महिला सशक्तिकरण किन र कसरी ?

Bookmark and Share 
खगेन्द्र पुरी
    ‘जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवता रमाउने गर्दछन्’ यो भावार्थलाई पुष्टि गर्न हाम्रा वेद, पुराणलगायतका धर्मग्रन्थ कहीं चुकेका छैनन् । आधा धर्ती र आकाश ओगटेका नारी समाजको उत्थान हुनु आजको सन्दर्भमा अनिवार्य आवश्यकता नै भइसकेको छ । नर–नारी एक रथका दुई पांग्रा हुन् भने समाज र विकास पनि परिपूरक हुन् । असल र सभ्य समाजको निर्माणमा पुरुषभन्दा महिलाको बढी हात हुने भएकैले सेनानायक नेपोलियन वोनापार्टले ‘तिमी मलाई असर आमा देउ म तिमीलाई असल राष्ट्र दिनेछु’ भनेर भनेका छन् । एक घरमा शिक्षित आमा भए परिवारै शिक्षित गराउन सक्नेछिन् भन्ने कुरालाई आजको समाजले स्वीकारेकै छ । त्यसैगरी परिवार सक्षम र शिक्षित भए गाउँ, समाज र राष्ट्र हुँदै विश्व नै शिक्षित र सक्षम हुनसक्छ । यसरी एक नारीको देनले राष्ट्र निर्माणमा ठूलो टेवा पुर्‍याउँछ ।
    समाजमा अझै नारीलाई तल्लो तथा कमजोर जातिको रुपमा लिइन्छ । स्रोत र साधनमा महिलाको न्यून पहँुचका कारण समाजले दिगो आर्थिक बृद्धि गर्न सकेको छैन । नेपालमा राजनीतिक दलहरुले संविधानसभा ३३ प्रतिशत सहभागिताको अवसर दिएपनि सो पुग्न सकेको छैन । अवसर पाएका महिलाले राम्रो नतिजा प्राप्त गरेको गरेको उदाहरण जगजाहेर नै छ । महिलाहरुलाई पछाडि पार्नुको एउटै मुख्य कारण पितृसत्तात्मक सोच र राज्य व्यवस्था नै हो । जसले महिलाहरुलाई अगाडि बढ्ने अवसर दिएमा पुरुषलाई नै पछाडि पार्छन् कि भन्ने सोचले नीति निर्माण तहका पुरुषहरुले त्यसो गर्न अन्कनाइ
रहेकाछन् ।
    वास्तवमै भन्ने होभने अवसरबाट महिलालाई वञ्चित नगर्ने होभने महिलाहरु नेतृत्वदायी तहमा सजिलै जान सक्छन् जसका लागि केही समयसम्म
सकारात्मक विभेद जरुरी हुन्छ । वास्तवमा कागजी दस्तावेजमा मात्र सीमित रहन पुगेको महिला सशक्तिकरण शिक्षा, स्वास्थ्य र रोजगारमा मात्र हुँदैन । देशको महत्वपूर्ण क्षेत्रमा पनि महिलाको समावेशी र निर्णयात्मक भूमिका रहनुपर्छ । तबमात्र महिलामैत्री कानुन बन्छ र बनेका नीति तथा कार्यक्रम लागू तथा कार्यान्वयन हुन्छ । महिलाले कुनैपनि काम सुरु गर्नुभन्दा पहिले उसको श्रीमान्, घरपरिवार, समाज तथा आज्ञा अनुमति लिनुपर्ने हुन्छ तर त्यही कार्य नर्ग पुरुषले स्वतन्त्रता पूर्वक गर्नसक्ने हाम्रो सामाविक रीति र संस्कार बसेको छ । त्यसैले महिला सशक्तिकरण गर्न सबैभन्दा पहिले सामाजिक दृष्टिकोण, सामाजिक मूल्य र मान्यता, सामाजिक संस्कार र परिस्थितिलाई नै परिवर्तन गर्न लागि पर्नुपर्छ । महिलाले शिक्षा, स्वास्थ्य, रोजगार, गतिशीलता, आयआर्जनमा सहभागिता, नीतिनिर्माणमा निर्णयात्मक भूमिका महिला मैत्री कानुन निर्माण र कार्यान्वयन आदि विषयहरुमा गहिरिएर सबै क्षेत्रबाट लाग्नुपर्ने हुन्छ ।
    जसरी एउटा घरमा महिलापनि कमाउन थाल्छिन् त्यो घरमा निश्चतरुपमा आम्दानीमा बृद्धि हुन्छ । आम्दानीमा वृद्धि भए सो घरमा अभावको कमी हुन्छ । अभावको कमी भए आउँदा सन्ततिले शिक्षामा अवसर पाउँछन् र सशक्तिकरणमा टेवा पुर्‍याउँछ । त्यसैगरी घरको काम र बाहिरको काम बाँडफाँड गरी गर्नाले समयको बचत र सुविधायुक्त हुन्छ । महिलापनि गतिशील भइ सामाजिक बन्देजबाट माथि उठिन्भने धेरै ज्ञानगुनका कुराहरु अरुलाई पनि सिकाउँछिन् । महिलाको स्वास्थ्य राम्रो भयो भने सो घरको वातावरण पनि स्वास्थ्य बनाउन सक्छिन् । तसर्थ हाम्रो समाजलाई अगाडि बढाउन शिक्षा, स्वास्थ्य, रोजगार, नीति निर्माण, महिला मैत्री कानुन, आय आर्जनमा महिलालाई सशक्त गराइ देश विकासमा लाग्नुपर्दछ । 

1 comment: