विद्यालयहरु बैकल्पिक स्रोतको खोजीमा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ साउन ।
    कुनाथरी गाविसको जनज्योति उच्च माविले माछापालन गरेको छ । गतबर्ष माछापालनबाट एक लाख आम्दानी गर्न सफल भएपछि यस बर्ष पुन: आठ हजार माछाका भुरा फेरि तालमा हालेको छ । माछापालनमात्र होइन सो विद्यालयले तरकारी खेती, फलफूल खेती र कपुर खेतीपनि गरेको छ । कपुर खेतीबाट सालाखाला १० हजार आम्दानी गर्न सफल भयो उक्त विद्यालय ।
    त्यस्तै सोही गाविसको वडा नं. ९ कुम्भिकोटस्थित नेपाल राष्ट्रिय प्रस्तावित निम्न माध्यमिक विद्यालयले विद्यालयमा बाख्रापालन सुरु गरेको छ । करिव डेढ सय वटा अटाउने नमूना फार्मपनि बनाएको छ विद्यालयले । अहिले ३१ वटा बाख्रा पालिएको छ । पूर्वी सुर्खेतको दशरथपुरस्थित जीवनज्योति उच्च माविले आँप खेतीका लागि जग्गा ठेक्कामा दिएको छ । बार्षिक साढे तीन लाख ठेक्कामा आँप खेती गर्न दिएको हो । कुनाथरी गाविसकै सिद्धार्थ प्रावि धमलाखालीले केरा खेती गरेको छ ।
    गाउँ शिक्षा समिति बावियाचौरको पहलमा गाबिसका विभिन्न ११ वटा विद्यालयले संजीवनी खेती सुरु गरेका छन् । इन्धनको वैकल्पिक स्रोत बनेको संजीवन खेतीको सम्भावना बढी रहेकाले गैरसरकारी संस्थाहरुको सहयोगमा संजीवन खेती सुरु गरिएको हो । बाबियाचौर गाविसको मुरमुरे प्राथमिक विद्यालय, शान्ति प्रावि, विद्याज्योति उच्च मावि, गौरीशंकर निमावि, युवाज्योति निमावि, जनज्योति निमावि, शहीद स्मारक प्रावि, भगवती प्राविलगायतकाका विद्यालयहरुले १ हजार २ सय देखि ५ हजारसम्म सजीवनका विरुवा रोपेका छन् ।  कुनाथरी, सालकोट, विद्यापुर गाविसका केही विद्यालयहरुले पनि सजीवन खेती गरेका छन् ।
    यी त उदाहरणमात्रै हुन्, अहिले सुर्खेतका अधिकांश विद्यालयहरु बैकल्पिक स्रोत जुटाउनका लागि कुनै न कुनै खेती गरिरहेका छन् । विद्यार्थी संख्या बढ्नु, निजी स्रोतबाट शिक्षक राख्नु, भौतिक संरचना कमजोर हुनु, सरकारी सहयोग अपर्याप्त हुनुजस्ता समस्याले गर्दा विद्यालयहरु बैकल्पिक स्रोतको खोजीमा लागेका हुन् ।
    जनज्योति उच्च मावि कुनाथरीका प्राचार्य नारायण सिग्देलले सरकारी सहयोग अपर्याप्त भएकोले विद्यालयहरुले बैकल्पिक स्रोत खोज्न बाध्य भएको बताउँछन् । उनले बैकल्पिक स्रोतको खोजी गरेर भएपनि सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको दावी गर्दै यस कार्यलाई सरोकारवालाहरुले उचित मूल्यांकन गर्नुपर्ने जिकिर गरे । कुनाथरी गाविसमा रहेका १४ वटा विद्यालहरुमध्ये धेरैजसोले अहिले बैकल्पिक स्रोतको खोजी गरिरहेको उनले उल्लेख गरे ।
    स्थानीय सामुदायिक वनले विद्यालयलाई दिदैं आएको आर्थिक सहयोग रोक्का गरेपछि नेराप्रनिमाविले आर्थिक स्रोत जुटाउन विकल्पको रुपमा बाख्रापालन गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज कार्कीले बताए । शिक्षकलाई तलव खुवाउन समेत समस्या भएपछि बाख्रापालन गरी विद्यालयलको आम्दानी बढाइने उनको भनाइ छ ।
    सरकारले सवैभन्दा धेरै बजेट शिक्षामा छुट्याएको हुन्छ । सवैभन्दा धेरै शिक्षामा बजेट छुट्याउँदापनि विद्यालयलाई सहयोग अपुग भएर बैकल्पिक स्रोत खोज्नुपर्ने हो त भन्ने प्रश्नमा जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने विद्यालयहरु बैकल्पिक स्रोततिर लाग्नुलाई नराम्रो मानेको छैन । आधारभूत शिक्षामा सरकारी सहयोग पर्याप्त भएको तर निजी शिक्षक राखेर चलाएका विद्यालयलाई भने बैकल्पिक स्रोत खोज्नुपर्ने बाध्यता रहेको कार्यालयको भनाइ छ ।
    सुर्खेतमा गत आर्थिक बर्ष शिक्षाका लागि ६३ करोड ८ लाख बजेट छुट्याइएको थियो । जिल्ला शिक्षा कार्यालय सुर्खेतका उपसचिव दीपा हमालले सरकारीको मात्रै भर परेर गुणस्तरीय शिक्षा नहुने भएकोले यस्ता कामले अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवारबोध र सक्रिय बनाउने बताइन् ।
    यस्तै जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले विद्यालयहरु आयआर्जनतिर लाग्नु राम्रो भएको बताउँदै तर गुणस्तरीयता पनि कायम राख्नुपर्ने सुझाव दिए । 

No comments:

Post a Comment