खुर्सानी बेचेर घरपरिवार धान्दै

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कालिकोट, ११ असार ।
    सदरमुकाम मान्मबाट १० कोस पश्चिमका स्थानीयवासी खुर्सानी व्यवसायबाट घरपरिवार धान्न थालेका छन् । अति दुर्गम गाविसका रूपमा चिनिने नानीकोटसंग जोडिएको फुकोट गाविसको गांखेतकी बिस्मता बुढा खुर्सानी व्यवसायबाट घरपरिवार पाल्न सफल भएकी हुन् । अन्नबाली लगाइने घर नजिकको बारीमा वर्षायाममा खुर्सानी लगाउँदै आएकी बिस्मताले खुर्सानीबाट दोब्बर फाइदा भएको बताए । वर्षमा घर परिवारले उत्पादन गरेका अन्न अपुग भएपछि समस्या झेल्दै आएपनि खुर्सानी उत्पादन पछि त्यो समस्या टरेको बुढाको भनाइ छ ।
    जिल्लाका पश्चिम क्षेत्रका नानीकोट, फुकोट, राम्नाकोट, थिर्पुलगायतका गाविसमा स्थानीयवासीले खुर्सानी लगाउने गरेका छन् । पाँचवर्षदेखि खुर्सानी लगाउँदै आएकी बुढाले आफूले लगाएको देखेर वरिपरिका छिमेकीले समेत प्रभावित भएको बताए । गाउँमा खुर्सानीसंग गहुँ, धान, आलु साटेर पारिवारिक समस्या समाधान गर्ने गरेको बताइएको छ ।
    गाउँमा खुर्सानी बिक्रीका लागि घरघरमा जानुपर्ने समस्या भएपनि आफ्नो पारिवारिक समस्या समाधान भएको बताउँदै बुढाले नगदसमेत उपलब्ध भएकामा खुसी प्रकट गरे । लामो समयदेखि खुर्सानी व्यवसाय गर्दै आए पनि बुढाले परम्परागत रूपमा व्यवसाय गरेको तर कतैबाट तालिम नपाएको दुखेसो पोखे ।

No comments:

Post a Comment