४० प्रतिशत महिलाको मृत्यु घरमै

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २८ असार ।
    नेपालका ४० प्रतिशत महिलाहरुको मृत्यु घरमै हुने गरेको छ । स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना नहुँदा अझैपनि ४० प्रतिशत महिलाहरुको मृत्यु घरमै हुने गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार ४० प्रतिशत महिलाको घरमै मृत्यु हुने गरेको, १४ प्रतिशत महिलाको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा मृत्यु हुने गरेको छ । विगतको भन्दा अहिले केही कमी भएपनि अझैपनि स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना पुग्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मुकुन्दराज गौतमले बताए ।
    सुर्खेतमा गतबर्ष असुरक्षित प्रसुतिबाट १३ जनाको मृत्यु भएको तर अहिले ४ जनामात्रै भएको कार्यालयले जनाएको छ । राष्ट्रिय लक्ष्य अनुसार सुर्खेतले प्रजनन् स्वास्थ्यमा उल्लेखनीय काम गरेको दावी प्रमुख गौतमले गरेका छन् । उनका अनुसार सुर्खेतमा परिवार नियोजनको साधनमा ५४ प्रतिशत पहुँच पुगेको छ । यस्तै यहाँका ३७ वटा बर्थिङ सेन्टरमा सुरक्षित प्रसुति लिन आउनको संख्यामा पनि बढेको छ । नवशिशु मृत्यु दरमा कमी गराउन कठिन भइरहेको छ । सहस्राव्दी लक्ष्य अनुसार प्रतिलाखमा १७ मा झार्नुपर्नेमा अहिले ३३ जनाको मृत्यु भएकोले नवशिशु मृत्यु दरमा कमी ल्याउन प्रयास भइरहेको उनको भनाइ छ ।
    यस्तै बर्षायाममा झाडापखाला लगायतका रोगहरु फैलन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले औषधि र स्वास्थ्यकर्मीहरुलाई सतर्क अवस्थामा राखेको छ । भेरी र कर्णाली नदीलाई छुने गाविसहरु मेहेलकुना, मैनतडा, तरंगा, हरिहरपुर, घाटगाउँ, तातापानीलगायतका गाविसमा झाडापखालाको संक्रमण हुन सक्ने सम्भावना रहेकोले नजिकका स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि राखिएको छभने स्वास्थ्यकर्मीहरुलाई पनि सतर्क अवस्थामा बस्न निर्देशन दिइएको प्रमुख गौतमले बताए ।

No comments:

Post a Comment