युरो कपको उपाधी स्पेनलाई

   स्पेनले इटालीमाथि ४–० को एकतर्फी जीत रच्दै युरोपियन च्याम्पियनसिपको उपाधि आइतबार रक्षा गरेको छ । महादेशीय प्रतियोगिता लगातार दुईपल्ट जित्ने स्पेन पहिलो हो । भिसेन्ट डेल बस्कले सम्हालेको स्पेनी टिम प्रतिष्ठित प्रतियोगिताको उपाधि लगातार तीनपल्ट जित्ने विश्व फुटबलकै पहिलो पनि भएको छ । उसले यसअघि युरो २००८ र वल्र्डकप २०१० जितेको थियो । आक्रामक फुटबलको उदाहरण पस्कदै स्पेनी टिमले स्वर्णिम युगमा भएको प्रमाणित गरेको थियो । आन्द्रेस इनेष्टा र ज्याभी हर्नान्डेजले ओलम्पिक स्टेडियममा आर्किटेक्टको भूमिका निर्वाह गरे ।
    यस्तोमा डेविड सिल्भा, जोर्डी अल्बा, फर्नान्डो टोरेस र जुआन माटाले फाइनलमा गोल गरे । टोरेस र माटा सब्स्टिच्युट खेलाडी हुन् । ‘पहिलो गोल गरेपछि इटाली खतरानका देखिएको थियो । तर हामीले राम्रो प्रतिक्रिया दियौं,’ स्पेनी प्रशिक्षक डेल बस्कले भने, ‘बल पोजेसन राख्दै इटालीलाई दबाब दियौं । हाम्रो खेलमै उनीहरु चिन्तित बनायौं । त्यसैले धेरै खुशी छौं ।’ उनले थपे, ‘यो उपलब्धि स्पेनी फुटबलको इतिहास हो । अब भविष्यप्रति केन्द्रित हुनेछौं ।
र, वल्र्डकप २०१४ मा छनोट हुने प्रयास गर्नेछौं ।’ युरो कप फाइनलमा गोल गर्ने पहिलो खेलाडी भए, टोरेस । उनकै एकमात्र गोलको सहयोगमा चार बर्षअघि स्पेनले फाइनलमा जर्मनीलाई हराएको थियो । स्पेनले हात पारेको जीत प्रतियोगिताको फाइनलमा सबैभन्दा ठूलो अन्तरको सफलता हो । ‘यो जीत सुरक्षित राख्न चाहन्छौं,’ म्यान अफ दि म्याच इनेष्टाले भने, ‘यो नौलो छ । जादुयी पनि । हतपत दोहोरिदैन । यो कति महत्वपूर्ण छ भन्ने अनुभव गर्न गाह्रो छ ।’ तेस्रो परिवर्तनको रुपमा मैदान प्रवेश गरेका थियगो मोटा चोट बोक्दै बाहिरिएपछि इटाली अन्तिम आधा घन्टा दस खेलाडीमा सीमित थियो । ‘हामी हाम्रो बाटोबाट फाइनल पुगेका थियौं,’ इटालीका प्रशिक्षक सिजर प्रान्डेलीले भने, ‘स्पेन वल्र्ड च्याम्पियन हो । यस्तो टिमविरुद्ध दस खेलाडीमा सीमित हुनेबित्तिकै खेल सकिए बराबर हुन्छ ।’

No comments:

Post a Comment