सुर्खेत शिक्षा क्याम्पसमा ई–पुस्तकालय सुरु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ साउन ।
    शिक्षा क्याम्पस सुर्खेतले आइतवारदेखि ई–पुस्तकालय सुरु गरेको छ । एक कार्यक्रमको आयोजना गरी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले ई–पुस्तकालयको उद्घाटन गरेका हुन् । उनले अव सैद्धान्तिक शिक्षाभन्दा प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्ने सुझाव दिए । शिक्षा क्षेत्रलाई सूचना प्रविधिसंग जोड्नपनि आवश्यक रहेको बताउँदै प्रविधियुक्त अध्ययन नै गुणस्तरीय हुने जिकिर उनले गरे । उनले त्रिभुवन विश्वविद्यालय वेरोजगार उत्पादन गर्ने थलो भएकोले विद्यार्थीले शिक्षालाई निरन्तरता दिन नसकेको बताए । त्रिभुवन विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिलाई सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनको माग छ । कक्षा कोठामा डायरीबाट मात्र नलेखाई खोज अनुसन्धानमूलक शिक्षामा विद्यार्थीलाई आकषर्ण गर्नुपर्ने पनि उनले बताए । विद्यार्थीहरुले नकारात्मक विचारहरुलाई आफै सुधार गर्दै सकारात्मक सोचको विकास गर्न सुझाव दिए ।
    सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार मल्लले त्रिभुवन विश्वविद्यालयले आफ्नो पाठ्यक्रम परिवर्तन गर्न नसक्नुले विभिन्न समस्याहरु देखापरेको बताए । उनले अन्य विश्वविद्यालयसंग प्रतिस्पर्धा गर्नका लागि पनि त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जनाए । उनले सुर्खेत क्याम्पस शिक्षामा वीएड विज्ञान र आइसिटीलाई प्राथमिकता दिनुपर्ने जनाए ।
    कार्यक्रममा सहायक क्याम्पस प्रमुख हरि थापा, राष्ट्रिय प्राध्यापक संघका उपाध्यक्ष विष्णु खनाल, स्ववियु सभपाति कमल सिंजापतिले आफ्नो भनाइ राखेका थिए । ई–पुस्तकालयका लागि २२ वटा र ल्यावका लागि ३१ वटा कम्प्युटर गरी ५३ वटा कम्प्युटर राखिएको सुर्खेत क्यम्पस शिक्षाले जनाएको छ ।
    त्रिभुवन विश्वविद्यालयको करिव १० लाख रुपैयाँको सहयोगमा ई–पुस्तकालय स्थापना गरिएको बताइएको छ ।
मा

No comments:

Post a Comment