द्वन्द्वपीडितले बुझे सवा ४ करोड राहत

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ४ साउन ।
    गत आर्थिक बर्ष २०६८/०६९ मा सुर्खेतका द्वन्द्वपीडितहरुले सवा ४ करोड रकम राहत बुझेका छन् । स्थानीय शान्ति समितिको कार्यालय सुर्खेतले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी मृतकदेखि वेपत्ता पत्नीसम्मले चार करोड २६ लाख १७ हजार रुपैयाँ राहत बुझेको जानकारी गराएको हो । 

मृतक २ सय १ जनालाई ३ करोड ६७ लाख, वेपत्ता ११ जनालाई २२ लाख, घाइते ४७ जनालाई २४ लाख ७० हजार, अपहरणमा परेकामध्ये ३१ जनालाई ७ लाख ७५ हजार, जीवन निर्वाह भत्ता १३ जनालाई ३ लाख ६२ हजार र वेपत्ता पत्नी २ जनालाई ५० हजार गरी कूल ४ करोड २६ लाख १७ हजार रुपैयाँ राहत दिइएको समितिले जनाएको छ ।  यद्यपि सुर्खेतमा मृतक ३ सय १, वेपत्ता १३ जना, घाइते ६६ जना, अपहरणमा परेका ४२ जना, जीवन निर्वाह भत्ता पाउनुपर्ने १६ जनाको संख्या छ । १८ जना भने राहत लिन आएका छैनन् । अन्यको प्रक्रिया बाँकी रहेको स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले बताए । द्वन्द्वका क्रममा सुर्खेतमा २ सय ४ जना सर्वसाधारण र ७९ जना सुरक्षाकर्मीको मृत्यु भएको शान्ति समितिले जनाएको छ । जसमा २६ जना प्रहरी, १४ जना सशस्त्र प्रहरी र ३९ जना नेपाली सेना छन् ।
    सुर्खेतमा सवैभन्दा धेरै लाटिकोइली गाविसका मानिसको मृत्यु भएको छ । उक्त गाविसमा १८ जनाको मृत्यु भएको छ । त्यसपछि दशरथपुरमा १६, छिन्चुमा १६, रामघाटमा १५ र वीरेन्द्रनगर नगरपालिकामा पनि १५ जनाको मृत्यु भएको संयोजक थापाले जानकारी दिए । तर आग्रीगाउँ, राकम, गर्पन, घोरेटा, धारापानी, बजेडीचौर र रतुमा द्वन्द्वको समयमा कुनैपनि मानिस मरेका छैनन् ।
    यसका साथै राहत पाउनका लागि सुर्खेतमा अझै पनि १८ सय निवेदन जिल्ला प्रशासन कार्यालयमा थन्किएका छन् । पछिल्लो पटक सरकारले थप निवेदन माग गरेपछि पुस मसान्तसम्म गरी त्यतिको निवेदन परेको शान्ति समितिले जनाएको छ । कसैलाई राहत आएको छैनभने कसैले आएको राहत पनि लिएका छैनन् । राहत लिन नआएकाहरु को संख्या १८ छ ।
    कुनाथरीका अमर विक, रझेनाका जीवन सुनार, रानीबासका डम्बरबहादुर सिंह, सहारेका विक्रम सार्की, मेहेलकुनाका लल्लु विक र लालवीर बादी, साटाखानीका प्रेमबहादुर घिमिरे, विद्यापुरका देवबहादुर थापा, उत्तरगंगाका पंखबहादुर विष्ट, लाटिकोइलीका बमबहादुर कार्की, वीरेन्द्रनगरका खगेन्द्र नेपाली, मैनतडाका तिलक बुढाथोकी, मैनतडाका अमर विक, बावियाचौरका खगेन्द्र विटालु र गढीका प्रेमकुमारी खत्रीको नाममा आएको राहत बुझ्न कोही नआएको शान्ति समितिले जनाएको छ ।
    यसैगरी गत आर्थिक बर्षमा समितिले जिल्लाका १५ वटा निर्माणाधीन आयोजनाहरु को स्थलगत अनुगमन समेत गरेको थियो । जसमा जिल्ला कारागार भवन, चिंगाड खोला पुल, झुप्रा खोला पुल, मैनतडा, उत्तरगंगा, रानीवास, मालारानी, जर्बुटा गाविस भवनलगायत छन् ।
    अनुगमनपश्चात केही भवनहरुको निर्माण कार्य सम्पन्न भएपनि धेरैजसो आयोजनाहरु समयमै पूरा नभएको पाइएको जानकारी संयोजक थापाले दिए । उनले गुणस्तरमा सन्तोजनक नहुनु, स्थानीय तथा सरोकारवालावीच समन्वय हुन नसक्नु, पेटी ठेकेदारको समस्या, निर्माण भएपनि हस्तान्तरण हुन नसकेको, कार्यान्वयन गर्ने निकाय मौन बस्नुलगायतले समस्या अनुगमनका क्रममा पाइएको जनाए ।

No comments:

Post a Comment