मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको विज्ञान संकायको भवन शिलान्यास

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ भदौ ।
    मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि संकायको करिव ६ करोडको भवन मंगलवार शिलान्यास गरिएको छ । विहान ८ बजे विश्वविद्यालयका उपकूलपति प्रा.डा. पद्मलाल देवकोटाले शिलान्यास गरे । कूल ५ करोड ९९ लाख ९७ हजार रुपैयाँको लागतमा निर्माण हुने २१ कोठे भवनका लागि अहिले सरकारले दुई करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
दुई वर्षको समय छुट्याइएको उक्त भवन बनाउन जयन्ती कन्ट्रक्सन अन्तर्गतबाट दिपककुमार पन्तले ठेक्का लिएका छन् । मध्यपश्चिम क्षेत्रमा विज्ञान प्रविधिको विकास गराउनका लागि सर्वप्रथम यसको भवन निर्माण गर्न लागिएको विश्व विद्यालयका रजिष्ट्रार ठकेन्द्रप्रकाश गिरीले बताए । सुर्खेती जनताले विश्वविद्यालयको स्थापनाका लागि निकै संघर्ष गरेको र अहिले त्यो संघर्षले सफलता पाउँदै गएको बताउँदै उनले भवन निर्माण भएपछि विश्वविद्यालयले साकार रुप लिने उल्लेख गरे ।
    विश्वविद्यालयका डीन पीताम्बर ढकालले यस भवन निर्माण भएपछि यहाँ विज्ञान तथा प्रविधि अध्ययनरत विद्यार्थी र शिक्षकहरु मात्रै रहने र अन्य विद्यार्थी र शिक्षकको हस्तक्षेप नहुने बताए । उनले भवनको निर्माण व्लक प्रणालीबाट हुने जानकारी दिए । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि १ सय २० कोठे १५ वटा भवनका लागि सरकारसंग रकम माग गरेपनि उपलव्ध हुन नसकेको बताउँदै उनले वर्तमान राजनीतिक संकट समाधान भए बजेट आउने आशा व्यक्त गरे । उनले भवन सुर्खेतीहरुको सम्पत्ति भएकोले अनुगमन र निरीक्षण गर्ने दायित्व पनि हने हुँदा सल्लाह सुझाव दिन आग्रह गरे ।
    यता मध्यपश्चिम विश्वविद्यालयमा समायोजन हुन सुर्खेत क्याम्पस शिक्षाले नमानेपछि मप विश्व विद्यालयको काममा ढिलाइ भएको छ । मध्यपश्चिम विश्वविद्यालयमा समायोजन गर्न सुर्खेतका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, पव्लिक साइन्स क्याम्पस तयार भएपनि त्रिभुवन विश्व विद्यालयको सुर्खेत क्याम्पस शिक्षा भने तयार छैन ।
मध्यपश्चिम विश्व विद्यालयका रजिष्ट्रार ठकेन्द्रप्रकाश गिरीले ऐनले सुर्खेतमा रहेका क्याम्पसलाई समायोजन गने भनिसकेपछि किन ऐन नमान्ने भनी प्रश्न गर्छन् । ऐनमा समायोजन भइसकेपनि व्यवहारमा हुन नसकेकोले त्रिभुवन विश्वविद्यालयले ऐन मान्नुपर्ने उनको भनाइ छ । यहाँका सम्पत्तिहरु मप विश्वविद्यालयको भइसकेकोले अव जसरी पनि आफ्नो सम्पत्ति लिइ छाड्ने जिकिर रजिष्ट्रार गिरीले गरे ।

No comments:

Post a Comment