धूमपान छोड्न सकस

    बलिउड स्टारहरु स्क्रिनमा मात्र नभएर रियल लाइफमा पनि धूमपानको मामिलामा निकै बदनाम छन् । हालै शाहरुख खान तथा रणवीर कपुरले सार्वजनिक स्थानमा चुरोट पिएको आरोपमा मुद्दासमेत खेप्नुपर्‍यो । बलिउड सोमरस तथा धुवाँकै बदनाम हुँदै गएपछि पछिल्लो समयका केही बलिउड हस्तीको चेत खुल्न थालेको छ । यसबीचमा केही बलिउड स्टारले धूमपालाई अलविदा गरेका छन् । यसरी चुरोट छाड्नेमा नम्बर वान स्टार सलमान खानको नाम पहिलो नम्बरमा आउँछ । उनले आफ्नो बिग्रँदो स्वास्थ्यका कारण चुरोट छाडेको बताइएको छ । हुनत सलमानलाई चुरोट छाड्न निक्कै नै हम्मेहम्मे पर्‍यो । उनले चुरोटको तलतली मेट्न धेरैपटक खिल्ली नसल्काइकन तानेर धुवाँ फ्याँकेझैं गरे । यसले उनलाई चुरोट पिएको फिलिंग हुन्थ्यो तरपनि कुनै नोक्सान पार्दैनथ्यो । अन्तत: यहीं प्रयासबाट सलमानले चुरोटलाई विदा गर्न पूर्णरुपमा सफल भएका छन् ।
    यस्तै चुरोट छाड्ने अर्का हिरोमा पर्छन् स्टार आमीर खान । उनले अघिल्लो नववर्षको दिन धूमपानलाई बाइबाइ गरेका हुन् । आमीर खानले आफ्ना फिल्म रिलिज हुनुभन्दा पहिलेको तनावलाई कम गर्न धूमपान गर्ने गरेको बताउँथे र कतिपय अवस्थामा त दिनको ४० खिल्लीसम्म चुरोट पिउने गर्थे । यस्तै अर्का खान स्टार सैफ अली खानले सन् २००९ को हृदयाघात पछि चुरोट छाडेका हुन् । चुरोट छाडेपछिका दिन सैफलाई निकै फापेका छन् र उनका त्यसपछिका केही फिल्म हिट बनेसंगै सैफको करिअर फेरि माथि चढ्यो ।
    यस्तै सिगरेट पान छाड्ने अर्का बलिउड अभिनेता ऋतिक रोशन हुन् । उनले अन्तिम पटक अघिल्लो वर्ष चुरोट सुर्काएका थिए । एलन कारको किताब इजी वे ट्र स्टप स्मोकिङ पढेपछि आफूले धूमपान छाड्न सफल भएको उनी बताउँछन् । आफूले चुरोट छाडेसंगै ऋतिकले आजभोलि संजय दत्तको धूमपानको लत छुटाउन सहयोग गरिरहेको बताइएको छ । त्यहीं भएर होला संजयले सुर्तीको विज्ञापन खेल्न मानेनन् यो पाला । चुरोट छाड्न निकै कोसिस गरेर पनि नसक्ने बलिउड अभिनेताहरु शाहरुख खान, अजय देवगन तथा रणवीर कपुर लगायतका हुन् । धूमपानका कारण मुद्दा खेपेर सजाय पनि भोगेका शाहरुखलाई उनका छोराछोरीले समेत चुरोट छाड्न अल्टिमेटम दिए तर उनले धूमपान त्याग्न सकिरहेका छैनन् । यो कथा अजयको मामिलामा पनि मिल्छ । उता प्रेमिका दिपिका पादुकोणका लागि कुनै समय चुरोट नपिउने बाचा गरेका रणवीरले बरु दिपिकालाई त्याग्न सके तर धुवाँ तान्ने बानी त्याग्न सकेनन् । (एजेन्सीको सहयोगमा)

No comments:

Post a Comment