बढ्न नदेऊ विवाद

    १२ बर्ष सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीको पछिल्लो रुप अहिले फेरिएको छ । एउटा एकीकृत नेकपा माओवादी भएको छभने अर्को नेकपा–माओवादी भएको छ । एकीकृत नेकपा माओवादीमै हुँदा बारम्बार अन्तर संघर्ष, विवाद हुदैं सहमतिमा टुंगिने गरेका थिए । शान्तिप्रक्रियामा आएपछि संविधानसभामा माओवादी सवैभन्दा ठूलो पार्टी बन्न पुग्यो । तर त्यो ठूलो पार्टीपनि अन्तत: बिभाजन भयो । जसले गर्दा मोहन बैद्यहरुले नेकपा–माओवादी भनी छुट्टै पार्टी खोल्न पुगे ।
    पार्टी विभाजनको असर केन्द्रदेखि गाउँ तहसम्म पुगेको छ । अरु त अरु कार्यालय भवन आफ्नै हो भनेर दावीसमेत गर्न पछि परेका छैनन् । यस्तै शनिवार सुर्खेत को पार्टी कार्यालयमा यो दृश्य दोहोरिन पुग्यो । एनेकपा माओवादीको कार्यालयको भवनमा नेकपा–माओवादीले पनि साइनबोर्ड राखेर आधा हामीलाई हुनुपर्छ भनी दावी गरे । तर साइनबोर्ड झुण्ड्याइएको एक घन्टापछि नै एनेकपा माओवादीका कार्यकर्ताले साइनबोर्ड फालिदिए । त्यसपछि एमाओवादीको साइनबोर्ड पनि फालियो । नेकपा–माओवादीले भवन बनाउन बराबर योगदान रहेकोले आफूले पनि पाउनुपर्ने दावी गर्दै आएको छ । तर एनेकपा माओवादीले भने आफ्ना शीर्ष नेताहरु नभएको मौका छोपी कव्जा गर्ने मनसायले साइनबोर्ड राखिएको आरोप लगाएको छ ।
    साइनबोर्ड राख्ने समयमा दुवै पक्षवीच केही समय तनावपनि भएको थियो । दुवै पार्टीका शीर्ष नेताहरुले यो समस्या छिटो समाधान गर्नुपर्दछ । कुनै समय एक अर्काका लागि ज्यान दिन तयार हुने कार्यकर्ताहरु अहिले ज्यान लिनपनि पछि नपर्ने मनस्थितिमा छन् । बास्तवमा राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदो रहेनछ भन्ने पुष्टि हुदैंगएको छ । हरेक कुराको समाधान द्वन्द्वबाट नभइ छलफल, सहमतिबाटै भएको इतिहास छर्लंग छ । यसमा कुनै शंका छैन । केही समय अघि एकै भएका दलहरु पछि मिल्न पनि सक्छन् । त्यसैले सुर्खेतको पार्टी कार्यालयको विवादलाई झन गहिरो बनाउनुभन्दा छलफल र सहमतिबाटै टुंग्याउन आवश्यक छ । किनकि भवन बनाउन दुवै पक्षको उत्तिकै योगदान रहेको छ । 

No comments:

Post a Comment