एमाले उपाध्यक्ष वामदेव गौतमसहितको टोली सुर्खेतमा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ असार ।
    संविधानसभाको विघटनपछिको बदलिँदो राजनीति र पार्टीको आन्तरिक जीवनलाई व्यबस्थित गर्नका लागि नेकपा एमालेका केन्द्रीयस्तरका नेताहरु सुर्खेत आएका छन् । भेरी अञ्चलस्तरीय प्रशिक्षण दिन उनीहरु यहाँ आएका हुन् । नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेतका अनुसार सुर्खेत आउने केन्द्रीय नेताहरुमा एमाले उपाध्यक्ष बामदेव गौतम, एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावली, विष्णु रिमाल, प्रकाश ज्वाला, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष माधव ढुंगेल सहित ९ जना रहेका छन् ।
    आज आइतवार वीरेन्द्रनगरमा आयोजना हुने अनेरास्ववियुको जिल्ला अधिवेशन तथा अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी भइ उनीहरुले मुलुकका वर्तमान अवस्था र पार्टीले खेल्ने भूमिकाका वारेमा प्रशिक्षण दिने बताइएको छ ।
    त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको १२ औं पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा एमाले केन्द्रीय सदस्य देवराज भारले पार्टीको विधि र पद्धति विपरित गतिविधि गर्ने ठूलो नेता या कार्यकर्ता कारबाहीको भागिदार बन्नुपर्ने बताए । उनले एमालेलाई जनजाति विरोधी देखाउन खोज्नेहरु खेलौना मात्रै भएको दावी समेत गरे ।
    बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु बालकृष्ण बिसी, बालाराम शर्मा, नन्दा शर्मा, भेरी अञ्चल कमिटी सदस्यहरु चुँडामणि शर्मा र दामोदर अर्याललगायतको उपस्थिति थियो । बैठकले जिल्लाको शैक्षिक क्षेत्रसंग सम्बन्धित कामको संयोजन गर्नको लागि जिल्ला कमिटी उपाध्यक्ष शिवप्रसाद उपाध्यायको संयोजकत्वमा एक समितिपनि गठन गरेको छ ।

No comments:

Post a Comment