चित्रकलामै समर्पित सुर्खेती युवक

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
उमेर भर्खर २८ बर्ष । तर सफलता भने परिपक्वजस्तो । एक दर्जन बढी पुरस्कार उनको हातमा । विद्यालयस्तरदेखि क्षेत्रीय प्रतिभा पुरस्कारसम्म उनले प्राप्त गरिसकेका छन् । कम उमेरमा यति धेरै सफलता प्राप्त गर्ने सफल युवा हुन् वीरेन्द्रनगर–५ चिसापानीका हेमन्त हमाल । हमालले नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा २०६७/०६८ मा प्रदान गरिने राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार कार्यक्रमको ललितकला विधामा म.प. विकास क्षेत्रबाट गत असार २९ गते क्षेत्रीय प्रतिभा पुरस्कारतर्फ रु. ५० हजार नगद र सम्मानपत्र समेत पाए ।

यो उनको पछिल्लो सफलताको क्रम हो । २०४० साल पुस १ गते जन्मिएका हमालको माध्यमिक शिक्षा सुर्खेतमै पूरा भएको हो । उच्च शिक्षाका लागि उनी ललितकला क्याम्पस काठमाडौं पुगे । उनले चित्रकलामा विएफए र समाज तथा मानवशास्त्रमा एमए गरिसकेका छन् । त्यसका साथै रेनेसा इन्स्टि्च्यूट अफ फाइन आर्टमा उनले ४ बर्ष चित्रकला तालिम सके ।
    चित्रकलामा रुची उनको सानैदेखि भएको आफन्तजनहरु बताउँछन् । विद्यालयस्तरमा हुने अन्तर प्रावि बाल चित्रकला प्रतियोगितादेखि अंचल, क्षेत्र हुदैं उनी विदेशसमेत पुगे । नेपालभित्र हुने प्रतियोगितामा त उनी नपुगेको स्थान छैन । ३ दशक नपुग्दैको उमेरमा उनले अंचलस्तरीय चित्रकला २०५२ मा दोस्रो भए, जिल्लास्तरीय चित्रकलामा प्रथम, हस्तकला प्रतियोगिता २०५५ मा प्रथम, सन् १९९९ मा जिल्लास्तरीय ग्रिटिङ कार्ड प्रतियोगितामा दोस्रो, २०५६ मा क्षेत्रीय शिक्षा निर्देशनालयद्वारा आयोजित क्षेत्रीय चित्रकलामा प्रथम, सोही बर्ष क्षेत्रीय बनद्वारा आयोजित क्षेत्रीय चित्रकलामा तेस्रो, नेपाल रेडक्रस सोसाइटीद्वारा आयोजित राष्ट्रव्यापी चित्रकला प्रतियोगिता २०५७ मा तेस्रो, जापानमा आयोजित अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगितामा स्पेशल अवार्ड उनले प्राप्त गरिसकेका छन् । सहभागी भएको कार्यक्रमको फेररिस्ता त लामै छ ।
    चित्रकलाका माध्यमबाट उनले मुलुकका विभिन्न स्थानलगायत, दार्जिलिङ, सिक्किमलगायतका स्थान पुगिसकेका छन् । उनी अहिले विभिन्न विद्यालयहरुमा कला प्रशिक्षकको रुपमा कार्य सम्पादन गरिरहेका छन् । विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा आयोजक तथा निर्णायक हुनुका साथै विभिन्न पुस्तकहरुमा आवरण चित्रसमेत उनले सिर्जना गरेका छन् ।
    ललितकला विधामा क्षेत्रीय प्रतिभा पुरस्कार उनले प्राप्त गर्नुले सुर्खेतबासीको गौरव बढाएका छन् । पुरस्कारले उनको कला यात्रालाई निश्चितरुपमा झन अगाडि बढाउने छ । क्षेत्रीयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारको लक्ष्यपनि उनले राख्नुपर्दछ । उनीप्रति सुर्खेतबासी गौरव गर्न सक्नुपर्दछ । हमाललाई हार्दिक शुभकामना । 

No comments:

Post a Comment