दसैंमा १ हजार बस थप्ने तयारी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
काठमाडौं, २८ भदौ ।
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंको समयमा एक हजार सवारी साधन थप गर्ने भएको छ ।
    महासंघले दसैंमा यात्रुहरूको चाप बढ्ने भएकाले उनीहरूको सहजतालाई ध्यानमा राखेर ठूला बस, मिनीबस, माइक्रोबस लगायतका भाडाका सवारी साधनको संख्या थप गर्न लागेको हो । असोजको पहिलो सातादेखि दसैंको लागि अग्रिम बुकिङ खुला गरिने भएको छभने त्यसैको आधारमा असोजको तेस्रो सातादेखि कात्तिकको दोस्रो सातासम्म बस थप गर्न लागिएको हो । यो समयमा विदेशबाट पनि स्वदेश आउनेको संख्यामा उल्लेख्य वृद्धि हुने गर्दछ ।
    महासंघका महासचिव डोलनाथ खनालले कामको सिलसिलामा  घरदेखि बाहिर बसेका कर्मचारी, विद्यार्थी, सर्वसाधारण लगायतले मान्यजनबाट टिका थाप्न दसैंमा आ–आफ्ना घरमा जाने हुँदा सवारी साधनको अत्यधिक माग बढ्ने बताउँदै यस पटक असोजको तेस्रो सातादेखि गाडीको संख्या थप गरिनेछ भने ।
    महासंघअन्तर्गत रहेका करिब चार हजार भाडाका सवारी साधन अहिले सञ्चालनमा रहेका छन् ।
    गतवर्ष सात सयको हाराहारीमा सवारी साधन थप गरिएको थियो । यो बेला ७५ लाखभन्दा बढी यात्रुले आवतजावत गर्ने अनुमान गरिएको छ । 

No comments:

Post a Comment