नीमबाट एचआईभी नष्ट

    भारतीय उपमहाद्वीपमा ग्रामीण औषधिको पहिचान पाएको नीमद्वारा कयौं रोगको उपचार हुने विश्वास गरिन्छ । गाउँतिर नीमको डाँठले दाँत माझ्ने र लुतो खटिरा निको पार्ने पातको रस हालेको पानीले नुहाउने प्रचलन छ । अहिले आएर अमेरिकाको न्यूजर्सीमा रहेको किन विश्वविद्यालयमा सह–प्राध्यापक सोनिया अरोराले एड्स गराउने भाइरस एचआईभीविरुद्ध लड्ने गुण नीममा भएको खुलासा गरेकी छन् । सान डियागोमा गत अप्रिल २२ मा भएको एक्सपेरिमेन्टल बायोलोजी बैठकमा अरोराले आफ्नो खोजबारे अवगत
गराइन् । उनले प्रस्तुत गरेको प्रारम्भिक नतिजा अनुसार एचआईभीलाई आफ्नो प्रतिरुप बनाउन आवश्यक पर्ने प्रोटिनलाई लक्षित गर्ने यौगिक नीममा हुन्छ । थप अनुसन्धानबाट अरोराको खोज पुष्टि भएमा एचआईभी/एड्सको उपचारका लागि औषधि बनाउनेको हातमा नयाँ उपाय लाग्ने छ ।
    नीमको पात, बोक्रा, हाँगा, फललाई ब्याक्टेरिया, भाइरसलगायतका जीबाणुविरुद्धमा परम्परागत रुपमा प्रयोग गरिंदै आएको छ । औलो रोग नियन्त्रणका लागि समेत नीमको उपयोग गरिन्छ । क्यान्सर, फर्माकोलोजी, बायोइन्फर्मटिक र स्ट्रक्चरल बायोलजीमा विशेषज्ञता हासिल गरेकी अरोराले आफ्नो ज्ञानलाई नीमको अनुसन्धानमा लगाएर एचआईभीको उपचार खोज्ने कोसिस गरेकी हुन् । नाइजेरिया र भारतमा एचआईभी/एड्सका रोगीलाई नीमबाट तयार पारिएको अवयव खुवाइंदा रगतमा एचआईभीको मात्रा घटेको भनी दुई अध्ययनपत्रमा उल्लेख गरिएको पाएपछि अरोरा अचम्भित भएकी थिइन् । त्यसपछि उनले भाइरससंग लड्ने नीममा भएको त्यस तत्वलाई खोज्ने निधो गरिन् । अनुसन्धानको क्रममा अरोराको टोलीले नीमका विभिन्न प्रकारमा २० वटा यौगिक फेला पार्‍यो । एचआईभीको जीवनचक्रका लागि निकै महत्वपूर्ण प्रोटिनबिरुद्ध ती यौगिकलाई प्रयोग गर्दा अरोराको टोलीले नीमका अधिकांश यौगिकले एचआईभी प्रोटिजमा आक्रमण गर्ने पत्ता लगायो । एचआईभीलाई आफ्नो प्रतिरुप तयार पार्ने यस प्रोटिजको खाँचो पर्दछ । अहिलेसम्म अरोराको परीक्षण कम्प्युटर मोडेलमा मात्र भएको छ । उनको टोली अब टेस्ट ट्युबमा वास्तविक परीक्षण गर्ने तयारी गरिरहेको छ । 

No comments:

Post a Comment