प्रहरीद्वारा दुई सर्वसाधारण निर्घात कुटिए

Bookmark and Share 
कुटेको छैन: प्रहरी 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ असार ।
    गस्तीमा आएको प्रहरीको एक टोलीले घन्टाघरस्थित भण्डारी होटलमा पसी दुई जनालाई निर्घात कुटेको छ । विहीवार राती ११ बजेतिर जीपमा आएका प्रहरीले भण्डारी होटल एण्ड लजमा पसी डिल्लीराम भण्डारी र दलबहादुर भण्डारीलाई निर्घात कुट्दै हिरासतमा लिएका थिए ।
    दलबहादुरका श्रीमती तुलसी भण्डारीका अनुसार मदिरा खाएर आएका प्रहरीहरुले विना कारण आफ्ना श्रीमान दलबहादुर र देवर डिल्लीराम भण्डारीलाई निर्घात कुटेको बताइन् । ओछ्यानमा सुतिरहेका दलबहादुरलाई प्रहरीले धकलपकल गरी कुटेर प्रहरी कार्यालयमा पुर्‍याएको उनको भनाइ छ । उनीहरुको टाउको, ढाड, अनुहारमा गम्भीर चोट लागेको बताइएको छ ।
    यस्तै सोही होटलमा अध्ययन गर्न बसेकी सीता जिसीले प्रहरीले कोठा कति छन् भन्दै खानतलासी गरेको बताइन् । उनले आफूलाई प्रहरीले हातपात गरेको र ढोका हान्दै अन्य कोठाहरु खानतलासी गरेको जनाइन् ।
    होटलका संचालक नरबहादुर भण्डारीले प्रहरी किन आयो, किन कुटेको भन्ने आफूलाई थाहा नै नभएको बताए । प्रहरीले विना कारण आफ्ना दुई छोराहरुलाई कुटेको बताउँदै उनले कुट्नुको कारण थाहा नभएको जनाए ।
    डिल्लीराम सशस्त्र प्रहरीको रक्तकाली गण वांगेसिमलमा हवल्दार पदमा कार्यरत छन् । सुतिरहेको अवस्थामा प्रहरी एक्कासी आएर कुटपिट गरेको र सो अवस्थामा खुट्टामा गम्भीर चोट लागेको आफन्तले वताएका छन् । मदिरा पिएर कुटपिट गर्ने प्रहरीहरुलाई कारबाही गर्न परिवारले माग गरेको छ ।
    यता प्रहरीले होटलमा जुवा खेलिरहेको भन्ने सूचना पाएको आधारमा होटलमा छापा मार्न गएको र प्रहरीमाथि उल्टै दुव्र्यवहार गरेकोले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी आनन्द मराठाले उनीहरुलाई प्रहरीले कुटपिट नगरेको दावी समेत गरेका छन् । पक्राउ परेका दुवैजनाई शुक्रवार दिउँसो छाडेको बताइएको छ ।

No comments:

Post a Comment