समस्याप्रति अध्यक्ष भागेको आरोप, अखिलद्वारा असहमति
सुर्खेतपत्र संवाददाता
सुर्खेत, २८ असार ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक एवं सरोकारवालाहरुले क्याम्पस व्यवस्थापन समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन् । क्याम्पस व्यवस्थापन समितिको बैठक नबोलाउँदा क्याम्पसका हकहितका विषयका निर्णयहरु हुन नसकेकोले अविलम्ब बैठक बोलाउन उनीहरुले माग गरेका हुन् । विगत चार महिनादेखि क्याम्पस प्रमुख विहीन बनेको, निर्माण समिति नबन्दा भवन निर्माणका कामहरु अवरुद्ध भएको, आंशिक प्राध्यापकहरुको माग सम्बोधन हुन नसकेकोले छिटोभन्दा छिटो बैठक बोलाएर ती समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरु को माग छ ।
आंशिक प्राध्यापकहरुको आन्दोलनले गर्दा क्याम्पस गत आइतवारदेखि अनिश्चित कालीन बन्द छ । जेठ १७ गतेदेखि व्यवस्थापन समितिको बैठक बस्न नसकेको बताइएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भूषणकुमार मानन्धर सारा समस्याहरु थुप्रिंदा पनि समाधान गर्नुको सट्टा मौन बसेको आरोप लगाइएको छ ।
विहीवार आंशिक प्राध्यापक संघर्ष समिति र संयुक्त विद्यार्थी संघर्ष समितिले क्याम्पसको अन्यौलताको विषयमा आयोजना गरेका अन्तरक्रियाका सहभागीहरुले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मानन्धरको स्वैच्छारिताको विरोध गर्दै अविलम्ब बैठक बोलाउन माग गरे । पब्लिक क्याम्पस प्राध्यापक संघ बहुमुखी क्याम्पसका अध्यक्ष वीरबहादुर पौडेलले बैठक बोलाउन आग्रह गर्दापनि अध्यक्ष समस्याहरुको थुप्रोमा चुपचाप बसेको बताए । उनले अध्यक्ष समाधान गर्नुको साटो भागीभागी हिंडेको आरोप लगाए ।
क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति केशव शाहीले विद्यार्थीहरुको परीक्षा नजिकै आइरहेको बेला आंशिक प्राध्यापकहरु को आन्दोलनले केही असर पुर्याएपनि क्याम्पसको हितको लागि आन्दोलनलाई नैतिक समर्थन गरेको टिप्पणी गरे । सुर्खेत उद्योग बाणिज्य संघका सचिव उदिराम डांगीले क्याम्पसमा देखिएका समाधान गर्न विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बढी जिम्मेवार हुनुपर्ने भएकोले छिटो समस्या निकाल्न आग्रह गरे ।
पूर्व क्याम्पस प्रमुख कालीप्रसाद पाण्डेले समस्याको भारले गर्दा क्याम्पस अन्यौलपूर्ण अवस्थामा गुज्रिरहेकोमा चिन्ता व्यक्त गर्दै क्याम्पसमा राजनीति हावी हुँदा धरासायी भएको बताए । उनले आंशिक प्राध्यापकहरु को माग जायज भएकोले तत्काल व्यवस्थापन समितिले सम्बोधन गरी पठनपाठनको वातावरण मिलाउनुपर्ने सुझाव दिए । क्याम्पस व्यवस्थापन समितिका सदस्य कमलेश डीसीले बैठक छिटो बोलाउन दवाव दिने बताउँदै आवश्यकताका आधारमा पदपूर्ति गर्नुपर्नेमा जोड दिए । क्याम्पस व्यवस्थापन समितिको बैठक नबस्दा क्याम्पसमा बेथितिहरुको जन्म भएको औंल्याउँदै उनले समस्याहरुप्रति गम्भीर भएको जिकिर गरे ।
क्याम्पस व्यवस्थापन समितिका अर्का सदस्य देवकुमार सुवेदीले अध्यक्षको भूमिकाले क्याम्पस अनिर्णयको भुमरीमा फसेको आरोप लगाए । बैठक बोलाउन बारम्बार आग्रह गर्दासमेत अध्यक्ष भूषणकुमार मानन्धरले आग्रहलाई अटेर गरेको भन्दै उनले क्याम्पसका समस्याका वारेमा अध्यक्ष गैरजिम्मेवार भएको टिप्पणी गरे । आंशिक प्राध्यापक संघर्ष समितिका संयोजक डी.वी. गुरुङले व्यवस्थापन समितिले सम्बोधन गर्न सक्ने मागहरु नै आफूहरुको रहेकोले ती मागका सम्वन्धमा व्यवस्थापन समिति छलफल गर्न नै तयार नभएको बताए । उनले सवै आंशिक प्राध्यापकहरुलाई स्थायी गर्नुपर्ने र रिक्त दरवन्दीम पदपूर्ति गर्नुपर्ने मुख्य माग रहेपनि व्यवस्थापन समिति गैरजिम्मेवार भएको बताए । उनका अनुसार क्याम्पसमा १० वटा पद रिक्त रहेका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष मानन्धरलाई अन्तरक्रिया कार्यक्रमका सहभागिताका लागि पत्र दिंदापनि कार्यक्रममा नआएकोले आक्रोशित प्राध्यापकहरुले आन्दोलनलाई थप लम्बाउने बताएका छन् । २४ सदस्यीय क्याम्पस व्यवस्थापन समितिमा कार्यक्रममा सवैलाई उपस्थित हुन पत्राचार गरेपनि ६ जनामात्रै उपस्थित रहेका थिए ।
अन्तरक्रिया कार्यक्रममा व्यवस्थापन समितिका अर्का सदस्य गोविन्दप्रसाद सुवेदी, प्राध्यापक खोपीराम लम्साल, आंशिक प्राध्यापक रेशम विष्टलगायतले पनि बोलेका थिए । प्राध्यापकहरुको आन्दोलनप्रति एमाले निकट अनेरास्ववियुले असहमति जनाएको छ । अनेरास्ववियु बहुमुखी क्याम्पस इन्चार्ज एवं अनेरास्ववियुका सहसचिव विनोदसिंह विष्टले विज्ञप्ति प्रकाशित गरी आन्दोलनप्रति असहमति जनाउँदै क्याम्पसको पठनपाठन खुल्ला गर्न माग गरेका छन् । यता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भूषणकुमार मानन्धरले साढे ६ बजेको कार्यक्रमको पत्र आफूलाई विहीवार विहान साढे ८ बजेमात्रै दिइएकोले कार्यक्रममा उपस्थित हुन नसकेको बताए । क्याम्पस व्यवस्थापन समितिको बैठकका सम्बन्धमा भने उनले राजनीतिक दलका प्रतिनिधिहरु काठमाडौं गएकोले उनीहरु आएपछि मात्रै बस्ने जानकारी दिए । आन्दोलनरत आंशिक प्राध्यापकहरुसंग मागका सम्बन्धमा छलफल भइरहेको उनको भनाइ छ । यसैवीच संयुक्त विद्यार्थी संघर्ष समितिको विहीवार साँझ बसेको बैठकले आज शुक्रवार जिल्लाका दलहरुलाई समस्याका वारेमा अवगत गराउने निर्णय गरेको छ । समितिले सहमति खोज्नका लागि यो उपाय अपनाइएको अखिल छैठौंका क्याम्पस इकाई अध्यक्ष तुलाराम विष्टले बताए ।
No comments:
Post a Comment