दुर्गममा अभाव, सदरमुकाममा दोब्बर

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
बैतडी, १७ असार ।
    दुर्गम गाउँका विद्यालयमा एकजना शिक्षकले कक्षा तीनसम्म पढाइरहेका बेला बैतडी सदरमुकाम आसपासका विद्यालयमा आवश्यकताभन्दा दोब्बर शिक्षक कार्यरत छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्न खोजे पनि शिक्षक संगठन र शिक्षा समितिबीच कुरा मिल्न नसक्दा विवाद सिर्जना भएको छ । गत मंसिरभित्रै सम्पन्न हुनुपर्ने शिक्षक दरबन्दी मिलान हालसम्म पनि हुन सकेको छैन । दरबन्दी मिलान निर्देशिकामा प्राथमिक तहमा न्यूनतम तीन दरबन्दी कायम गर्ने प्रावधान भएपनि संघसंगठनले पाँच शिक्षक कायम गर्ने माग राखेकाले कार्यान्वयन हुन नसकेको शिक्षा कार्यालय बैतडीले बताएको छ ।
पहाडी जिल्लामा ४५ विद्यार्थी बराबर एक शिक्षक दरबन्दी कायम गरिएपनि ग्रामीण क्षेत्रका विद्यालयमा एउटै शिक्षकले ९० जना विद्यार्थीसम्म पढाउनु परेको बिजयपुरका शिक्षक वीरसिंह महराले बताए । सदरमुकाम नजिकका विद्यालयमा मात्रै आवश्यकता भन्दा ४० जना पढिरहेका छन् । राजनीतिक दल र शिक्षक संघसंगठनको दबाबमा दोब्बर शिक्षक कार्यरत रहेको बताइएको छ । दरबन्दी मिलानका क्रममा शिक्षा समितिका अध्यक्ष स्थानीय विकास अधिकारी, समितिका सदस्य प्रमुख जिल्ला अधिकारी तथा शिक्षक संगठनबीच सो विषयमा सहमति हुन नसक्दा शिक्षा समितिको बैठक बस्न सकेको छैन ।
    दरबन्दी मिलान थालिएपनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रभित्रका ४० शिक्षकले अन्यत्रै जानुपर्ने अवस्था भएकाले शिक्षा समितिमाथि दबाब बढेको बताइएको छ । नगरपालिकाका ३० विद्यालयमध्ये २० विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक छन् । सदरमुकाम नजिकका दशरथचन्द उच्चमावि सुन्दरखाली, जगदम्बा उच्चमावि रानीबुंगामा दोब्बर बढी शिक्षक कार्यरत छन् । ती दुई विद्यालयमा तीनजना शिक्षक आवश्यक भएपनि सात/सातजना कार्यरत रहेको शिक्षा कार्यालयले जनाएको छ । यस्तै नजिकैको जगन्नाथ निमावि नौहाट र ईश्वर प्रावि डोबरामा तीन/तीनजना बढी कार्यरत छन् । गाउँका विद्यालयमा दरबन्दी कायम राखेर शिक्षक सुगममा बस्दैआएका हुन् । 

No comments:

Post a Comment