असारे झरीमा उत्तरगंगा गाविस खुल्ला दिसामुक्त

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ असार ।
    असारे झरीमा रुझ्दैभिज्दै सदरमुकाम वीरेन्द्रनगरसंगै जोडिएको उत्तरगंगा गाविसलाई शुक्रवार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । बर्षाको पर्वाह नगरी स्थानीयहरु रुझ्दै भिज्दै खुल्ला दिसामुक्तका नारा लगाउँदै गाविस कार्यालय आएका थिए । सुर्खेतलाई सन् २०१५ भित्र खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान अनुरुप अहिले धमाधम यहाँका गाविसहरुलाई खुल्ला दिसामुक्त गरिएको छ । उत्तरगंगा खुल्ला दिसामुक्त हुने १३ औं गाविस बनेको छ ।
    कूल ३४ सय ९८ घरधुरी रहेको उत्तरगंगा गाविसका धेरैजसो घरमा पक्की शौचालय बनेका छन् । गाविसस्तरीय सरसफाई समन्वय समितिका सदस्यसचिव एवं उत्तरगंगा स्वास्थ्चौकीका उदय थापाका अनुसार गाविसमा ३१ सय २७ पक्की, ३ सय ७१ कच्ची, ४३ वटा साझेदारी शौचालय निर्माण भएका छन् । त्यस्तै ११ वटा घर खाली रहेका छन् । २०६७ सालदेखि गाविसलाई खुल्ला दिसामुक्त बनाउने कसरत सुरु भएको जानकारी उनले दिए ।
    त्यसपछि हरेक वडाहरुमा सरसफाई समिति गठन गरिएको, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाहरुको चर्पी निर्माण गरे नगरेको, कच्चीलाई पक्की बनाउने कामको निगरानी गरिएको थियो । गाविसले २० प्रतिशत रकम सरसफाईमा छुट्याएर सरसफाई समन्वय समितिले छनौट गरेको लक्षित बर्गलाई प्रदान गरेको गाविस सचिव मीनबहादुर थापा क्षेत्रीले बताए । उनका अनुसार वडा नं. ६ को दौलतपुर र वडा नं. १ को बांगेसिममा सार्वजनिक शौचालयको निर्माण कार्य भइरहेको छ । धेरैजसो घरमा पक्की शौचालय बनेको र थोरैमात्रै कच्ची शौचालय भएकोले उनीहरुलाई पनि पक्की बनाउन सुझाव दिइएको जानकारी उनले दिए । गाविस सचिव थापाक्षेत्रीले गाविस खुल्ला दिसामुक्त भएपछि निरन्तर अनुगमन, मर्मत सम्भार, कच्चीलाई पक्की बनाउने अभियानमा लाग्ने बताए ।
    गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएकोमा स्थानीयहरुले पनि खुशी व्यक्त गर्दै सधैं सफा राख्न सुझाव दिएका छन् । वडा नं. २ कोलडाँडाका ७० बर्षीय करे वोगटीले खुल्ला दिसामुक्त घोषणा गर्न अझ ढिलाइ भएको बताए । उनले आफूहरुले १० बर्ष अगाडि नै पक्की शौचालय बनाएको बताउँदै चर्पीले नै आधा रोग भगाउने
जनाए । यस्तै वडा नं. ८ तातापानीका ५५ बर्षीया इन्द्रसरा गुरुङले चर्पी बनाए सवैलाई ढुक्क हुने बताइन् ।
    खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक रामनिवास चौधरीले सुर्खेतलाई सन २०१५ सम्म र नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसामुक्त बनाउने अभियानमा सरिक भएकोमा खुशी प्रकट गरेका थिए । उनले सरसफाईलाई समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेकपा–माओवादीका इन्चार्ज मंगल विश्वकर्मा, नेपाली कांग्रेसका टोपबहादुर रावत, एमालेका डिलाराम गिरीलगायतले बोलेका थिए ।

No comments:

Post a Comment