तपाईं कोहीसंग नजिकिएर जरुरी गफ गरिरहनु भएको छ । यस्तो बेला उसले रुमाल निकालेर आफ्नो नाक थुन्यो, अनुहारका नशा खुम्च्याउँदै अलि टाढियो अथवा हतार भएको बाहना गर्दै उम्किन खोज्यो भने पक्कै तपाईंलाई हीनताबोध हुन्छ । गफकै क्रममा कसैले त मुख खोलेर प्याच्चै भनिदिन पनि सक्छन्, तपाईंको श्वास त कस्तो गन्हाउँदो रहेछ भनेर । त्यो बेला तपाईंलाई लज्जाबोध मात्रै होइन, आफैंसंग दिक्क पनि लाग्न सक्छ । सास गन्हाउने समस्याबाट मुक्त हुन तपाईंले बिहान बेलुकै दाँत माझ्ने गर्नुभएको पनि हुनसक्छ । तर थाहा पाइराख्नोस्, दाँत नमाझेको कारणले मात्र यस्तो समस्या उत्पन्न हुँदैन । केही कुरामा ख्याल गर्ने होभने जो कोही यो समस्याबाट मुक्त हुन सक्छन् ।
कुराका क्रममा हामीले सास गन्हाउँछ भने पनि खासमा सास नभइ मानिसको मुख गन्हाउने हो । चिकित्सकहरुका अनुसार गिजाको समस्या, पायरिया, डायबेटिज, टिबी, फ्यास्ट्रिक आदिमध्ये कुनै एकको कारणले समेत सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ । यस्तो समस्या भएकाहरुले ती रोगको उपचारसंगै प्रशस्तै पानी पिउनु तथा जडिबुटीबाट बनाइएको धुलोले दन्तमन्जन गर्न लाभदायक हुन्छ । वंशलोचन, टिम्बुर, बज्रदन्ती, ल्वाङ, वृहती, माजिम, वसन्ती, ओखर, सुकमेल, अँगार, नुन, तोरीको तेल आदि प्रयोग गरेर आफैं पनि दन्तमन्झन बनाउन सकिन्छ । कोही कसैलाई भने कुनै रोगको औषधि सेवनपछि प्रयाप्त मात्रामा पानी नपिएका कारणले पनि मुखमा दुर्गन्धको समस्या उत्पन्न हुन्छ । कतिपयमा भने खानपानको कारणले पनि यो समस्या देखा पर्छ । खासगरी मसलायुक्त खाना, माछा मासु, काँचो लसुन, प्याज खाँदा पनि मुख गन्हाउने गर्छ । मसलायुक्त खाना र माछामासुमा भएको तेल हाम्रो मुखभित्र टाँस्सिरहने र कुल्ला गर्दा पनि नजाने भएकाले पनि केही घन्टासम्म मुख गन्हाइरहन्छ । यसबाट मुक्त हुन खानालगत्तै ब्रस गर्ने त्यसपछि ल्वाङ, अलैंची चबाउने गर्नुपर्छ । मुख गन्हाउने अर्को प्रमुख कारण पायरिया र गिजामा हुने ब्याक्टेरिया पनि हो । यसका लागि योग्य चिकित्सक कहाँ गएर उपचार गर्ने तथा खानापछि नियमित ब्रस गर्ने गर्नुपर्छ । बिहान उठेपछि चाहिं सफा हातले दाँत रगडी राम्रोसंग मुख कुल्ला गर्नुपर्छ । पेट सफा नहुनु तथा फ्यास्ट्रिक हुनु पनि मुख गन्हाउने अर्को प्रमुख कारण हो । यो समस्या भएकाहरुले चाहिं बढीभन्दा बढी पानी पिउने, मसलारहित सादा र सन्तुलित खाना लिने, खाना खाँदा राम्ररी चपाएर मात्र निल्ने गर्नुपर्छ । जुनबेला पायो त्यो बेला खाने नगरी खाना खाने समय रुटिनजस्तो निश्चित बनाउन सके झनै लाभदायक हुन्छ । दूध, पनिर, दही आदिको सेवन पनि मुख गन्हाउने कारण बन्न सक्छ । यसो होभने ती वस्तुको सेवनपछि मुख कुल्ला गर्नु वेश हुन्छ । कतिपयको जिब्रोमा काइ जमेरपनि समस्या उत्पन्न भएको हुनसक्छ । त्यसका लागि जिब्रो नियमित सफा गरेर मुक्ति लिन सकिन्छ । रक्सी, चुरोट, खैनी खानेहरुका लागि त मुख गन्हाउने समस्या सामान्य नै हो । त्यस्तो कुलत भएकाहरुले पनि सार्वजनिक सभा समारोहमा लज्जित हुनबाट बच्ने होभने राम्ररी मुख कुल्ला गर्नसक्छन् । साथै ल्वाङ, सुकमेल, अलैंचीजस्ता वस्तु चपाएर दुर्गन्धबाट अल्पकालका लागि भएपनि मुक्ति लिन सक्छन् ।

No comments:
Post a Comment