सिटी बसपार्कका लागि नगर विकास कोषसंग ऋण लिने तयारी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १ साउन ।
    वीरेन्द्रनगरमा बनाउन लागिएको सिटी बसपार्कको लागि अपुग रकम नगर विकास कोषसंग ऋण लिने तयारी भएको छ । कोषको एक प्रतिनिधि मण्डलले सिटी बसपार्ककको अध्ययन अवलोकन गरेर फर्किसकेको र आगामी साउन महिनामा नगरपालिकाले कोषसंग ऋण सम्झौता गर्नेछ । अहिलेको बसपार्कलाई स्तरोन्नति गरी सिटी बसपार्क बनाउने काममा करिव ३ बर्षको अवधि लाग्ने बताइएको छ ।
    यस आर्थिक बर्षमा उक्त बसपार्कका लागि ६० लाख रकम विनियोजन गरिएको छ । जस अनुसार अहिले सिटी बसपार्कको माटो कटिङ, फिलिङ र लेबलिङ गर्ने काम जारी रहेको वीरेन्द्रनगर नगरपालिकाका अनुगमन तथा प्रशासन अधिकृत प्रकाश पौडेलले बताए । नगरपालिकाको जगेडा कोषको रकम भएकोले सिटी बसपार्कका लागि विनियोजन गरिएको रकम फ्रिज नहुने हुँदा बसपार्क निर्माणको कामलाई निरन्तरता दिइरहने उनको भनाइ छ । आगामी आवमा पनि उक्त कामलाई जारी राखिनेछ ।
    बसपार्कको कामलाई सम्पन्न गर्नका लागि आगामी आर्थिक बर्षमा अन्य कामभन्दा पनि बसपार्क निर्माणको कामलाई प्राथमिकता दिइने राजनीतिक सहमति पनि भइसकेको छ । सिटी बसपार्कमा सपिङ कम्लेक्ससमेत निर्माण गरिने भएको छ । जसका लागि बजेट अपुग हुनेभएकोले नगर विकास कोषसंग ऋण लिने तयारी भएको जानकारी अधिकृत पौडलले दिए ।
    उनका अनुसार अव सम्झौता हुन बाँकी रहेको छ ।  ‘कति रकम लिने भन्ने वारेमा एकिन नभएपनि नगरपालिकाले सिटी बसपार्क बनाउन कति रकम अपुग हुन्छ, त्यति नै रकम ऋण लिनेछ’ उनले भने । यद्यपि करिव ३ करोड ऋणमा सम्झौता हुने अनुमान गरिएको छ । सुर्खेतको सिटी बसपार्कलाई नमूना बसपार्क बनाउनका लागि काम भइरहेको छ । कामले निरन्तरता पाएमा बढीमा ३ बर्षभित्र पूरा हुने उनले बताए ।

No comments:

Post a Comment