केटी खोज्दा, राम्री रोज्दा यस्तो पाइयो

दिनेश गौतम
    किन चाउरिस मरिच ? भन्दा आफ्नै पीरले भन्थ्यो रे, तर मलाई जति पीर त्यो जाबो मरिचको गेडालाई के पर्‍यो होला र ? हुन त, मनको बह कसैलाई नकह भन्छन् तर आफूलाई आशा लाग्छ सबैसित बह पोख्न पाए कतै माखेसाङ्लो लागि हाल्थ्यो कि ? त्यसैले योतिर लाग्न थालेको । हेर्नोस् न कागे भेडाको भुत्लाझै जुँघा पाकिसके तर एउटी कन्या केटीको लगनगाँठो समात्न भने मैले अहिलेसम्म पाएको छैन ।
    मेरै दाजुले पनि आमाको काख छुट्ने वित्तिकै स्वास्नीको काख पाएका थिए । दुई चार वटा मकैका थाङ्ग्रा र परालका कुन्यु देखेपछि उतातिर कसले ओल्टाई पोल्टाई केटो हेरिरहन्छ र त्यही चिना त हेर्ने हुन् त्यहीपनि ज्यातिषलाई फकाई फुकाई एक कप चिया खुवाइदिने हो भने त राहु केतु ठ्याम ठुम ।
    मधेसतिर खोजुँ भने हाम्रो आमा भन्छिन् ‘उतातिरका केटी काम गर्न सक्दैनन् । पेट बोक्ने भएर मात्र के गर्नु, डोको बोक्ने बुहारी चाहिन्छ ।’ तैपनि तराईका असुन्दरीहरुले मलाई पहाडको पाखे बोको भनेर गन्दै गन्दैनन् । त्यसैले मधेसीको छोरी विहा गर्ने कुरै छैन । सहरतिरको त झन् के कुरा गर्नु र यो निष्ठुरी सहर ? अर्काले लाएको पनि खाएको पनि यहाँ खिसी चल्छ । सहरमा अझ बल्झेको अर्को कुरा के भने यहाँ त बोलीकै आधारमा राष्ट्रियताको व्याख्या गर्न थालिएको छ । त्यसैले सहरमा एउटा कोठा माग्न जाँदा त पहाडिया होस् कि हिमाली होस् कि मधेसी होस् भनेर बहस चल्छ भने केटी माग्न जाँदा त कुरै छाड्दिनुस् । त्यसैले यहाँ नेपाली भएर मात्र पुग्दोरहेनछ, नेपालीभित्र पनि पाखे, काँठे, मधेसी वा सहरीया आफू के हो पक्का प्रमाणपत्र चाँहिदो रहेछ ।
    त्यसैले आफूलाई चल्दोमिल्दो काँठे नै हो । किनभने भन्नलाई ‘काँठ कछाड’ भनेपनि काँठे बडो कुटनैतिक पाराको हुन्छ । पहाडीया सित बस्न पर्‍यो भने बस्छ अनि सुर्ती खाँदै फुर्ती लगाउन थाल्छ, ‘हामी एक कप चियाको निम्ति इज्जत बेच्ने सहरीया स्वांगी होइनौं तर त्यही काँठे फेरि सहरीयासित बस्नुपर्‍यो भने भुक्छ । ‘हामी एक हल गोरुको निम्ति छोरो बेच्ने पाखे डोके होइनौं’ भनि पहाडीयालाई पखाल्न थाल्छ । यसरी दुवैतिर दुरुस्त बन्न खोज्दा खोज्दै उसले आफ्नो एक किसिमको बेग्लै विशेषता कायम गरेको हुन्छ, त्यसैले मैले केटी खोज्न थालेको हुँ काठैतिर ।
    अस्ति भर्खरकै कुरा हो ढकाल चोककी ढकालकी छोरीकी आफ्नै छोरीसित कुरा मिल्याथ्यो, केटीको कुरामात्र मिलेर के गर्नु कुरा अड्क्यो दाइजोमै । म भने वाइक लिने पक्षमा थिए तर बा चाहिं कारै चाहिने रे । उनीहरु पनि वाइक दिन तयार थे तर के गर्नु बाबु बुढा भनेका माने पो । कारै चाहिन्छ भने कुरो त्यहीं अड्क्यो त्यसको एक महिनापछि एउटा कुरा सुनियो त्यो केटीको विवाह भएछ । कार मोटरसाइलको कुरै छाडौं साइकल भए पुग्ने केटासंग गइछे । बा–आमा खुशी भएछन् । त्यसका खुशी पनि किन नहुन वाइक दिनुपर्ने ज्वाइँ त हाटेसकेका बेता त्यसमाथि साइकल
उस † यसपाली पनि फेरि असफल भइयो ।
    फलाना ठाउँकी ज्ञवालीकी छोरीसंग बोलीचाली पनि सुरु भैसक्याथ्यो तैपनि ज्वाइँकै रुपमा । ऊ रहिछे खत्री ज्ञवाली म भने उपाध्याय गोतामे । मसंग धेरै धन हुँदो हो त एक्काइसौं शताब्दीमा जातभातको
के कुरा ? एउटा गतिलो गाई दान गरिदियो भने पण्डित बाजेले शास्त्र जोगाइ हाल्थे तर गरीब हुनाले जति नालीबेली लगाउँदा पनि जातको कुनै भागबण्डा लागेन । भात त हाम्रो चल्छ रे तर दाल चाहिं नचल्नी । दाल नचलेपनि सधैं गोलभेंडा साँधेर भात खाउँला, देउ न छोरी भनेको सडेको भूतपूर्व हुनेवाला ससुरो बुढोले के मान्थ्यो । विचरो जात खोज्दा खोज्दै ३५ वर्ष कटेछ । छोरीको जवानी सकिएपछि कसले लैजावस् । खै कौनालाई अचेल घरज्वाइँ ब’नार राख्या छ रे बुढाले...।
    त्यसपछि भने अब फेरि गएको भदौमा निकै पढेकी र बढेकी कन्या केटी मिलेकी थिइ । नगरपालिकाकै न्यौपानेकी छोरी पढेकी केटी भएपछि आउनेवित्तिकै घरधन्दा समात्छे भनेर हाम्री आमा तीनपटक त आँगनमै नाचिन् भन्या । सम्धी भेटमा सुनको सिक्री दिन्छ रे भनेपछि बाले पनि भन्नुभो विवाह गर भनेर । नीला ओठ र काला आँखा पार्दै मैले सोचे, पढेकी पाउन त भाग्यमा लेखिएको हुनुपर्छ । आफू कक्षा ८ मा ८ चोटी फेल भएपनि टाकनटुकन टेस्टको सर्टिफिकेट बनाथेँ । त्यसैले म पनि अलिअलि पढेलेखेकै थिए । जातभातको कुरा पनि मिल्यो । अब पढेकी आउने होभने त घर पनि राम्रै चाहियो । गोठका दार निकालेर दराज बनाइयो भने ती केटीले कुकुर मन पराउँछिन् भनेर ब्याउने गाई बेचेर बेलायती कुकुरपनि किनियो । झिंगाको बोसो झिकेर हैजाको ओखती बेच्ने हाम्रो दाजु जस्ता हुच्चा लुच्चाले पनि घरजग्गा बन्धकी राखेर ऋण झिकेर सबै सरसामान जोडे । त्यसबेला मेरो घरको चुरीफुरी देखेको भए काजी साब पनि छोरी दिन आउँथे होला । जे होस् विवाहको दिन आयो तर के गर्नु आफ्नो आङ कोतरेर आफ्नै आङको छारो उडाउनु भन्छन् । जब म सिन्दुर हाल्न लाग्याथें उनी त छट्पटाउन थालिन् । के भो ? के भो ? भन्दाभन्दै उनले कन्यादान दिनेबेला अर्की कन्यालाई जन्म दिइन् । कस्तो अचम्म उरेन्ठ्यौला जन्तीहरु खुब हाँस्न थाले आफूभने मुर्छा परिहालें त्यसपछि के भो ? के भो सबै भगवान जानुन् ।
    कहिले जातभात मिल्दैन, कहिले ठाउँठहर मिल्दैन । कहिले दाइजोको कुरा मिल्दैन । साँच्चै मेरो भाग्यमा श्रीमती लेखेर पूर्णविराम ला’छ कि प्रश्नवाचक चिन्ह ? म दंग परें तरपनि नामर्दले केटी खोज्न कहाँ छोड्छ र फेरि गए दैलेख । दैलेखको सदरमुकाममा गा’थें † तर बालाई चाहीं लइन जहाँ पनि बाले कुरो विगारेर हैरान । कुखुरै कुखुरा भा’को त्यो घरमा केटी खोज्न गएको म बाहिरबाट भने घरमा को हुनुुहन्छ ? १६/१७ वर्षकी कलकलाउँदी केटी बाहिर आएर भनिन, ‘कसलाई खोजेको बाजे’ त्यसपछि मैले यसो पछाडि हेरे कोही छैन होइन यसले कसलाई बाजे भनि भनेर सोचें हाँस्दै भित्र गइ । अनि मेरा दारी छाम्न थालें आफैले यतिसम्मकी म सुर्खेत
फर्कुन्जेलसम्म सम्मपनि बाजे भन्ने शब्द मेरो मष्तिस्कमा घुमिरहेको थियो ।
    त्यसपछि सरासर दाइ भाउजुलाई भने, ‘हैन मेरो विहे गर्दिन्छौ कि म तिमीहरुकै दलिनमा झुण्डेर मरु हँ ? भाउजुलाई कुन्नी कताबाट माया जागेछ आएर भनिन् ‘बाबु † त्यसो नभन्नुस् हामी जसोतसो विहे गरिदिउँला ।’ पौष शुक्ल औंसीको दिन विवाह भयो । एकदमै राम्री थिइ विहे हुन्जेलसम्म केही समयपछि रात पर्‍यो त्यसपछि सुत्ने बेला मुख धोएर आइ । त्यसपछि कुलेखानी विद्युत त्यसमाथि सिएफएल चिम अगाडि आउँदापनि अनुहार देखिन्न वा । त्यसपछि १०० रुपैयाँको लाइट बालेर हेरें देखिन । सबै थाहा पाएँ । भाग्य सरापे त्यै दिन राती सानो एउटा कविता लेखें:
दिउँसभरी दुलही हेरें चामलजस्ती गोरी
जब पर्‍यो राती कोदो हो कि तोरी
हे भगवान यो कुन तावाकी छोरी
फसाइ मलाइ जाली रहिछे मोरी
उल्टो तावाभन्दा पनि धेरै काली
तै कालीलाई हेर्छु दिउँसै लाइट बाली
(यो मात्र व्यंग्य हो कृपया अन्यथा नलिनु होला ।)
 

No comments:

Post a Comment