खेतीयोग्य जमीनमा ‘न घर, न खेती’

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
प्युठान, २७ भदौ ।
    खेतीयोग्य जमीन मानिने झिमरुक फाँटको अधिकांश क्षेत्र बाँझै रहेको छ । झिमरुक उपत्यकाको उर्वरभूमि मानिने यो फाँटमा घडेरीका लागि प्लटिङ गर्ने क्रम बढ्दै जाँदा खेतीयोग्य जमीन बाँझै रहेको हो । यहाँ पछिल्लो चार वर्षदेखि खेतीयोग्य जमीनको क्षेत्र बर्सेनि घट्दै गएको छभने बाँझो हुने क्रम बढ्दै गएको छ । जिल्लाको मुख्य बजार बिजुवार, धर्मावती बाग्दुला, जुम्री, रातामाटाको सडक किनारका जग्गा सकिएपछि झिमरुक फाँटको खेतीयोग्य जग्गामा प्लटिङ गर्दै जग्गाको व्यापार बढ्न थालेको छ । दाङ, बुटवल, काठमाडौंलगायतका ठाउँमा जग्गाको कारोबार गर्नेहरूले अहिले झिमरुक फाँटमा प्लटिङ गरी व्यावसायिकरूपमा जग्गाको व्यापार गर्न थालेका छन् ।
    जिल्लाको सौन्दर्यको समेत पहिचान दिने झिमरुक उपत्यका घडेरीका लागि प्लटिङ गर्ने क्रम बढ्दै जाँदा अहिले यो क्षेत्र कुरूप बन्दै गएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए । १ हजार २ सय हेक्टर सिञ्चित समथर झिमरुक फाँटमा जिल्लाको कूल उत्पादनको २५ प्रतिशतभन्दा बढी उत्पादन हुने उनको भनाइ छ । यवस्थित बसोवासको परिकल्पना गरी उत्पादन नहुने ठाउँमा व्यवस्थित बसोवास बसाल्न नसके यो फाँटको क्षेत्र केही वर्षमै मासिने अधिकृत रिजालले बताए । बर्षेनी फाँट मासिंदै गए उत्पादनसमेत घट्ने भएकाले खाद्यान्न संकट हुन सक्ने जिल्ला खाद्य संजालका संयोजक तथा बिजुवारका स्थानीय नरेशचन्द्र सुवेदीले बताए । बिजुवार गाविसको गाउँ परिषद्ले जहाँ पायो त्यहाँ र खेतीयोग्य जमिनमा प्लटिङ नगर्ने निर्णय गरेपनि निजी स्वामित्वमा रहेको जग्गामा कसैले करकाप गर्न नमिल्ने भएकाले अहिले खेतीयोग्य जमिन न घर न खेतीको अवस्थामा पुगेको उनले बताए ।
    यहाँ प्लटिङ गरिएको क्षेत्रमा घडेरी खरिद गरी केही वर्षपछि दोब्बर नाफा हुने आसले बिक्री गर्ने मनसायले घडेरी बाँझै राख्दा खेतीबाली लगाउने गरिएको छैन भने घर पनि बनेका छैनन् । भालुवाङ–प्युठान मोटरबाटो कालोपत्रे भएसंगै जिल्लाका मुख्य क्षेत्र जुम्री, बिजुवार, बाग्दुलालगायत दाखाक्वाडीमा समेत घडेरीका रूपमा झिमरुक फाँटका खेतलाई घडेरी बनाइँदै बेच्ने गरिएको छ । गत वर्षसम्म ३० देखि ४० हजार प्रतिहातमा कारोबार हुने यस क्षेत्रको जग्गा हातको अहिले ६० देखि ८० हजार  पुगेको छ । प्राय: ग्रामीण क्षेत्रबाट वैदेशिक रोजगारीमा गएकाहरूले कमाएको पैसा सुरक्षित लगानी भन्दै घडेरी खरिद गर्ने गरेका छन् ।

No comments:

Post a Comment