बाँकेमा आर्सेनिक परीक्षण भएन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, २४ भदौ ।
    बजेट अभावका कारण खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले पानीमा हुने खराब तत्व आर्सेनिकको परीक्षण गर्न सकेको छैन । बाँकेमा चार वर्षअघि नेपालगन्ज नगरपालिका र ४६ वटा गाविसमा आर्सेनिकको परीक्षण गरिएको थियो । त्यस यता खानेपानी तथा सरसफाई डिभिजनले बाँकेमा आर्सेनिक परीक्षणका लागि कुनै काम गरेको छैन । खानेपानी प्राविधिकहरुका अनुसार कम्तीमा एक वर्षको अन्तरमा आर्सेनिक परीक्षण गर्नुपर्छ । अनि मात्र सर्वसाधारणले पिउने धारा वा ट्यांकीमा आर्सेनिक भए नभएको थाहा हुन्छ ।
    ‘आर्सेनिक परीक्षणका लगि बजेट छैन ।’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका निमित्त प्रमुख अशोक कुमार शर्माले भने, ‘चार बर्षयता आर्सेनिक परीक्षण नभएपछि कसको धारामा आर्सेनिक छ वा छैन भन्न सक्दैनौं ।’ उनले आर्सेनिक परीक्षण नै नगरिएकाले बाँके जिल्ला आर्सेनिकको जोखिममा छैन भन्न नसकिने बताए । बाँकेमा २०६५ सालमा युनिसेफको सहयोगमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले घर–घरमा गएर आर्सेनिक परीक्षण गरेको थियो । उक्त परीक्षणका क्रममा नेपालगन्ज नगरपालिकाको १२, ५, राधापुर गाविसको ८  र ९ वडामा, होलिया र बासुदेवपुर गाविसमा आर्सेनिक भेटिएको खानेपानी तथा  डिभिजनका निमित्त प्रमुख शर्माले बताए ।
    ‘त्यो बेला भेटिएको आर्सेनिक सामान्य खालको थियो ।’ डिभिजनका निमित्त प्रमुख शर्माले भने, ‘तर अहिले के छ थाहा छैन ।’ खानेपानी प्राविधिकका अनुसार पानीमा आर्सेनिकको मात्रा पिपिएम ५० भन्दा बढी भयो त्यो पिउन अयोग्य हुन्छ । तर बाँकेमा त्यसबेला भेटिएको आर्सेनिकमा पिपिएमको मात्रा ५० भित्रै थियो । खानेपानी तथा सरसफाई डिभिजनका निमित्त प्रमुखका अनुसार, आर्सेनिकमा बाँके तराईका अन्य जिल्ला भन्दा कम जोखिममा छ । आर्सेनिकको  नियमित पानीको परीक्षण नहँुदा अहिले त्यसको मात्रा कति छ भन्ने थाहा हुन नसकेको उनको भनाइ छ । ‘६–६ महिनामा परीक्षण गर्दा राम्रो हुन्थ्यो तर के गर्ने चार वर्षसम्म पनि परीक्षण गर्न सकिएको छैन ।’ निमित्त प्रमुख शर्माले भने ।
    सर्वसाधारण आफैले पनि आर्सेनिक परीक्षण गर्न छाडेका छन् । एक वर्षअघि दैनिक सात जना आर्सेनिक परीक्षणका लागि आउने भएपनि अहिले त्यो संख्या घटेको खानेपानी तथा सरसफाई डिभिजनका  एक कर्मचारीले बताए । उनले भने, ‘अहिले त हप्तामा एक/दुई जना मात्र आउँछन् ।’ आर्सेनिकलगायत पानीका अन्य बिभिन्न तत्व परीक्षण गर्नका लागि लाखौंको लागतमा खुलेको क्षेत्रीय पानी प्रयोगशाला पनि संचालन नहुँदा झन् समस्या भएको कर्मचारीहरु बताउँछन् । चार वर्ष अघि बनाइएको उक्त प्रयोगशामा अहिले कुनै काम भएको छैन । उसले न आफै पानी परीक्षण गरिरहेको छ न सर्वसाधारणले ल्याएको पानी नै परीक्षण गरिरहेको छ ।
    नियमित रुपमा आर्सेनिकको परीक्षण नगर्दा जनस्वास्थ्यमा समस्या पर्ने सम्भावना छ । आर्सेनिक रोगले छाला सम्बन्धी रोगदेखि क्यान्सरसम्म गराउँदछ । बाँकेमा अहिलेसम्म यस्ता रोगीहरु नभेटिएको खानेपानी तथा सरसफाई डिभिजनले जनाएको छ । ‘बाँकेमा आर्सेनिकको जोखिम कम भएपनि यसको निरन्तर परीक्षण गरिरहनुपर्ने हो ।’ डिभिजन प्रमुख शर्माले भने, ‘तर के गर्ने दाताको सहयोग बिना परीक्षण सम्भव नै छैन ।’

No comments:

Post a Comment