यो दुनियाँमा मान्छेले विभिन्न पेशा अँगाल्छन् । कोहीकोहीले भने यस्तो व्यवसाय गर्छन् जो सामान्य मान्छेले सोच्न समेत सक्दैनन् । यस्तै पेशा मध्येको एक हो भाडामा आमा बनिदिएर बच्चा पाइदिने अर्थात सरोगेट मदर । विदेशतिर यस्तो व्यवसाय निकै प्रचलनमा छ, यद्यपि हाम्रो देशमा भने अझै यस्तो सुनिएको छैन । भाडामा आमा बनिदिएर कतिपय महिलाले विभिन्न देशमा राम्रै जीवन निर्वाह गरेका छन् । अर्काको लागि बच्चा पाइदिनु अवश्य पनि रमाइलो कुरा होइन । तर के गर्ने ? पेट पाल्न केही न केही त गर्नैपर्यो । हुनत पेट पाल्न सधैभरी अर्काको लागि बच्चा पाइदिन सक्ने कुरा पनि भएन । सायद त्यहीं भएर होला बेलायतमा एक जना महिलाले भाडामा आमा बनिदिएर १० जना बच्चा पाएपछि भाडाकी आमा बन्ने पेशाबाट सन्यासै लिएकी छिन् । ४७ वर्षकी जिल हकिन्स नामकी ती महिलाले पछिल्लो २० वर्षदेखि अरुको लागि बच्चा जन्माइदिने गरेकी थिइन् । यस बीचमा उनले १० वटा बच्चा पाइन् ।
अर्थात जेठो माइलो गर्दै उनले भाडाकी आमा बनेर पाइदिएका सन्तान बोलीचालीको भाषामा पानी मन्तरेसम्म पुगे । तर पछिल्लोपटक जन्मिएका जुम्ल्याहा बच्चामा केही स्वास्थ्य समस्या देखिएपछि उनले आफ्नो उमेर ढल्केको सम्झेर भाडामा बच्चा पाइदिने कामबाट सन्यास लिएकी हुन् । ती महिलाले अन्तिम पटक जन्माएका जुम्ल्याहा बच्चाको नाम ब्याकोब र विलियम्स हो । ती जुम्ल्याहालाई निर्धारित प्रसुती समय भन्दा ८ हप्ता पहिले नै जिलको शल्यक्रिया गरी निकाल्नु परेको थियो । पाठेघरमा निकै समस्या देखिएपछि शल्यक्रिया गरी बच्चा निकालिएको थियो । आखिर उमेर ढल्किंदै र ज्यान नै जोखिममा पर्दै गएपछि जिलले आफ्नो पेशाबाट हात धुने निर्णय गरिन् । अविवाहित रहेकी जिलका अनुसार उनले पहिलोचोटी भाडामा आमा बनेको बेला घरपरिवारलाई ढाँटेको बताउँछिन् । अविवाहित अवस्थामा गर्भ बोक्नु अझ त्यसमाथि पनि बच्चा पाएपछि घरपरिवारलाई त्यसको बाबुसहित देखाउनु उनका लागि कठीन काम थियो । त्यसैले उनले अस्पतालमा सुटुक्क बच्चा जन्माइन् अनि सम्बन्धित मान्छेलाई बच्चा जिम्मा लगाएर एक जना पुरुषलाई लिएर घर आइन् । घर आएर आमाबाबुसंग उनले आफूले सोही पुरुषको गर्भ बोकेको भन्दै उक्त बच्चा तुहिएको भनेर ढाँटिन् । पहिलो पटक त ढाँटेको कुरा घरपरिवारले पत्याए तर त्यसपछि भने खास सत्य कुराको भेद खुल्यो । तरपनि उनले आफ्नो पेशा छाडिनन् । र बल्ल उमेरले साथ दिन छाडेपछि भाडाकी आमाको जागिर छाडेकी हुन् ।

No comments:
Post a Comment