जाजरकोट अस्पताल डाक्टरविहीन, गाउाका विद्यालय वन्द

Bookmark and Share 
राजेन्द्र कार्की
जाजरकोट, २४ भदौ ।
    केही दिनदेखि फैलिएको भाइरल ज्वरोको कारण जाजरकोटमा एक जनाको ज्यान गएको छ । ढिमे गाविस वडा नं. ७ समकोटका ६० वर्षीय मनसुर सिंहको शुक्रवार विहान मृत्यु भएको हो । गाउँमा फैलिएको भाइरलका कारण तीन दिनदेखि विरामी भएका सिंहको उपचार अभावमा मृत्यु भएको स्थानीय दलबहादुर थापाले बताए ।
    गाउँमा अहिले भाइरलका विरामीको संख्या बढिरहेको थापाले जनाए । त्यस्तै भाइरलकै कारण जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयहरु वन्द हुने क्रमपनि बढेको छ । भाइरल ज्वरोका कारण शिक्षक तथा विद्यार्थीहरु विरामी हुनथालेपछि जिल्लाको पूर्वी तथा उत्तरी भेगका विद्यालयहरु वन्द भएका छन् । खगेनकोटको पन्चभ्यार माध्यमिक विद्यालयलगायतका विद्यालयहरु भाइरल ज्वरोको कारण विद्यार्थी र शिक्षक विरार्मी पर्न थालेपछि वन्द हुने क्रम वढेको हो ।
    जिल्लामा भाइरल ज्वरोको प्रकोप वढिरहेको वेला जिल्ला अस्पताल भने डाक्टर विहिन भएको छ । केही समय अघि मात्र तीन जना डाक्टर रहेको अस्पताल भने यतिवेला डाक्टरविहीन भएको हो । जिल्ला स्वास्थ्य प्रमुख डा. विवेकुमार लाल एक हप्ताको लागि समीक्षा वैठकमा भन्दै नेपालगन्ज गएका छन्भने दुई वर्षका लागि जिल्लामा आएका मन्दिप दुलाल पनि आफ्नो कार्यावधि सकिएर बाहिर गइसकेका छन् । दुई महिना अघि अर्का डाक्टर अमल बस्नेतको सरुवा भएपनि अहिलेसम्म कोही पनि नआउँदा समस्या परको हो ।
    एकातिर गाउँका स्वास्थ्य संस्थाहरु कार्यालय सहयोगीका भरमा चल्नु र अर्काेतर्फ जिल्लामा डाक्टर कोही पनि नहुनुले स्थानीयहरु ठूलो आपतमा परेको लहँका स्थानीय वद्री पन्तले वताए । अहिले खगेनकोट, डाँडागाउँ, रोकायगाउँ, रामीडाँडा, ढिमे खलंगालगायतका गाउँमा भाइरलको प्रकोप वढ्दो रुपमा रहेको र तिनै ठाउँका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु विभिन्न वहानामा बाहिर गएको बताइएको छ । जिल्ला अस्पताललगायत गाउँका स्वास्थ्य संस्थाहरु यति बेला औषधि र डाक्टरविहीन भएका छन् ।
    जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा मेट्रोन निराजोल , पारासिटोमोल, कोट्रिन, जिन्क, आइरन चक्की, एमोकिसमा, मेगापान, सिप्रो मेट्रो इन्जेक्सनलगायत दर्जनभन्दा बढी जटिल प्रकृतिका रोगको औषधि आभाव भएको छ । जाजरकोट आउने औषधि पथलैया बारामा थन्किएका कारण समस्या परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. विवेककुमार लालले वताए । विभाग र राजनैतिक पहुँचका भरमा गाउँका स्वास्थ्यकर्मीहरु जिल्ला बाहिर र अनावश्यक काजमा बस्ने गरेका कारण यतिवेला गाउँमा जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन समस्या परको लालले बताए ।
    जिल्ला अस्पतालमा आएको बजेटबाट खरिद गरेको औषधिले अहिलेसम्म काम चलेको र अव समस्या पर्दै गएको कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा मात्रै दैनिका भाइरल ज्वरो र निमोनियाका डेढ सय बिरामी आउने गरेका छन् । स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि स्थानीयहरु महँगा निजी मेडिकलको भर पर्न बाध्य भएका छन् । सरकारले नि:शल्क बाँड्ने औषधि अस्पतालमा एउटा पनि नपाउँदा स्थानीय मेडिकलको महँगो औषधि किन्न बाध्य भएका छन् ।
    सरकारले जिल्ला अस्पतालबाट ८५, प्राथामिक केन्द्रबाट ४०, स्वास्थ्य चौकीबाट ३५ र उप–स्वास्थ्य चौकीबाट ३० प्रकारका औषधि उपलब्ध गराउने भनेपनि यो जिल्लामा भने कागजका पानामा सीमित रहेको बताइन्छ । औषधि आपूर्ति व्यबस्था महाशाखा अन्तर्गतको केन्द्रीय मेडिकल स्टोरले गत आर्थिक वर्षमा १० प्रतिशत पनि औषधि जाजरकोट नपठाएको अस्पताल स्रोतले जनाएको छ । स्टोरले ग्यास्ट्रिक इन्जेक्सन र क्यानुला २०/२० पिसमात्र पठाएको थियो । औषधि ढुवानी हुन नसकेर केन्द्रीय मेडिकल स्टोर पथलैया बारामा थन्किएको बताइएको छ ।

No comments:

Post a Comment