सुख्खा जमीनमा सामूहिक बदाम खेती

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ३० भदौ ।
    जाजरकोट जगतीपुर गाविस–७ कुस्तरा गाउँमा पुरानो बस्ती भएपनि केही समय अघिसम्म आम्दानीको कुनैपनि श्रोत थिएन । गाउँभरीकै जमिन सिंचाई नभएको सुख्खा हुँदा कुनै पनि अन्न बालीको उत्पादन हुदैन्थ्यो । कृषि उत्पादनका साथै आम्दानीको श्रोत नहुँदा स्थानीय बासिन्दालाई मजदुरी गरेर दैनिक गुजारा चलाउन बर्षेनी छिमेकी देश भारततर्फ धाउनु पर्ने वाध्यता थियो । गाउँभरीकै आर्थिक अवस्था नाजुक थियो । गाउँमा भएको जमिन जति बाँझै हुन्थ्यो र कुनैपनि खेती हुदैन्थ्यो । केही जग्गामा भने मसुरो, पाखे धान, कोदो र मकै खेती गरिएपनि उक्त उत्पादनबाट दुई महिनापनि खान पुग्ने अवस्था थिएन ।
  चारबर्ष अघि शान्ति जन सामुदायीक संस्थामा आबद्ध भै संस्थाको आयआर्जन कार्यक्रम अन्र्तगत ब्यवसायिक बदाम खेतीमा लागेपछि अहिले त्यस गाउँका स्थानीयको आर्थिक अवस्थामा परिवर्तन आएको छ । खान लाउनको लागि भारत धाउनुपर्ने अवस्था टरेको छ । संस्थामा आवद्ध तीन दर्जन सदस्यहरुले एक सय रोपनी जमिनमा सामूहिक बदाम खेती गरेर आज मनग्य आम्दानी गर्न सफल भएका छन् । समूहका सदस्यहरुले पहिलो बर्ष गरीवी निवारण कोषको सहयोगबाट प्राप्त ९१ हजारको बदामको वीऊ रोपेर ७ लाख बराबरको आम्दानी गर्न सफल भएका थिए । प्रति सदस्य २५ हजार बढीको आम्दानी भाग परेको स्थानीय रामबहादुर बस्नेतले जानकारी दिए । समूहमा १८ जना पुरुष र १४ जना महिलाको सहभागिता रहेको छ ।
  गरीवी निवारण कोषको आर्थिक सहयोग तथा स्थानीय विकास कोषको सचिवालयको सक्रियतामा संचालित यस आयआर्जन कार्यक्रमले गाउँको मुहार फेरेको सामुदायिक संस्थाका सचिव कर्णबहादुर रोकाय बताउँछन् । विगतका दिनहरुमा यस्तो जानकारी नहुँदा बाँझो जग्गालाई टुलुटुलु हेर्दै आर्थिक अभावको सामना गर्नुपर्दथ्यो भने गरीवी निवारण कोष  तथा स्थानीय विकास कोषको सचिवालयको सहयोगले त्यही जग्गामा नोट फल्ने भएको सचिव रोकायले बताए । अन्य अन्नबाली भन्दा चार गुणा बढी आम्दानी हुने भएपछि अहिले गाउँको सबै जग्गा बदाम खेतीमय बनेको छ । स्थानीय सबै ब्यवसायिक बदाम खेतीमा लागेका छन् । मसुरो, धानको खेती गर्ने जग्गामा बदाम खेती गरिएको छ । 

No comments:

Post a Comment