माग पूरा गराउन प्राध्यापकहरु आन्दोलनमा

Bookmark and Share 
विद्यार्थी संगठनबाट आन्दोलनप्रति नैतिक समर्थनसहित छिटो समाधान गर्न आग्रह
मागका सम्वन्धमा विहीवार छलफल गर्ने क्याम्पस व्यवस्थापन समितिको तयारी 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ असार ।
    वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरु आफ्ना मागहरु पूरा गराउन आन्दोलनमा उत्रिएका छन् । गत आइतवारदेखि उनीहरु पढाई छोडेर आन्दोलनमा उत्रिएका हुन् । आइतवार र सोमवार उनीहरुले पेन डाउन गरेभने मंगलवारदेखि अनिश्चितकालीन क्याम्पस बन्द गरी माग पूरा गराउन लागेका छन् ।
    आंशिक प्राध्यापकहरुको आन्दोलनका कारण आइतवारदेखि क्याम्पसमा पढाइ ठप्प छ । स्नातक तथा स्नात्तकोत्तर तहको पठाइ ठप्प भएपछि विद्यार्थीहरु चिन्तित भएका छन् । वहुमुखी क्याम्पसमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरु र मासिक ज्यालादारी कर्मचारीहरुलाई आन्तरिक प्रक्रिया अनुसार निश्चित मापदण्डका आधारमा यथासिघ्र करार नियुक्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने र मप विश्वविद्यालयमा समायोजन गर्नुअघि कार्यरत सम्पूर्ण आंशिक, लियन, अस्थायी र दैनिक मासिक ज्यालादारी प्राध्यापक कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग आंशिक प्राध्यापकहरुले राखेका छन् ।
    आफ्ना मागहरु पूरा गराउनतर्फ क्याम्पस व्यवस्थापन समिति उदासिन रहेको आरोप आंशिक प्राध्यापकहरुले लगाएका छन् । आंशिक प्राध्यापक संघर्ष समितिका सदस्य कमला तिवारीले माग पूरा गराउनतर्फ क्याम्पस व्यवस्थापन समितिबाट कुनै पहल नभएको बताइन् ।
    आंशिक प्राध्यापकहरुको आन्दोलनप्रति क्याम्पसका विद्यार्थी संगठनहरुले पनि नैतिक समर्थन जनाएका छन् । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अखिल छैठौंले आंशिक प्राध्यापकहरुको मागलाई तत्काल सम्वोधन गर्न सुझाव दिदैं दुई दिनभित्र समस्याको समाधान नभए विद्यार्थीहरु पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
    विद्यार्थी संगठनहरुले मंगलवार संयुक्त विज्ञप्ति जारी गरी क्याम्पसको भविष्यसंग सम्बन्धित जायज मागलाई लिएर आंशिक प्राध्यापकहरुले गरेको आन्दोलनप्रति नैतिक समर्थन रहेको जनाइएको छ । ती मागहरुको तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै विज्ञप्तिमा दुई दिनभित्र समस्या समाधान गरी क्याम्पसको पठनपाठन पुन: सुरु गराउन माग गरेका छन् । यदि दुई दिनपछि पठनपाठन सुरु नभए विद्यार्थीहरुले संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिदैं उनीहरुले आन्दोलनरत प्राध्यापकहरुलाई पनि विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारप्रति संवेदनशील हुन आव्हान गरेका छन् ।
    आंशिक प्राध्यापकहरुको आन्दोलनलाई पव्लिक क्याम्पस प्राध्यापक संघ बहुमुखी क्याम्पसले पनि ऐक्यवद्धता जनाएको छ । संघका अध्यक्ष वीरबहादुर पौडेलले क्याम्पस व्यवस्थापन समितिको असक्षमताका कारण क्याम्पसमा समस्या आएको बताए । उनले व्यवस्थापन समितिले नै क्याम्पसका समस्या समाधान गर्न चासो नदेखाएको आरोप लगाउँदै छिटो बैठक बोलाएर निकास निकाल्न सुझाव दिए । राजनीतिक हस्तक्षेप हावी भएको टिप्पणी उनको छ ।
    यता क्याम्पस व्यवस्थापन समितिले भने आंशिक प्राध्यापकहरुको मागप्रति सकारात्मक जनाएपनि प्रक्रिया गलत भएको जनाएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भूषणकुमार मानन्धरले क्याम्पस प्रमुखमार्फत व्यवस्थापन समितिमा आउनुपर्ने मागहरु सोझै आएकोले केही प्राविधिक समस्या भएको बताए । आंशिक शिक्षकहरु का मागका सम्वन्धमा भोलि विहीवार छलफलमा बोलाउने तयारी भइरहेको जानकारी दिदैं उनले क्याम्पस प्रमुख नभएको अवस्थाले कठिनाइ भएको उल्लेख गरे । उनले मागका सम्वन्धमा आन्दोलनरत प्राध्यापक र व्यवस्थापन समितिका पदाधिकारीहरुसंग अनौपचारिक छलफल भइरहेको बताए ।
    उता आंशिक शिक्षक प्राध्यापक संघर्ष समितिले मंगलवार नै विज्ञप्ति निकाली आफूहरुका माग पूरा नभएको भन्दै पूर्व घोषित कार्यक्रम अनुसार मंगलवारदेखि क्याम्पसमा अनिश्चितकालीन तालावन्दी गरिएको जनाएको छ । आफ्ना मागहरुको सुनुवाई गर्न क्याम्पस प्रशासन तथा व्यवस्थापन समितिले चासो नदेखाएको हुँदा संघर्ष जारी राख्ने विज्ञप्तिमा जनाइएको छ ।

No comments:

Post a Comment