अनियमितता गर्ने परीक्षा केन्द्र २ वर्षका लागि खारेज

Bookmark and Share 
राजेन्द्र कार्की
जाजरकोट, १ साउन ।
    एसएलसी परीक्षामा व्यापक अनियमितता गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयले  जाजरकोटको एक परीक्षा केन्द्रलाई दुइ वर्षका लागि खारेज गरेको छ । परीक्षाको मर्यादा बिगार्ने तथा अन्य विकृतिजन्य काम गरेको  भन्दै  कार्यालयले जिल्लाको त्रिभुवन उच्च मावि दल्ली परीक्षा केन्द्रलाई २ वर्षका लागि खारेज गरेको हो ।  
    गत चैत महिनामा संचालित २०६८ सालको नियमित एसएलसी परीक्षामा व्यापक चिटिङ गर्ने नियतका साथ उक्त परीक्षा केन्द्रमा  अनियमितता भएको स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो ।
    उक्त समाचारका आधारमा परीक्षा नियन्त्रण कार्यालयले सजाय स्वरुप उक्त केन्द्रमा  २ वर्षसम्म परीक्षा संचालन गर्न नदिने परिपत्र जिल्ला शिक्षा कार्यालयलाइ पठाएको छ । तर यसवारेमा जिल्ला शिक्षा कार्यालय जाजरकोटले भने सूचना गोप्य
राखेको छ ।
    जिल्ला शिक्षा अधिकारी  गीरमान थापाले  एसएलसी परीक्षामा भएको अनियमितता वारे  स्पष्टिकरण सोधेको बताए ।  पत्रमा  केन्द्र २ वर्ष खारेज भएको व्यहोरा उल्लेख भएपनि तत्काल भन्न नमिल्ने भन्दै जिशिअ थापाले केन्द्र खारेजीको बारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।
    दल्ली परीक्षा केन्द्रमा परीक्षा अनुगमन गर्न गएका अनुगमनकर्तालाइ समेत प्रवेश गर्न दिइएको थिएन् । परीक्षामा चिट खोसेको भन्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला शिक्षा अधिकारी थापा, प्रहरी प्रमुख ईश्वर कार्की र पत्रकार महासंघका अध्यक्ष राजेन्द्र कार्कीलगायतको समूहलाई गाउँमा बास नदिएर रातको समयमा बिचल्लीमा पारिएको थियो । उक्त परीक्षा केन्द्र सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ । परीक्षा केन्द्र खारेज गरिएको जिल्लामा पहिलो परीक्षा केन्द्र हो ।
    परीक्षामा अनियमिततामामा संलग्नलाई कारबाही नगरिएको भन्दै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला शिक्षा अधिकारी को जिल्लामा निकै आलोचना गरिएको थियो ।

No comments:

Post a Comment