५ महिनामा ६ दुर्लभ रेडपाण्डा मारिए

Bookmark and Share 
राजेन्द्र कार्की
जाजरकोट, २८ असार ।
    विश्वमै लोपोन्मुख प्रजातिको दुर्लभ रेडपाण्डा जाजरकोटमा ५ महिना यतामात्र आधा दर्जन मारिएका छन् । तर यसको संरक्षणतर्फ कसैले चासो देखाएको छैन । जिल्लाका नायकवाडा र रोकायगाउँमा  जंगली जनावरलाई थापेको पासोमा परेर ३ वटा रेडपाण्डा मारिएका हुन् । साथै एउटा रेडपाण्डा गोठालो गएका बाल बालिकाहरुले गुलेलीले मारेको नायकवाडा– २ जिरीका हरिबहादुर सिंहले जानकारी दिएका छन् ।
    मारिएका ६ ओटा मध्ये २ वटा मृत अवस्थामा फेला परेका हुन् भने ४ वटा रेडपाण्डा स्थानीय शिकारीले मारेका हुन् । मारेको एउटा रेडपान्डालाई बाल बालिकाहरुले अनौठो मानेर जिरीस्थित गणेश निम्नमाध्यमिक विद्यालय ल्याएपछि छाला काढेर विद्यालयमा राखिएको बताइएको छ । मृत रेडपाण्डाको संख्या गत फागुनदेखि यता मात्र हो ।
    सवैभन्दा तल नायकवाडाको जन्तेलेख, र सवैभन्दा माथि च्याखुरेलगायत, बुराँसे, पाटने ओडार, साईकुमारी पाटन र रोकायगाउँको रातापाटनमा रहेका खर्सु र जंगली वास, निगालोको घनाजंगलमा रेडपाण्डाको वासस्थान रहेको छ ।
    स्थानीयवासीले रेडपाण्डाको नाम र महत्व थाहा नपाएर शिकारपनि नगर्ने मासु पनि नखाने नायवाडा–२ जिरीका स्थानीय वृद्ध परवहादुर सिंह बताए । यो रेडपाण्डा स्थानीयवासीहरुले वर्षौदेखि जंगलमा देखेपनि यसको महत्व थाहा नपाएर र नचिनेर बेवास्ता गरिएको सोही गाविसका स्थानीय बासिन्दा गोरखबहादुर सिंहले बताए । जिल्लाको उत्तरीभेकको वारेकोटका अधिकांश बासिन्दा गर्मीयाममा जंगल घुम्ने, जडिवुटी खोज्ने, बाँस निगालोको चोया संकलन गर्ने, र वन्दुक तथा पासो हालेर जंगली जनावरको शिकार गर्दछन् । वारेकोट क्षेत्रका ४ गाविस सक्ला, नायकवाडा, रोकायगाउँ र रामीडाँडामा रहेका घना लेकाली जंगल र वुकीपाटनहरुमा झारल, थार, चितुवा, कस्तुरी, भालु, घोरल, वँदेलहरुको अत्यधिक शिकार गरेर मासु बेच्ने गर्छन् ।
    कुकुर लगाएर, वन्दुकले खेलेर भन्दा पासो हालेर अत्यधिक जंगली जनावरहरुको शिकार हुने गरेको छ । वारेकोट क्षेत्रका बुकीपाटनहरुमा पाइने मूल्यवान जडिवुटी र जंगली जनावरहरुको संरक्षणको लागि ४ वटै गाविसका गाउँ परिषद्हरु र जिल्ला परिषद्ले वारेकोट क्षेत्रलाई विशेष संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने निर्णय गरेको सक्ला गाविसका सचिव धनीराम कुमाई बताए । विश्वमै दुर्लभ प्रजातिको रेडपाण्डा (हाव्रे) जाजरकोटको नायकवाडामा फेला पर्नु खुसी र अवसर प्राप्त भएको बताउँदै स्थानीय श्रमवहादुर सिंहले संरक्षणमुखी कार्यक्रममा जोड दिनुपर्ने बताए ।
    जिल्लामा रहेको वन तथा वन्यजन्तुको संरक्षण गर्न जिल्ला वन कार्यालय र सो मातहतका निकायहरु वारेकोट क्षेत्रमा द्वन्द्वकाल देखिनै उपस्थित भएका छैनन् । जिल्लाम कार्यरत रहनुपर्ने १० जना रेञ्जरहरु मध्ये वर्षौदेखि ४ जना मात्र कार्यरत रहेको बताउँदै जिल्ला वन अधिकृत सरोजकुमार पाण्डेले जिल्लाका ३० गाविसका लागि हाल २२ जना मात्र वन रक्षकहरु रहेकोले सवै गाविसमा उचित दृष्टि राख्न नसकेको वताए ।
    वारेकोट क्षेत्रका लागी रोकायगाउं को लिम्सामा रहेको ईलाका वन कार्यालयमा विगत १२ वर्ष देखि वन रक्षकहरु नवस्ने भएपछि उक्त गाविसहरुलाई हेर्न १ दिन टाढाको खगेनकोट दल्लीस्थित ईलाका वन कार्यालयलाई जिम्मा दिइएको जिल्ला वन कार्यालयले जनाएकोछ ।


No comments:

Post a Comment