लडाकु कमान्डरहरुद्वारा सामूहिक राजीनामा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
काठमाडौ, ४ साउन ।
    एकीकृत माओवादीका लडाकु शिविरका कमाण्डर र सहायक कमान्डरहरुले सामूहिक राजीनामा दिएका छन् । शिविरभित्र रहेका वेला कमाण्डरहरुले आर्थिक अनियमितता गरेको भन्दै पूर्व लडाकुहरु विस्तारित वैठक नै रोक्ने गरी आन्दोलनमा उत्रिएपछि उनीहरुले विहीवार पार्टी नेतृत्वलाई राजीनामा वुझाएका हुन् ।
    विहीवार विहान बसेको एकीकृत माओवादीको पदाधिकारी वैठकमा वोलाइएका सबै शिविरका कमान्डर तथा सहायक कमान्डरहरुलाई जाँचबुझमा सजिलो बनाउने गरी राजीनामा दिन आग्रह गरिएको थियो ।


    एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालको आग्रहपछि कमाण्डर र सहायक कमाण्डर गरी १२ जनाले पार्टी अध्यक्षसमक्ष राजीनामा पेश गरेको बताइएको छ । पहिलो डिभिजन इलामका यमबहादुर अधिकारी, दोस्रो डिभिजन सिन्धुलीका सुकबहादुर रोक्का, तेस्रो डिभिजन शक्तिखोरका धनबहादुर मास्की, चौथो डिभिजन नवलपरासीका तेजबहादुर ओली, छैठौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र  सातौं डिभिजन कैलालीका सन्तु दराइले राजीनामा दिएका छन् ।
    उनीहरुसंगै ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा दिएका छन् । पाँचौं शिविर भने लामोसमयदेखि  कमान्डर विहीन छ । शिविरका कमान्डरहरुले लडाकुहरुवाट प्रति महिना १ हजार रुपैयाँका दरले उठाएको, सरकारले दिएको रासन र भत्ता वापतको रकममा पनि अनियमितता गरेको पूर्व लडाकुहरुले आरोप लगाएका छन् ।
    लडाकु शिविरभित्र भएको आर्थिक अनियमितताबारे छानबिन गर्न आयोगको नेतृत्व माओवादी सचिव पोष्टबहादुर बोगटीले गर्ने भएका छन् । एकीकृत माओवादीको विस्तारित बैठकले बोगटीको संयोजकत्वमा आर्थिक अनियमितता छानबिन र शान्ति प्रक्रियामा भएका कमी कमजोरीबारे अध्ययन गर्न अमिक शेरचन नेतृत्वमा आयोग बनाएको छ ।
    लडाकु शिविरभित्र भएको आर्थिक अनियमितता छानबिन माग गर्दै पूर्वलडाकुहरुले प्रदर्शन गरेपछि राजधानीको भृकुटीमण्डपमा जारी विस्तारित बैठक बुधबार स्थगित भएको थियो । आर्थिक अनियमितता र सेना समायोजनमा भएको गल्ती कमजोरीबारे अध्ययन गर्न आयोग बनाउने स्थायी समितिको निर्णयपछि बैठक जारी छ 

No comments:

Post a Comment