कसैले चासो नदिएपछि स्थानीयद्वारै बराह तालको सफाई

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत १७ असार ।
    जिल्लाकै सवैभन्दा ठूलो बराह ताल खोला तथा ढलेका काठ र जलकुम्भी झारले पुरिदैं जान थालेपछि स्थानीयहरुले नै एक साता लगाएर बराह तालको सफाई गरेका छन् । तरंगा गाविस वडा नं. ६ का करिव २ सय बढी स्थानीयहरुले एक साता लगाएर तालभित्र रहेका मुढा, झारहरु निकालेका हुन् । सफाई पछि तालको सुन्दरता थपिएको छ । तालभित्रबाट करिव ६० वटा ढलेका रुखका मुढाहरु निकालिएको छ । बराह ताल पर्यटन विकास केन्द्र तरंगाका अध्यक्ष बलबहादुर कठायतले करिव दुई सय स्थानीयहरुको अथक प्रयासबाट तालको सफाई गरिएको बताए । पहिल्यैदेखिका ढलेका रुखहरुले तालको सुन्दरतामा आँच पुर्‍याएकोले तालभित्र पसेर ढलेका मुढाहरु हटाइएको जानकारी उनले जानकारी दिए ।
    जिल्लाकै सवैभन्दा सुन्दर र ठूलो ताल पुरिन थालेपछि यसको सरसफाईमा सरोकारवालाहरुले कुनै चासो दिएका थिएनन् । तालको सफाईका लागि पर्यटन मन्त्रालयबाट प्राप्त पाँच लाख रुपैयाँले तालको सफाई गर्न सहयोग पुगेको जानकारी अध्यक्ष कठायतले दिए । तालमा ढलेका काठहरु निकाल्नुका साथै जलकुम्भी झारहरु पनि उखेलिएको उनको भनाइ छ । ताल सफाई गर्न सरोकारवाला निकायहरुलाई आग्रह गरेपनि खासै सुनुवाइ नभएको गुनासो उनले गरे ।
    यसैगरी तालको अवलोकन गर्न सहज होस् भन्ने उद्देश्यले ताल वरिपरि दुई किलोमीटर सडकपनि निर्माण गरिएको छ । दुई मिटर चौडाईको बाटो बनाइएपछि बराह ताललाई वरिपरि घुमेर अवलोकन गर्न सकिने उनले बताए । तालसम्म पुग्नलाई पनि ४ सय ९५ वटा सिंढीपनि निर्माण गरिएको छ । पहिले १ सय २५ वटा सिंढी निर्माण गरिएकोमा अहिले बाँकी ३ सय ७० वटा निर्माण गरिएका छन् । यसैगरी तालको वरिपरि छाडा चौपाया नछाड्न स्थानीयहरुलाई सूचनापनि जानकारी गराइएको छ ।
    केही समय अघि तालको उत्तरतर्फ रहेका तीन वटा खहरे खोलाले बगाएर ल्याएको बगरले ताल पुरिने खतरा बढेको भन्दै चिन्ता प्रकट गरिएको थियोभने प्रचारप्रसारलाई पनि जोड दिन आग्रह गरिएको थियो । १६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त तालको वरिपरिको लम्बाइ दुई किलोमीटर छ । वरिपरि घना जंगलको वीचमा रहेको तालमा जलकुम्भी झारले ढपक्कै छोपेको थियोभने रुखहरु ढलेर तालको शोभालाई नै कुरुप बनाउन थालेको थियो ।
    उक्त ताल सदरमुकाम वीरेन्द्रनगरदेखि झण्डै ३० किलोमीटर पश्चिममा पर्दछ । केन्द्रका अध्यक्ष बलबहादुर कठायतले जिल्लाकै ठूलो ताल भनेपनि आवश्यक विकास हुन नसकेकोमा दु:ख प्रकट गर्छन् ।

No comments:

Post a Comment