सुर्खेतमा किसानको आयस्तर बढाउने कार्यक्रम लागू

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ असार ।
    कृषकहरुको आयस्तर बृद्धि गर्नका लागि उनीहरुले उत्पादन गरेका बस्तुहरुलाई बजारीकरण गरी जीवनस्तर बढाउने कार्यक्रम सुर्खेतमा लागू गरिएको छ । ‘साना तथा मझ्यौला कृषक आयस्तर बृद्धि आयोजना’ नाम दिइएको सो कार्यक्रम उद्योग बाणिज्य संघ, कृषि विकास कार्यालयसंग सहकार्य गरेर लागू गरिएको हो ।
    मध्यपश्चिममा सुर्खेत जिल्लासहित दैलेख, बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिममा कैलाली, डोटी, बैतडी, दार्चुला र डडेल्धुरा गरी १० जिल्लामा सो कार्यक्रम लागू गरिएको छ । सोमवार कृषि उद्यम केन्द्र र सुर्खेत उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उक्त जानकारी गराइएको हो । कार्यक्रममा आयोजनाका मूल्यांकन तथा अनुगमन अधिकृत नारायणप्रसाद तिमिल्सेनाले विश्व बैंकको सहयोगमा यो कार्यक्रम लागू गरिएको बताए । गतबर्षको जेठ ३१ गतेदेखि कार्यक्रम लागू भएपनि करिव एक बर्षपछि बल्ल सम्बन्धित जिल्लाहरुमा अभिमुखीकरण र जानकारी गराउन आएको उनले बताए । उनका अनुसार कार्यक्रमको अवधि ६ बर्षको हुनेछ ।
    आयोजनाले कृषकहरुलाई बस्तु उत्पादनमा सहयोग गर्ने, प्रवद्र्धन गर्ने, लैंगिक पिछडिएको समूहलाई अग्रसर बनाउने, वातावरण तथा प्रविधिको विस्तार गर्ने काम गर्नेछ । यस्तै कृषकहरुको सहभागितामा पहुँच बृद्धि गराउने, करार खेतीलाई संस्थागत गर्ने, उच्च मूल्य कृषि बस्तु उत्पादन गर्न सहयोग गर्ने, कृषि व्यवसाय अनुदान प्रदान गर्नेलगायतका कामपनि सो आयोजनाले गर्ने जानकारी उनले दिए ।
    कार्यक्रमका लागि २ अर्ब ८३ करोड बजेट रहेको छ । उक्त अवधिमा कार्यक्रमले १० जिल्लाका साना किसानहरुको आयस्तर बृद्धि गराउने, १७ हजार ८ सय कृषक लाभान्वित हुने, ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा ६४ हजार ५ सय मेट्रिक टन बस्तु उत्पादन हुने र कृषकहरुलाई २ सय २३ करोड आम्दानी हुने लक्ष्य लिएको जानकारी अनुगमन अधिकृत तिमिल्सेनाले दिए ।
    कार्यक्रमले विशेषगरी एकल महिला, हलिया, कमैया र पछि परेका समुदायलाई प्राथमिकता दिनेछभने १ लाख २० हजारदेखि २ करोडसम्म कृषि अनुदान दिन सकिने बताइएको छ । यसका साथै फलफूल, तरकारी बाली, मसलाबाली, च्याउ, मह, वीऊ उत्पादन र
औषधिजन्य जडिबुटीलाई यो कार्यक्रमले प्राथमिकता दिने अनुगमन अधिकृत तिमिल्सेनाले बताए । कार्यक्रम उद्योग बाणिज्य संघ, कृषि विकास बैंक र राष्ट्र बैंकसंग मिलेर गरिनेछ । कृषि उद्यम केन्द्रका बेद रोकायले कृषकहरुले उत्पादन गरेका बस्तुहरुलाई बजारीकरण गर्न उद्योग बाणिज्य संघसंग सहकार्य गरिएको बताएभने सुर्खेत उद्योग बाणिज्य संघका महासचिव मदनबहादुर खड्काले सुर्खेत जिल्ला कृषिजन्य बस्तु उत्पादनको सम्भावना बढी भएको स्थानका रुपमा चिनिएको बताए । उनले सुर्खेतमा बिशेषगरी आलु, अदुवा, बेसार, कुरिलो खेती बढी हुने गरेको जानकारी दिए । कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, एसएनभीका हरिश्चन्द्र देवकोटा, जिल्ला कृषि विकास अधिकृत विजय गिरीले यस कार्यक्रमले सुर्खेतमा कृषकहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment