उनले जनाए ।  जलवायु परिवर्तनका कारण मुहान सुक्दै गइरहेको हँुदा भेटिएको मुहानबाट उपत्यकाका वासिन्दालाई पानी सहजरुपमा पुर्‍याउन सकिने उनको भनाइ छ ।
    उपत्यकामा देखिएको पानीको अभावलाई कमी गर्न बोरीखोला र खरिखोलाको दोभानमा रहेको मुहानबाट पानी ल्याउन नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने वीरेन्द्रनगर नगरपालिका सुर्खेतका इन्जिनियर जनकबहादुर शाहीले बताए ।
    उपत्यकाका वासिन्दालाई दैनिक एक करोड लिटर पानी आवश्यक भएपनि ३० लाख मात्रै उपलब्ध हुँदा खानेपानीको समस्या बढ्दै गएको छ । सुर्खेत उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खडेरीले पानीको मुहानहरु सुकेका कारण ७० लाख लिटर पानी पुर्‍याउन नसकेको जनाएको छ । पानीको मुहान सुक्दै गएपछि विगतको बर्षभन्दा पनि यस बर्ष उपत्यकावासीले पानीको संकट भएपछि ३६ घन्टाको पालो लगाइएकोमा अहिले ४२ घन्टामा एक पटकको पालो लगाइएको छ । खानेपानीका लागि उपत्यकामा साढे १२ हजार धारा वितरण गरिएको छ ।

No comments:

Post a Comment