एसपीका भान्छेले ठेकेदारलाई कुटे

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ साउन ।
    सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारका भान्छेले एक ठेकेदारलाई कुटेर रक्ताम्य पारेका छन् । शेरबहादुर कटुवालले वीरेन्द्रनगर–११ औद्योगिक क्षेत्र नजिक बस्ने नातामा दाइ पर्ने ५३ बर्षीय हस्तबहादुर कटुवाललाई कुटेका हुन् ।
    गत असार २९ गते आफ्नै घरको बरन्डामा बसिरहेका बखत ८ बजेतिर मदिरामा लठ्ठिएका शेरबहादुरले निर्घात कुटपिट गरेको हस्तबहादुरले बताए । शेरबहादुरले बेचेको घरबाट पानी ल्याउने विषयमा विवाद हुँदा कुटपिट गरेको उनको भनाइ छ । कुटपिटबाट उनको नाक र मुखमा गहिरो चोट लागेको छ ।
    शेरबहादुरले कुटेपछि आफूले प्रहरी बोलाएपनि नआएको गुनासो उनले गरे । ‘मैले प्रहरीलाई खबर गरे, तर मभन्दा पहिले नै उसले खबर गरेर केही भाको हैन, आउनु पर्दैन भनेछ,’ उनले भने, ‘प्रहरी नआएपछि एम्बुलेन्स बोलाएर म क्षेत्रीय अस्पताल उपचार गर्न गए ।’
    असार ३० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगी शेरबहादुरका विरुद्ध ठाडो उजुरी दिइ अस्पतालबाट घाउ केस फाराम ल्याएको उनले बताए । आफूले भन्दा पनि पहिल्यै शेरबहादुरले गाली बेइज्जतिको उजुरी दिएको बताउँदै उनले असार ३१ गते जिल्ला प्रहरी कार्यालयमा पुग्दापनि शेरबहादुरले बहानाबाजी गरेको आरोप लगाए ।
    प्रहरीले दुवै जना मिल भनेपनि शेरबहादुरले कागज नगरी मिल्ने भनेपछि आफू सहमत नभएको जानकारी हस्तबहादुरले दिए ।
    हस्तबहादुर कानुनी सहयोगका लागि एड्भोकेसी फोरमको शरणमा आएका छन् । शेरबहादुरका विरुद्ध सार्वजनिक मुद्दा लगाउने भनी उनी आएका हुन् ।
    यता कुटपिटको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुवै जना आफन्त पर्ने भएकोले मिल्न भनेको जनाएको छ । शेरबहादुर र हस्तबहादुर दुवैले प्रहरीमा घाउ केस फारामको लागि ठाडो निवेदन दिएको र दुवैजना आफन्त पर्ने भएको मिलाउन लागिएको डिएसपी आनन्द मराठाले जनाए । घरायसी झगडा भएकोले यसलाई ठूलो नबनाउन उनले सुझाव दिएका थिए ।

No comments:

Post a Comment