आन्तरिक तयारी नभएको भन्दै लडाकुले समायोजन फाराम भरेनन्

Bookmark and Share 
छैठौं डिभिजनबाट ४ जना मेजर र १० जनालाई क्याप्टेनमा सिफारिस 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत (दशरथपुर), २० असार ।
    लडाकुको सेनामा समायोजन गर्न भर्ना छनोट प्रक्रिया सुरु भएपनि दशरथपुरस्थित छैठांै डिभिजनमा आन्तरिक छलफल नपुगेको भन्दै लडाकुले फारम लिएका छैनन् । लडाकु समायोजनका लागि भर्ना छनौट प्रक्रिया थालनी गर्न दशरथपुर पुगेका नेपाली सेनाका प्रमुख सेनानी भरत कार्कीले भर्ना छनोट प्रक्रियाका बारेमा जानकारी गराउनुका साथै स्पष्ट नभएका विषयमा लडाकुलाई जानकारी गराउने काम गरेका थिए । उनले प्रक्रिया सुरु गर्न आफूहरु तयार भएपनि आन्तरिक छलफल भन्दै लडाकुले फारम नबझेको बताए ।
    समायोजनमा जान शिविरमा बस्दै आएका बटालियन कमाण्डर दिपेन्द्रबहादुर बुढाभने पार्टीले आन्तरिकरुपमा तयार गरेको नामावालीप्रति असन्तुष्टि जनाए । उनले भने, ‘पार्टीले योग्यता नपुगेका जुनियरलाई समेत माथिल्लो तहमा सिफारिस गरेको छ, यो अवस्थामा समायोजनमा जाने मन छैन ।’
    पार्टीले आन्तरिक रुपमा सिफारिस गरेको नाम र दर्जामा चित्त नबुझेको बटालियन कमाण्डर बुढाले बताए । उनले भने, ‘सिफारिसमा स्वैच्छिकमा गएका व्यक्तिको पनि नाम छभने समायोजन रोजेका मध्ये केही नाम छैन ।’
आन्तरिक सिफारिस अनुसार विग्रेड सहायक कमाण्डरहरु दिपक लामा, नवीन पाण्डे, गोगन मल्ल र यामबहादुर रास्कोटी मगर गरी ४ जना मेजर र १० जनालाई क्याप्टेनमा राखिएको छ । भर्ना छनौट प्रक्रिया सुरु हुने दिन आएको दर्जासहितको सिफारिसले शिविरमा हलचल नै ल्याएको छ ।
    शिविरमा समायोजन प्रक्रिया सुरु भइरहँदा घर विदा गएका लडाकु भने आउने क्रम जारी रहेको छ । लामो समयदेखि समायोजन प्रक्रिया अवरुद्ध भएका कारण शिविरका धेरैजसो लडाकु घर विदा गएका थिए । छैठौं डिभिजन अन्तर्गतका लडाकु मध्य अधिकृतस्तर बाहेकको भर्ना छनोट गरिने र शैक्षिक योग्यता, उमेर अवधि पुगेकाले अधिकृतस्तरमा फारम भर्न चाहेमा शक्तिखोर जानु पर्ने छनौट समितिका अध्यक्ष समेत रहेका प्रमुख सेनानी कार्कीले जानकारी दिए । उनले शैक्षिक योग्यता र उमेरलाई अनमिनले प्रमाणीकरकण गरेको अवधिलाई आधार मान्ने बताए ।
    समायोजन रोजेका ५ सय ७२ मध्ये १ सय १८ जना प्लाटुन कमाण्डरदेखि डिभिजन कमाण्डरसम्म रहेका छन् । शैक्षिक योग्यता पुगेका र उमेरको हद नलाग्ने जो कोहीले पनि अधिकृत तहमा भाग लिन पाउने तर लडाकुको जुनसुकै तहमा भएपनि शैक्षिक योग्यता नपुगे अन्य दर्जामा भाग लिनसक्ने प्रमुख सेनानी कार्कीले बताए । उनले समायोजन योजना अनुसार साउन १२ गतेसम्म पुरा गरी दशरथपुरमै तालिम दिने प्रस्ताव गरिएको बताए ।
    समायोजन रोजेर शिविरमा बसेका माओवादी लडाकुको भर्ना, छनौट प्रक्रिया बुधवारदेखि सुरु हुने भएको छ । सात वटा शिविरमा हाल समायोजन रोजेर बसेका ३ हजार १ सय २३ पूर्वलडाकु छन् । विशेष समितिको पछिल्लो निर्णयअनुसार समायोजन प्रक्रियामा सहभागी भएर अयोग्य हुने, दर्जा, मापदण्डमा चित्त बुझेन भनेर बाहिरिनेले भने स्वैच्छिक अवकाश वा पुनस्र्थापनाको विकल्प रोज्न सक्नेछन् । वियरि· परीक्षाअन्तर्गत लडाकुको शारीरिक बनावटका विभिन्न पक्षको जाँच गरिन्छ ।

No comments:

Post a Comment