अधिकार पाउन बोटेहरु संगठित

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ असार ।
    माछा मार्ने, बालुवा चाल्ने र डुंगा चलाउने जस्ता पेसा गर्दै आएका सुर्खेतका बोटे समुदायहरु पनि संगठित भएका छन् । सोमवार बोटेहरुले पहिलो जिल्ला सम्मेलन गर्दै आफ्ना हकअधिकार पाउनका लागि नेपाल बोटे समाज सुर्खेत गठन गरेका छन् । जसमा अध्यक्ष खिमबहादुर बोटे चयन भएका छन् ।
    जिल्ला विकास समिति सुर्खेतको आर्थिक सहयोगमा गरिएको पहिलो अधिवेशनले खिमबहादुरलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिबेशनले उपाध्यक्ष गौमाया बोटे, सचिव पूर्णबहादुर बोटे, कोषाध्यक्ष उमा बोटे, सहसचिव बनिसरा बोटे, सदस्यहरुमा सहवीर बोटे, पविदेवी बोटे, यशोदा बोटे र टेकबहादुर बोटेलाई चयन गरेको छ । यस्तै सल्लाहकारमा हरिलाल बोटे र भविसरा बोटे छन् ।
    कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले महासंघको पनि भातृ संस्थाको विकास हुँदै गएकोमा खुशी व्यक्त गर्दै लोपोन्मुख जनजातिका नाममा आएका बजेट सरकारले तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाले सुर्खेतमा बोटे समुदायले पनि आफ्नो संगठन विस्तार गरेकोमा खुशी व्यक्त गर्दै व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएभने नेवार संघका उपाध्यक्ष तिला श्रेष्ठ र महासंघका सदस्य वीरबहादुर रावत खाम्पा, आदिवासी जनजाति नगर समन्वय परिषद्का अध्यक्ष कर्णबहादुर रानामगर, खाम्पा समाजका अध्यक्ष कृष्णबहादुर रोकाय खाम्पा, खाम्पा बुद्धिजीवि सिंहराज गुरुङ खाम्पा, मगर महिला संघका अध्यक्ष नन्दा थापा मगर, गुरुङ महिला संघका प्रतिनिधि बासना गुरुङ, महासंघका कोषाध्यक्ष लवमान श्रेष्ठलगायतले बोटे जाति पछाडि परेपनि आफ्नो पेसा, भाषा लगायत संस्कृतिलाई नभुल्न सुझाव दिएका थिए । 

No comments:

Post a Comment