मलामीपनि पाउँदैनन् गन्धर्वहरुले

भक्तबहादुर शाही
दैलेख, २४ असोज ।
    ‘मर्दाका मलामी जिउँदा जन्ती’ भन्ने उखानले दैलेख लकान्द्र–८ का वादी (गन्धर्व) परिवारलाई छोएन । कर्ण वादीको श्रीमती अमृताको केही दिन अगाडि मृत्यु हुँदा तीन छोरा र चार/पाँच जना वाहेक कोही पनि मलामी गएनन् । मलामी नहुँदा दाहसंस्कार गर्न दिनभरी नै गन्र्धव परिवारले मसानघाट कुर्नुपर्‍यो ।     गाउँघरमा कोही मानिस मर्‍यो भने दाहसंस्कार गर्न हलो नजोत्ने, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभ कामसमेत गर्न रोक्ने गरिन्थ्यो तर सोही समाजको गन्र्धव समुदायको मान्छे मर्दा भने कसैले पनि त्यसो गरेनन् । उसो त मलामी गएका केही गैरदलितको बारे समाजमा विभिन्न खाले टिकाटिप्पणी हुन थाले । जिल्ला सदरमुकाममा दलित र गैरदलितवीच छुवाछूत अन्त्य गर्न थुप्रै गोष्ठी सेमिनार तालिम र जनचेतना कार्यक्रम गरिन्छ ।
तर दलित/दलितवीचको छुवाछूतको खाडल भने दिनप्रतिदिन गहिरिदैं गएको देखिन्छ । त्यसैको एउटा उदाहरण लकान्द्र–८ अमृता वादीको मृत्यु संस्कार मानिन्छ  । गाउँमा दलित गैरदलितहरु घरमै थिए । तरपनि उनीहरु भने मलामी गएनन् । मलामी नजानुका कारण थियो जातीय विभेद ।
    पहिलेदेखि गैरदलितले दलितको मलामी नजाने भएकोले वादीको मलामी नगएको सोही गाविसका देवीराम बुढाले बताए । ‘हामी आफूले सक्दो दान दियौं भइत गो’ उनले भने । तर दलित समुदायका मानिस भने घरमा पिपलपानीको काम परेकाले जान नसकिएको सुरेन्द्र विकले बताए । ‘जुठो चोखिने दिन भएकाले जान सकिएन’, उनले भने । सो वस्तीमा ओड, लुवार, कामी, गरी तीन थरी दलित छन्भने रावत वुढा ठकुरी गरी तीन जाति गैरदलितको बसोबास रहेको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेकोले जातीय छुवाछूतको मारमा दलित समुदायले खेप्नुपरेको पीडालाई न्यूनीकरण गर्न जिल्ला सदरमुकाममा थुप्रै अन्तरक्रिया कार्यक्रम गरेपनि दूरदराजका दलित समुदायलाई कुनै प्रभाव नपार्ने लकान्द्र–८ बुद्धिजीबि नामबहादुर शाही बताए । ‘जातीय विभेद दलित/दलितवीच र गैरदलित बीच हुने गरेकाले जनचेतनाका कार्यक्रम गाउँमै संचालन गरिनुपर्छ’, उनले भने । जिल्ला सदरमुकाममा गरिने कार्यक्रम यदि गाउँमा गरिदिएको वादी समुदायले यो अवस्था भोग्नु नपर्ने उनको भनाइ रहेको छ ।
    तर गाउँमा राजनीति गर्नेहरुले भने यसबारे बोल्न नचाहने पीडित कर्ण वादीले गुनासो पोखे । गाउँमा गठित सामुदायिक संस्थाले समूहको वैठकमा रुढीवादी परम्परा छाड्ने सम्बन्धी छलफल हुन थालेपछि केही गैरदलित दलितको मलामी जाने गरेको सामाजिक परिचालक नर्तमबहादुर बुढाले बताए । कानुनले कसैलाई पनि जातजाति, भाषा, धर्म तथा संस्कृतिका नाममा विभेद गर्न नपाउने कानुनी व्यवस्था भइसक्दा पनि जातका आधारमा धार्मिक हिसाबले दलित समुदायले भेदभावको मार खेप्नु परिरहेको अवस्था विद्यमान छ ।  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा दैलेखको आयोजनामा एक दिने मानवअधिकार प्रवद्र्धनका लागि धार्मिक गुरुहरु तथा पण्डितहरुले मात्र चाहेर सम्भव नभएकाले पुन: धार्मिक गुरुहरु, पण्डितहरु, क्षेत्री समाज, दशनामी समाज, राजनीतिक दलहरु, पत्रकार, मानव अधिकारकर्मीहरु तथा दलित समुदायको सहभागितामा वृहत अन्तरक्रिया गरी व्यवहारत धार्मिक हिसाबले दलितले/दलितमाथि र गैरदलितले दलित समुदायमाथि गरिंदै आएको विभेदको अन्त्यका लागि अगाडि बढ्ने निष्कर्ष निकालेको थियो ।
 

No comments:

Post a Comment