मानिस स्वभावत: परिवर्तन उन्मुख चाहानाले लैस हुन्छ । परिवर्तित जीवनशैली आकांक्षा र अभिलाषा लिएर बाँचि रहन्छ । तर सधैंभरी एउटै जीवनशैली एउटा निम्न वेतनभोगी दैनिक ज्यालादारी जागीरमा रित्तिदैं बाँचिरहने मानिस बेचैन, निमुख र निराश हुन्छ । आजको संघर्षको पछाडि उसले भोलिको सुन्दर दिनहरुको आशा गरिरहेको हुन्छ । त्यही सुन्दर अभिलाषाको प्राप्तिको खातिर वर्तमानको उकालो पनि उसका लागि सहज बन्छ । तर दुर्भाग्य क्याम्पसका आंशिक प्राध्यापक पेशामा संलग्न समाजमा लेक्चर कहलिएका निम्न वेतनभोगी ज्यालादारी शिक्षकहरु आफूलाई सधैं हाजिर कापीमा रित्याउँछन् । सधैंभरी वेचैन र निराश हुन्छन् । भोलिको प्राप्तिका खातिर संघर्षको उकालो वर्षौदेखि चढिरहे तर सम्भावनाको क्षितिजसम्म नियाल्न समेत पाएनन् । विश्वविद्यालयको कठिन पढाइ र पढाइपश्चात आफूलाई प्राध्यापन पेशामा होमेर जीवनलाई सुरक्षित बनाउने चाहना पालेका शिक्षकको असरल्ल जीवनले धेरै सोचमग्न बनायो ।
विक्षिप्तमानसिकताले वर्तमान अझै बढी कष्टकर र निराश बन्यो संगैका सहपाठीहरु बाँकी उच्च शिक्षाका लागि युरोप अमेरिकाका शहरमा अध्ययनसंग आर्थिक लाभ गरिरहेका छन् । गैरसरकारी संस्थामा कार्यरत साथीहरु महंगो जीवनशैली बाँचिरहेका छन् । १/२ वर्ष थप मेहनत गरेर लोकसेवा आयोग तयारी गर्नेहरु सरकारी जागीरमा आफूलाई सुरक्षित बनाएका छन् तर प्राध्यापक भएर शिक्षा सेवामा होमिने अभिलाषा लिएर बाँच्नेहरुको हालत सधैं ज्यालादारी र निम्न वेतनभोगी भएर रित्तिरहेका छन् र जवानीका उर्वर वर्षहरु आशाका भविष्यमा कल्पदै क्याम्पसले निगाह गरेका १/२ पिरियडमा रित्याउँदै गएपछि समयले जवानी, जोश, जाँगरहरु पनि रित्याउँदै जानेछ अनि जीवनको उत्तरखण्डमा भाग्यलाई सराप्नुको विकल्प के ? विश्वविद्यालयको पढाइपश्चात उत्साही बन्दै क्याम्पस छिर्नु सुरक्षित भविष्यको लागि वाधक रहेछ । किनभने वर्षौसम्मको लगानी पश्चात भविष्यको कुनै टुंगो नलाग्ने धेरै वर्षको लगानी छोडेर विकल्पको खोजीपनि गर्न नसकिने किनभने यतिका वर्षको लगानी गरेको स्थानमा विना उपलव्धी रित्तो हात कहाँ जानु ? लगानी भएको ठाउँमा मोह हुँदोरहेछ । सम्भावनाको उज्यालो यतैकतै देखिएको आभास हुन्छ । अनि अधैर्य मनलाई धैर्यताको बाँध बाँधेर अल्झाइ राखिएको छ । केही बर्ष अगाडि नेपालमा व्याप्त अस्थिर राजनीतिको उपज आन्दोलन र हड्तालको खबरले एकजना मेरो विदेशी मित्रले नेपालीहरु आन्दोलन हड्ताल धरै गर्दछन् किन ? भनेर सोधे । प्रतिउत्तरमा मैले अभाव र असमानताको कारण दर्शाएको थिएँ । आज हामी आंशिक प्राध्यापकहरु आन्दोलनमा छौं । मैले दिएको उत्तरको व्यवहारिक महत्व महसुस भइरहेको छ । मानिसहरु सक्रिय राजनीति र आन्दोलनमा सहभागिताको कारणको मेसो पाइरहेको छु । अभाव र असमानताको उपज आन्दोलन बन्द र हड्ताल हाम्रो देशको सन्दर्भमा विकल्परहित विकल्पको रुपमा उभिएको सवैलाई जगजाहेर छ । त्यही संस्कृतिको निरन्तरताको स्वरुप हामीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्यौं । सुन्दर भविष्यको मिठो सपना बोक्दा बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरिरहेका हाम्रा विद्यार्थीहरुको बेचैन अनुहारले हामीलाई गम्भीर बनाएको छ । नजिकिंदो परीक्षा र क्याम्पसको हरिविजोगको दुर्दशाले उदास विद्यार्थीहरुको अनुहार भविष्यको भय मिश्रित मनोविज्ञानबाट गुज्रिरहेको अनुभूति हामीलाई भएको छ । तरपनि हामी विवश छौं । हाम्रा दर्जनौं प्राज्ञिक प्रयासहरु असफल र प्रयोजनविहीन भए । दिनप्रतिदिन असुरक्षित र अनिर्णयको बन्दी बनेको हाम्रो भविष्यको सवाल अझ बढी भयावह बन्दै जाने स्थिति बन्यो । जसको परिणाम स्वरुप निरन्तर आन्दोलनको संस्कृतिमा हुर्केको पछिल्लो नेपाली राजनीतिक परिदृष्यको निरन्तरता स्वरुप हाम्रो कदम अगाडि बढेको हो ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पस मध्यपश्चिम विकास क्षेत्रकै प्रमुख शैक्षिक संस्था हो । जुन दशकौंदेखि प्राज्ञिक जनशक्ति उत्पादनमा यस क्षेत्रको सामुदायिक क्षेत्रको अब्बल क्याम्पस मानिन्छ । सोही अनुरुप देशभरका दश उत्कृष्ट क्याम्पस मध्य छनोट भएर विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसको सर्वोपरी विकासका लागि करोडौंको अनुदान रकमसमेत प्राप्त गर्यो । पछिल्लो चरणमा मध्यपश्चिम विश्वविद्यालयको सुर्खेतका अन्य दुई क्याम्पससहित आधार क्याम्पसको रुपमा स्थापित भएको छ । मप विश्वविद्यालयसंग समायोजनको प्रक्रियामा रहेको छ । तथापि हाल क्याम्पस संक्रमणकालको जटिल परिस्थितिबाट गुज्रिरहेको छ । क्याम्पसका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक काम कार्वाहीहरु गतिशील छैनन् । क्याम्पस प्रमुखविहीन अवस्थामा रहेको महिनौं भइसक्यो । विश्ववद्यिालय अनुदान आयोग पनि असरल्ल अवस्थामा छ । वर्षौदेखि क्याम्पसमा रहेका आंशिक ज्यालादारी कर्मचारीहरुको भविष्यको कुनै टुंगो छैन । मप विश्वविद्यालय मा समायोजनको प्रक्रियामा एउटा निश्चित कार्यविधिका साथ अगाडि बढ्नुपर्नेमा कुनै पहल हुन सकेको छैन । दुई दर्जनभन्दा बढी आंशिक प्राध्यापकहरुको सवाल ओझेल परिरहेका छन् । क्याम्पसमा रिक्त रहेका दरवन्दीहरुमा पदपूर्ति गर्नेकाम अहिलेसम्म भएको छैन । यही क्याम्पसको अस्तव्यस्त माहोलको अव्यवस्थाले हामी आंशिक प्राध्यापकहरु आफ्नो पेशागत सुरक्षाका लागि आन्दोलनमा उत्रन विवश भयौं । हाम्रो आन्दोलनले पक्कैपनि विद्यार्थीहरुको पठनपाठनमा समस्या सिर्जना गरेको छ । आन्दोलनको कारणले नजिकिंदो स्नातक तह प्रथम बर्षका विद्यार्थीको परीक्षालाई समेत अफ्ठेरोमा पारेको छ । त्यसमा हामी सचेत छौं र यो आन्दोलन लामो समयसम्म लम्बियोस् भन्ने हाम्रो चाहना पनि होइन र विद्यार्थीहरुमा पर्ने जाने असुविधाप्रति हामी क्षमा चाहन्छौं ।
हाम्रो आन्दोलन गतिशील बन्दै नयाँ नयाँ उचाई ग्रहण गर्दै जाने क्रममा यसलाई गलत रुपमा व्याख्या गरिदैंछ । आंशिकको आन्दोलनले क्याम्पसको अस्तव्यस्ततामा थप टेवा पुग्यो । प्राज्ञिक प्राध्यापकको आन्दोलनको तरिका गलत भयो । यस्ता गलत र भ्रामक प्रचारवाजीहरुले आन्दोलन लाई दिशाविहीन र निर्णय विमुख बनाउने प्रयास गरिहेका छन् । आंशिक प्राध्यापकले विगत ४ वर्ष यतादेखि कुनै आन्दोलन गरेका छैन । विभिन्न समयमा प्राज्ञिक ढंगले क्याम्पसमा हाम्रो सवालसंग जोडिएका मुद्दाहरुलाई छलफल र वहस गरेको छ । दर्जनौं पटकका छलफल र निर्णयहरु क्याम्पस प्रशासन र व्यवस्थापन समितिले सिधैं उपेक्षा गरेपछिको विकल्प हो हाम्रो आन्दोलन । रह्यो कुरा आन्दोलन मर्यादित भएन भन्ने, सबैजना स्पष्ट हुन आवश्यक छ कि आन्दोलन र क्रान्ति जहिले पनि व्यवस्थित र मर्यादित ढंगले सम्पन्न हुँदैन । आन्दोलन, आन्दोलनकर्ताको निर्णय अनुरुप संचालन र गतिशील हुन्छन् सोही अनुरुप हामीले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्यो । हाम्रो आन्दोलन गन्तव्य उन्मुख दिशामा आफ्नै ढंगले अगाडि बढिरहेको छ ।
आन्दोलन जबसम्म हाम्रा मागहरु सम्वोधन हुँदैनन् त्यतिबेलासम्म निरन्तर जारी रहनेछ । बर्षांैदेखि युवा जोश र जाँगरहरुको लिलाम हामी क्याम्पस गर्ने, अनि अहिले सुरक्षित भविष्यको खोजी गर्न कहाँ जाने ? सम्भावनाको आशा पर्खेरै वर्षौंको लगानी सिधारुपमा ग्रहण गर्न नपाएपछि वक्र बाटामा हिंड्नु हाम्रो वाध्यता हो । साथै लामो समयदेखि सेवाभावमा समर्पित एउटा शिक्षकको सुरक्षित भविष्यको दायित्व क्याम्पस प्रशासनलाई वोध हुन जरुरी छ । साथै मप विश्वविद्यालयको समायोजन प्रक्रिया एउटा निश्चित विधि र प्रक्रियाबाट आंशिकका मुद्दाहरुलाई सम्वोधन गर्दा वर्वादै भइहाल्ने पनि नहोला । त्यसो त हामी विकल्पसहितका मागहरु अगाडि सारेका छौं । यदि समायोजनको प्रक्रिया तुरुन्त हुन नसके क्याम्पसको आन्तरिक प्रक्रियाबाटै भएपनि आंशिक शिक्षक सुरक्षित हुनुपर्छ ।
साथै आंशिक शिक्षकहरुलाई हेय भावले कमजोर र शक्तिविहीन स्थितिमा अथ्र्याउनुले पनि हामीलाई आन्दोलित बनाएको हो । सधैं ज्यू, जी र हजुर चढाउँदै शक्तिकेन्द्रको वरिपरि घुमिरहन बाध्य बाउने र हाम्रा समस्यामा खेल्ने प्रवृत्तिका विरुद्धको आन्दोलन पनि हो । त्यसकारण सम्पूर्ण आंशिक प्राध्यापक साथीहरु, पेशागत सुरक्षा र अधिकार प्राप्तिको आन्दोलनमा कसैसंग सम्झौता नगरी निर्णायक रुपमा अगाडि बढाउन जरुरी छ । साथै हाम्रो न्यायपूर्ण आन्दोलनको पक्षमा सम्पूर्ण विद्यार्थी, शिक्षक राजनीतिककर्मी र शिक्षाप्रेमीको सहयोग र समर्थनका लागि अपिल गर्दछौं । bista.resham@yahoo.com
No comments:
Post a Comment