जाजरकोटमा खाद्य संकट

Bookmark and Share 
राजेन्द्र कार्की
जाजरकोट, २६ असार ।
    जाजकोटका एक दर्जन बढी गाउँ विकास समितिमा खाद्यन्नको अभाव भएको छ । गाउँमा उत्पादित अन्न सकिएको र खाद्य डिपोमासमेत चामल नहुँदा खाद्यन्न संकट परेको हो । जिल्लाका ग्रामीण भेगमा रहेका चार ओटा खाद्य डिपो एक महिनादेखि रित्तै रहेका छन् । नेपाल खाद्य संस्थान अन्तरगत जिल्लाका नायकवाडा, घोगी, दशेरा र चौखामा रहेका खाद्य डिपोमा चामल नहुँदा स्थानीय समस्यामा परेका छन् । जिल्लाका नायकवाडा, रग्दा, भगवती, सक्ला, रोकायगाउँ, पैक, टालेगाउँ, अर्छानी, गर्खाकोट, दह, मजकोट, पजारु, कोर्ता· लगायतका गाविसमा खाद्य संकट परेको खाद्य सुरक्षा अनुगमन कार्यदलले जनाएको छ ।
    खाद्य सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेका करिब एक दर्जन गाविसमा खाद्यान्नको आपूर्ति नगरिए तत्काल भोकमरी पर्नसक्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतमणि पोख्रेलले बताए । उनले लामो खडेरीले बर्षे बालीसमेत समयमा नलगाउँदा उत्पादनसमेत घटने भएकोले थप समस्या पर्ने उल्लेख गरे ।
    यहाँ उत्पादित अन्नले बर्ष दिनमा तीन देखि छ महिना मात्र खान पुग्छ अन्य महिना खाद्य संस्थानको चामलमा भर पर्नुपर्ने बाध्यता रहेको छ तर खाद्य डिपोमासमेत चामल नहुँदा जिल्लाको ग्रामीण भेगका सर्वसाधारण समस्यामा परेको भगवती गाविसका मुखिया मोहन बहादुर बस्नेतले बताए ।
    खाद्य संस्थान शाखा कार्यालय जाजरकोट का निमित्त प्रमुख रामप्रसाद पौडेल कुनैपनि खाद्य डिपोमा चामल नभएको स्वीकार गर्दै सदरमुकाममा खासै समस्या नभएपनि ग्रामीण भेगमा समस्या रहेको बताए ।

No comments:

Post a Comment