सूचनाको तिर्खा अनलाइनमा

Bookmark and Share 
भक्तबहादुर शाही
दैलेख, २० भदौ ।
    जिल्लाका अधिकांश पाठकले अनलाइनको माध्यमबाट नै  समाचारको तिर्खा मेटाउने गरेका छन् । समयमै पत्र पत्रिका जिल्लामा उपलब्ध नहुँने हुँदा पाठकहरुको मन अनलाइनतिर आर्कषित भएको हो । जिल्लामा अधिकांश पाठकले कान्तिपुर, नागरिक, आउटलाइन, सुर्खेतपत्र, सौर्यको समाचार अनलाइनमा हेरी तिर्खा मेटाउने काम गरेका छन् ।
    सञ्चारमा आएको विकासले निकै तिव्रता लिएपनि दुर्गम जिल्लामा पत्रिका पुग्दैन । पुग्ने ठाउँमा पनि वेलुकापखमात्र पुग्ने गर्छन् । गोरखापत्र, कान्तिपुर, नागरिक पत्रिका वाहेक अरु पत्रिका जिल्लामा आउँदैनन् । जिल्लास्थित सम्बन्धित मिडियाका संवाददातालाई समेत पत्रिका नआउनुले विडम्बना मानिन्छ । समाचार लेख्ने, तर आफूले लेखेको समाचारले कुन स्थान पायो, त्यसको बारे जानकारी लिनेका लागि संचारकर्मीहरुले पनि अनलाइनलाई सजिलो माध्यम बनाएको क्रियाशील पत्रकार प्रकाश अधिकारीले बताए । नेपालगन्जबाट प्रकाशित हुने कान्तिपुर र नागरिक पत्रिका मात्र बेलुकासम्म जिल्लामा आइपुग्छन् भने गोरखापत्र र नयाँ पत्रिका दुई दिनपछि मात्र जिल्लामा आइपुग्छन् । अन्य पत्रिकाको लागि पाठकले अनलाइनबाट समाचार पढ्ने गरेका छन् उनले थपे ।  गएको साउन महिनादेखि कान्तिपुर र नागरिक दैनिक पत्रिका जिल्लामा आउन थालेका हुन् । ७५ प्रति कान्तिपुर, ३० प्रति नागरिक, २५ प्रति गोरखापत्र, ४२ प्रति नयाँ पत्रिका दैनिकका  जिल्लामा पाठक रहेका छन् ।
    जिल्ला सदरमुकाममा पनि अधिकांश व्यापारीले रेडियो सुन्ने गरेका छन् । संचारको विकास संगै यहाँको जिल्ला दुईवटा सामुदायिक रेडियो संचालन छन् भने तीनवटा दैनिक पत्रिका प्रकाशित हुने गरेका छन् । ‘व्यापारीको पत्रपत्रिका पढ्ने वानी नभएकाले पत्रिकाको ग्राहक हुनुपर्‍यो भन्दा चाहिंदैन भन्छन् पत्रिका चलाउनै गाह्रो छ’ धमाका दैनिकका प्रकाशक विष्णु शर्माले
बताए । ‘तर पनि ३ वर्ष अघिदेखि घाटामा गएरपनि पत्रिका चलाउन गरेको छु’ उनले भने । दैलेखबाट प्रकाशित हुने तीनवटै पत्रिकाले सदरमुकाम भन्दा बाहिर आफ्नो फराकिलो दायरा बनाउन सकेका छैनन् । विशाला र जग्नाथबाहेक जिल्लाका सबै गाविसमा मोटरबाटो छोएपनि वर्षातमा भने सबै बाटो बन्द हुनाले यातायातका साधन चल्दैनन् । गत वर्षदेखि दु्रतगतिको इन्टरनेट सेवा (एडीएसएल) सुरु गरेपछि सदरमुकाममा अनलाइन हेर्ने गरेको स्थानीय विकास कोषका प्रशासन तथा लेखा अधिकृत खमबहादुर थापाले बताए । ‘जिल्लामा तीनवटा दैनिक प्रकाशित हुने गरेपनि हेर्न लायक पत्रिका नहुँदा फुर्सदको वेला अनलाइनबाटै ताजा समाचार हेरेर तिर्खा मेटाउँछौं,’ उनले भने ।
    गाउँमा कतिले त मोबाइलबाट समाचार हेर्ने गरेपनि संघ संस्थामा कर्मचारी आवश्यकताको लागि विज्ञापन खोलेका थाहा पाउन मात्र पत्रिका खोज्ने गरेको चामुण्डा निरकबहादुर शाहीले बताए । सूचनाका लागि मात्र गाउँ र बजारका केही युवाहरुले पत्रिका खोज्ने गर्छन् भने जिल्लामा कार्यरत गैरसरकारी संघसंस्थाहरुले कार्यक्रम संचालनको लागि साझेदारी संस्थाको लागि पत्रिका खोज्ने गरेको पाइन्छ । 

No comments:

Post a Comment