कतै रोपाईं, कतै धानको बीऊ राख्दै

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कालिकोट, २५ असार ।
    लामो समयको अन्तरालपछि आएको वर्षाले जिल्लाका कृषकलाई राहत गराइदिएको छ । जिल्लामा आकाशेपानीको भरमा पर्ने गाविसमा धानखेतीका लागि राखिएको धानको बीऊ खडेरीले सुकेपछि फेरि राख्न सुरु गरिएको छ ।
    पहिले राखेको धानको बीऊ सुकेपछि पुन: सोही ठाउँमा हलो जोतेर धानको थला (बेर्ना) राखिएको बदालकोट गाविसका एक कृषक वीर खड्काले बताए । उनले विगतमा छिटो वर्षा भएमा असार दोस्रो हप्ता धान रोप्ने गरेको पनि जानकारी दिए । ‘यसवर्ष समयमा वर्षा नभएका कारण अहिले बीऊ राख्नु परेकाले भोकमरीको समस्या आउने छ’ उनले दु:खेसो पोखे ।
    त्यसैगरी, आकाशेपानीको भरपर्ने जिल्लाका खिन, धौलागोह, थिर्पु, नानीकोट, राम्नाकोट बदालकोटलगायत गाविसमा लगाएको मकै बालीसमेत खडेरीले सुकेपछि किसानले फेरि मकै छरेका छन् । फुकोट स्युना, मुम्रालगायत गाविसमा रोपाईं सुरु भएपछि भने कृषक खुसी भएका छन् । बर्सेनि खडेरी प्रभावित यस क्षेत्रमा तीन वर्षयता विश्व खाद्य कार्यक्रम सञ्चालन हुँदै आएको छ ।   
    खडेरी परेपछि स्थानीय बासिन्दाले गाउँमा देवताको पूजापाठ गर्नाका साथै भ्यागुताको विवाह गराएका थिए । विगत वर्षको तुलनामा उत्पादनमा ह्रास आउने संकेत देखिनाले कृषकहरु मलिन छन् ।
    जिल्ला कृषि विकास कार्यालय कालिकोटले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा खासै असर नपर्ने बताएको छ । गतवर्ष उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले तथ्यांक सार्वजनिक गरेको थियो ।

No comments:

Post a Comment