नेपाली राष्ट्रियता सम्वन्धी बहस एक चर्चा

Bookmark and Share 
बालकृष्ण सुनार
    २०६९ असार १९ गतेका दिन सुर्खेत जिल्ला विकास समितिको सभा हलमा मार्टिन चौतारीद्वारा आयोजित ‘नेपाली राष्ट्रियता सम्वन्धी बहस’ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख वक्ताका रुपमा बरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला राजधानीदेखि आउनुभएको थियोभने त्यस कार्यक्रममा राजनीतिक विश्लेषक सि.के. लालद्वारा लिखित ‘नेपाली राष्ट्रियता चिन्तन र अभिव्यक्ति’ भन्ने सोचपत्र पुस्तक ४/५ दिन अगाडि नै केही सहभागीहरुलाई वितरण गरिएको थियो । मार्टिन चौतारीले यस्तै प्रकृतिका कार्यक्रम यसभन्दा अगाडि १६ वटा स्थानमा संचालन गरिसकेको र यस कार्यक्रम १७ औं पटक भएको कुरा आयोजक साथीहरुले बताउनुभएको थियो ।
    बास्तवमा जिविस सभा हल सहभागीहरुले खचाखच भरिएको थियो । जसमा सहभागी सुर्खेत जिल्लाका बाहेक बाँके, बर्दिया र दैलेख जिल्लाबाट समेत आयोजकले सहभागी गराएका थिए । करिव बिहान ८ बजे खाजा खाइसकेपछि राष्ट्रियता सम्वन्धी बहसको कार्यक्रम अगाठि बढ्यो । जसको संचालन पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले गर्नुभएको थियोभने अध्यक्षता खगेन्द्र संग्रौलाले गर्नुभएको थियो । अतिथिको आसन ग्रहण भैसकेपछि सिके लालले लेखेका ‘नेपाली हुनलाई’ भन्ने सोचपत्रमाथि सुर्खेतका बौद्धिक व्यक्तित्वका रुपमा परिचित एवं म.प विश्वविद्यालयका डीन पीताम्बर ढकालले टिप्पणी गर्नुभयो । उहाँले टिप्पणीका सन्दर्भमा अहिले हाम्रो देशको गन्तव्य नै अनिश्चित हुदैं गइरहेको बेला नेपाली राष्ट्रियता सम्वन्धी बहसको महत्व बढेर गएको बताउनुभयो । साथै सिके लालद्वारा लिखित ‘नेपाली हुनलाई’ भन्ने सोचपत्र कसैको चाकडीका लागि लेखिएको भन्ने भान हुन्छ र सो सोचपत्रले बलेसीसरी पानीको फोका झैं फुटेका मधेसी दलहरुलाई वर्तमानको शक्ति देख्नु र देशका स्थापित रुपमा रहेका वामपन्थी र कांग्रेसजस्ता पार्टीहरुलाई विगतका पार्टी देख्नु त्रुटिपूर्ण रहेको बताउनुभयो । साथै उहाँले सो सोचपत्रलाई ‘अल्छीको कथा’को संज्ञा दिदैं नेपाली संस्कृति र राष्ट्रियता के हो ? भन्ने प्रश्न उठाउँदै भारतले पठाइदिएको संघीयताको विष छाडेर चीनले अवलम्बन गरिरहेको अमृतरुपी विकेन्द्रीकरणको सिद्धान्त नै नेपालको बस्तुगत अवस्था, सामाजिक परिवेश र देश सुहाउँदो हुन सक्ने बताउनुभयो । यो सोचपत्र सिके लालले लेखेको हुँदा सोचपत्र भएको र यदि अरु हामी जस्ताले लेखेको भए शौचपत्र हुने भनेर व्यंग्यात्मक शैलीमा त्यसको विरोध गर्नुभयो ।
    त्यसपछि साहित्यकार संग्रौलाले आफ्ना विचारहरु राख्नुभयो । सवैलाई जय नेपाल र अभिवादन भन्दै त्यसको संक्षिप्त व्याख्या गर्दै उहाँले आफू सुर्खेतमा ५ औं पटक पाइला टेकेको कुरा बताउनुभयो । उहाँले विचार राख्ने सन्दर्भमा हिजोको नेपाल अव छैन नेपाल क िनयाँ बनाउँछौं वा यो खण्डित हुनसक्छ भनेर उपस्थित भएका सवैलाई झस्काउनुभयो । नेपाल अहिलेसम्म केन्द्रीकृत र एकात्मक रुपमा रहेको नेपाली भाषा, हिन्दु धर्म, गहुँगोरो बर्ण ४–५ वटा मात्र नेपाली पहिचान भएकाले राज्य सीमित मान्छेको हुने कि सवैको हुने भन्ने विषय नै मूलभूत विषय रहेको कुरा बताउनुभयो । उहाँले देशका राजनैतिक पार्टीहरुले जानेर वा नजानेर बुझेर वा नबुझेर देश संघीयतामा गएको छ यसबाट फर्कन सकिदैंन र बाटो रेखांकन गर्दा सही ठाउँमा नपुग्न पनि सकिन्छ साथै हिंड्दै गर्दा भीर पहरा चट्टान पनि आउनसक्ने बताउनुभयो साथै उहाँले न्यायपूर्ण मागका लागि देशलाई अंशवण्डा गर्नपनि तयार हुनपर्छ भन्दै सुगौली सन्धीभन्दा यता हामी कहिल्यै पनि स्वाधीन हुन सकेनौ न हामी गुलाम भयौं न स्वतन्त्र भयौं भनेर आफ्नो कुरा टुंग्याउनु भयो । त्यसपछि पालो आयो फ्लोरमा बसेका सहभागीहरुको  र जसको सहजीकरण रमेश पराजुलीले गर्नुभयो । उक्त सोच पत्र र नेपाली राष्ट्रियता सम्बन्धी बहसमा केन्द्रित रहेर ५ मिनेट भित्र आ–आफ्ना विचार राख्नुपर्ने कुरा आयोजक साथीहरुले बताउनुभयो । त्यसपछि राष्ट्रियता सम्बन्धी तातो बहर हलभित्र
चल्यो । विषय ‘नेपाली राष्ट्रियता सम्बन्धी बहस’ भएतापनि राष्ट्रियतासंग अन्तर सम्बन्धित संघीयताको विषयमा नै व्यापक बहस र छलफलहरु चले । यसका पक्ष र विपक्षमा मतहरु प्रकट भए । विशेषत: संघीयता र जातीय राज्यमा मतहरु राख्नेहरुमा एनेकपा माओवादी, माओवादी र त्यसका जातीय संगठनहरुका प्रतिनिधि, जातीय संगठनका मानिसहरु र केही एन.जी.ओ., आइ.एन.जी.ओ.हरुका तलब खाएर उसको नुनको सोझो गर्नेहरु नै थिए ।
    तर धेरै जनमत राष्ट्र विखण्डन हुन हुन्न र संघीयताले देशमा जातीय, क्षेत्रीय द्वन्द्व सिर्जना गर्ने, राष्ट्रियता विखण्डन गर्ने र देश टुक्राउने हुँदा संघीयताको विपक्षमा विचारहरु राख्दै आ–आफ्ना मतहरु राखिएका थिए । करिब ३५–४० जना जति सहभागीहरुले विचार राखिसकेपछि पुन: साहित्यकार खगेन्द्र संग्रौलाले हलबाट उठेका विचारहरुलाई सम्बोधन र स्पष्ट पार्न थाल्नुभयो । उहाँले साहित्यिक प्रकारले मधेसी जनजातिहरुको भावना क्यास गर्ने प्रकारले विचाहरु राख्ने प्रयत्न गर्नुभयो । र सि.के. लालद्वारा लिखित ‘नेपाली हुनलाई’भन्ने सोच पत्र नेपाली राष्ट्रिय पहिचानको परिभाषा संकुचित भएको हुँदा त्यसलाई अरु वृहत बनाउने कुरा सि.के लालको सोच हो भनेर त्यसको बचाव गर्नुभयो । उहाँले विगतमा तराईमा थारुजातिका जमिनहरुमाथि पहाडबाट गएका खसहरुले उनीहरुको आँगनमा किला गाडे । उनीहरुको जग्गा कब्जा गरी उनीहरुलाई कमैया दास बनाएर राखे । त्यस्तै पूर्वमा लिम्बुहरुका जग्गा पनि खसहरुले कब्जा गरे । हिजोको नेपाल न्यायपूर्ण थिएन त्यसको विकल्पमा देशमा संघीयता भित्रिएको र जाति, जनजातिहरुले आफ्ना मागहरु उठाइरहेको कुरा बताउनुभयो । साथै उहाँले जानजाति, मधेसीले पहिचान खोज्नु के विखण्डन
हुन्छ ? भनेर प्रश्न गर्नुभयो । संघीयतामा जाने भनेको सबैलाई न्याय दिने हो । न्यायका लागि देशलाई अंशवण्डा गर्नपनि तयार हुनुपर्छ र अन्तमा उहाँले संघीयतामा जाँदा जोखिम त छ तर जोखिम मोल्न सबै तयार हुनुपर्छ भनेर भन्नुभयो र व्यक्तिका जीवनमा त धेरै जोखिमहरु हुन्छन् भने राष्ट्रका जीवनमा जोखिम हुनु स्वाभाविक हुन्छ । उहाँले अन्तमा यो भनेर आफ्ना विचार टुंग्याउनुभयो ।
    हाम्रै जीवनमा धेरै जोखिमहरु छन्, हामी जुनदिन गर्छौ सबै जोखिमबाट मुक्त हुन्छौं भनेर कार्यक्रम समापन गर्नुभयो । वास्तवमा खगेन्द्र संग्रौलाका विचारहरु भावनात्मक प्रकारले विचार गर्दा स्वभाविक लाग्न सक्लान् तर दीर्घकालीन र विचार धारात्मक प्रकारले सोच्दा ती विचारहरु देशका लागि कति घातक छन् । एकचोटि विश्लेषण गरौं । सर्वप्रथम त जो सि.के. लालद्वारा लिखित सोचपत्रलाई उहाँले राष्ट्रियता प्रतिको सोच हो भनेर बताउनुभएको छ । त्यो सोचपत्रको टिप्पणी गर्दा ठूलै पुस्तक तयार हुनुसक्छ । सोचपत्रको विषय प्रवेशमा नै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई डा. यादवले राष्ट्रियताप्रति चिन्ता प्रकट गर्दै ‘हामी सबै नेपाली हौं’ भन्ने विचारलाई पंचायतकालीन पुरानो सोच भनेर राष्ट्रपति डा. रामवरण यादवलाई आरोपित गरेको छ । त्यसो भए राष्ट्रियता सम्बन्धी चिन्ता र चासो गर्दै मधेस, पहाड, हिमाल जहाँ भएपनि जुन जातजातिका भएपनि हामी नेपाली हौं भन्ने राष्ट्रपति डा. रामवरण यादव पंचायती सोचका हुन्भने, के एक मधेस एक प्रदेश नभए एक नेपाल पनि हुन नदिने महन्त ठाकुर र तराईका २२ जिल्लाले चाहे नेपालबाट मधेस टुक्राइ दिने अभिव्यक्ति दिने पूर्व रक्षामन्त्री शरतसिंह भण्डारी गणतान्त्रिक सोचका हुन् त ?
    त्यस्तै सोच पत्रको असन्तुष्टिका विष्फोटहरुमा लेखिएको छ ‘नेपाली राष्ट्रियतालाई अन्धभारत विरोध’ संग  मापन गर्न सुरु भएपछि देशप्रेम भावको अवमूल्यन भयो । त्यसो भए के भारतीय शासनहरुको विस्तारवादी र मिचाइ प्रवृतिको राष्ट्रवादी नेपालीहरुले विरोध गर्नु देशप्रेम भावको अवमूल्यन हुनु हो त ? त्यस्तो खगेन्द्र संग्रौलाले केन्द्रिकृत र एकात्मक व्यवस्थाको विकल्पको रुपमा संघीयता भएको कुरा बताउनु भएको छ । वास्तवमा उहाँले केन्द्रिकृत र एकात्मकलाई एकै ठाउँमा जोडेर सहभागीहरुमा भ्रम छर्ने प्रयत्न गर्नुभएको थियो । निश्चितरुपमा हाम्रो देशको सम्बन्ध शताब्दीयौंदेखि एकात्मक केन्द्रिकृत सामन्ती शासनसित रहेको कुरा सत्य हो, तर त्यहाँ कारणले एकात्मक शासन प्रणालीको स्वरुपलाई नै सामन्ती व्यवस्था बताउनु सही होइन । यदि सम्बन्धका दृष्टिले भन्ने हो भने त हाम्रो देशको राष्ट्रिय, सार्वभौमिकता वा अखण्डताको पनि सामन्ती व्यवस्थासित शताव्दीयौंदेखि सम्बन्ध रहेको छ । के त्यो कारणले राष्ट्रियतालाई पनि सामन्ती बताएर त्यसको अस्वीकार गर्नु सही हुनेछ र ?
    उहाँले वर्गीय उत्पीडन सबैले भोग्नु पर्दैन भनेर बताउनुभएको छ । संग्रौलाजीले राखेको विचार त सत्य छ तर त्यसलाई समाधान गर्ने दार्शनिक विचार के हो ? त्यो स्पष्ट पार्न सक्नुभएन । उहाँ एउटा प्रगतिशील साहित्यकारपनि हो । उहाँले साहित्य लेखनका साथसाथै माक्र्सवादी पुस्तकहरु अनुवादपनि गर्नुभएको छ । तर उहाँले कार्लमाक्र्स र फेडरिक एंगेल्सले कम्युनिष्ट घोषणापत्रमा लेख्नु भएको वर्गीय र जातीय सवाललाई बुझ्ने आधारशीला लाई बुझ्ने प्रयत्न गर्नुभएको रहेनछ । कम्युनिष्ट घोषणापत्रमा लेखिएको छ ‘जुन अनुपातमा एक व्यक्तिद्वारा अर्को व्यक्ति माथिको शोषणको अन्त्य हुनेछ, त्यही अनुपातमा एक जातिद्वारा अर्को जातिको पनि शोषण अन्त्य हनेछ । जुन अनुपातमा जातिभित्र वर्गहरु विचको बैरभाव विलाउँछ, त्यही अनुपातमा एक जातिप्रति अर्को जातिको शत्रुता पनि अन्त्य हुन्छ ।’ वास्तवमा माथिको उल्लेखित विचार नै जातीय सवाललाई बुझ्ने र अध्ययन गर्ने माक्र्सवादी को आधारशीला हो ।
    वास्तवमा देशमा सामन्तवादी केन्द्रीकृत राज्य सत्ताले, मधेसी, दलित, महिला, जनजाति, पिछडिएका वर्ग समुदायलाई शोषण दमन र उत्पीडन गरेकै हो । त्यो उत्पीडन दमनबाट आमशोषित पीडित जनता मुक्त हुन चाहन्छन् तर त्यसको समाधान विस्तारवादी, साम्राज्यवादी र प्रतिक्रिया वादीहरुद्वारा प्रतिपादन गरिएको फुटाउ र शासन गर भन्ने जातिवादी र क्षेत्रीयतावादी दार्शनिक चिन्तनबाट होइन, माक्र्स र एंगेल्सद्वारा प्रतिपादित माक्र्सवादी दार्शनिक विचारधाराबाट गर्न सकिन्छ । मानव समाजको इतिहासमा सम्पत्तिमाथि व्यक्तिगत स्वामित्वको उत्पत्ति नभएको भए के शोषक र शोषितवर्गको उत्पत्ति हुन्थ्यो ? के समाजमा वर्गमा विभक्त नभएको भए राज्यको उत्पत्ति हुन्थ्यो ? के राज्यको उत्पत्ति नभएको भए जाति र जातीय समस्याका कुरा उठ्ने थिए ? स्पष्ट छ कि सम्पत्तिमाथि व्यक्तिगत स्वामित्व, वर्ग र राज्यसत्ताको अभावमा जातीय समस्याको अस्तित्व रहन सक्दैंन । वर्गले राज्यसत्ता जन्मायो भने राज्यसत्ताले सामाजिक भेदभाव तथा जातीय समस्या सिर्जना गर्‍यो । त्यसैले जातीय समस्यालाई विशुद्ध जातीय रुपमा होइन वर्गीय समस्याको एउटा कडीको रुपमा हेर्नु नै उपयुक्त हुन्छ । हाम्रो देशमा हिजो जातीय, क्षेत्रीय उत्पीडनमा परेका दलित, जनजाति, महिला, मधेसीलगायत पिछडिएका आमनेपाली जनता एकात्मक व्यवस्थाले होइन, सामन्ती केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले गर्दा हो । त्यस उत्पीडनबाट मुक्तिको विकल्प संघीयता र जातीय राज्यबाट प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनसहित एकात्मक व्यवस्थाबाट गर्न सकिन्छ ।
    अन्तमा: खगेन्द्र संग्रौलाजीले अन्यायमा परेकालाई न्याय दिलाउन देशको अंशवण्डा गर्नपनि हामी तयार हुनुपर्छ । संघीयतामा जाँदा जटिलता त छन् त्यो जटिलतालाई पन्छाउनु पर्छ भनेर राष्ट्रलाई व्यक्तिको जीवनसंग तुलना गर्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘हामी बाँच्दा  हामीलाई जीवनमा अप्ठेराहरु आउँछन् तर जुन दिन मरिन्छ त्यसै दिन सबै चिजबाट मुक्त भइन्छ ।’ के उहाँले व्यक्तिको जीवन झैं यो देशलाई संघीयतामा लगेर यो देशको अस्तित्व समाप्त भए, के यो देशपनि सबै झन्झटबाट मुक्त हुने सपना देख्नु भएको छ ? त्यसो हो भने उहाँलाई इतिहासले कहिल्यै क्षमा दिनेछैन । वास्तवमा उहाँहरु राष्ट्रियताको जलप लगाएर विखण्डनवादको प्रचार गर्दै हिंड्नु भएको छ । जसलाई देशका सम्पूर्ण राष्ट्रवादी नेपालीहरुले वैचारिकरुपले प्रतिवाद गर्दै सच्चा राष्ट्रवादको लागि आम नेपालीहरु जुर्मुराउनु पर्ने बेला आइसकेको छ ।   (लेखक राष्ट्रिय जनमोर्चा, सुर्खेतका सल्लाहकार हुन् ।)

No comments:

Post a Comment