बालबालिकाको तारो पुस्तकालय

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, २४ असोज ।
    शनिबार दिउँसोको २ बज्दै गर्दा कोहलपुर–४ चप्परगौरीका ११ वर्षीय सुशील विष्ट कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा छिरे । उनी पुस्तकालयमा पस्नासाथ गोविन्दबहादुर मल्ल गोठालेले लेखेको कथैकथा पुस्तक झिके । कोहलपुरको बाँके मुनलाइट एकेडेमीमा अध्ययनरत विष्ट त्यहाँ आफूलाई मन परेको पुस्तक पढ्न हरेक शनिबार सामुदायिक पुस्तकालयमा आउने गर्छन् । घरमा राम्रो पुस्तक नभएकाले आफू विद्यालय विदाको दिन ज्ञानोदय पुस्तकालयमा आउने गरेको उनले बताए । पुस्तकालयमा हाल १० प्रकारका विभिन्न लेखकले लेखेका पुस्तक राखिएका छन् ।
    ‘पुस्तकालयमा राखिएका पुस्तक पढ्दा रमाइलो लाग्छ, आफूले चाहेको कथा, कविता र रचना पढ्न पाइन्छ ।’ विद्यार्थीले भने । ‘पुस्तकालयमा आएर अध्ययन गरेपछि मैले आधा पढ्नुभन्दा पूरै पढ्नुपर्छ भन्ने थाहा पाएको छु ।’ सुशील पुस्तकालयमा आएर धेरैजसो विज्ञान र कथाका पुस्तक पढ्ने गर्छन्् । चप्परगौरीका १० वर्षीय शिशिर गौतम पनि ज्ञानोदय पुस्तकालयमा बसेर कार्टुन संग्रह पढ्दै थिए । शिशिरलाई विज्ञान सम्बन्धी पुस्तक मन पर्छ । स्थानीय मुन लाइट एकेडेमीमा कक्षा ४ मा अध्ययनरत शिशिर भन्छन्, ‘घरमा भन्दा पुस्तकालयमा पढ्ने राम्रो वातावरण भएकाले विदाको दिन यहीं आएर विभिन्न किसिमका पुस्तक पढ्ने गरेको छु ।’
    कोहलपुरकै अर्को विद्यालय गोर्खा युनाइटेड स्कुलबाट १२ कक्षाको जाँच दिएका १८ वर्षीय विक्रम बिसीपनि पुस्तक पढ्नका लागि शनिबार सोही पुस्तकालयमा आउने गर्छन्् । विक्रम विज्ञान, साहित्य र इतिहास सम्बन्धी पुस्तक पढ्न यहाँ आउने गरेका छन् । विक्रम भन्छन्, ‘घरमा भनेजस्तो पुस्तक पाइदैंन, यहाँ मन लागेको पुस्तक रोजीरोजी पढ्न पाइन्छ ।’ ‘यहाँ पढ्नका लागि वातावरण पनि शान्त छ, पढ्नका लागि शान्त वातावरण चाहिने भएकाले म विदाको दिन यहाँ आउने गरेको छु ।” उनले भने, ‘व्यक्तिगत रूपमा पुस्तकहरू किन्दा महँगो पर्ने भएकाले किन्न सकिंदैन, पुस्तकालयमा आउँदा कुनै शुल्क पनि लाग्दैन, त्यसैले पढ्नका लागि राम्रो छ ।”
    त्रिभुवन उच्च मावि कोहलपुरको कक्षा १० मा अध्ययनरत नवीना बुढामगर शनिबारको फाइदा उठाउन ज्ञानोदय पुस्तकालय आउँछिन् । दैनिक पत्रिका पढिरहेकी नवीनाले भनिन्, ‘घरमा पढ्दा हल्ला हुन्छ, किताब र पत्रिका पनि हुँदैन, त्यसैले विदाको दिन पुस्तकालयमा आएर मन परेको किताब अध्ययन गर्छु ।’ नवीनालाई कथा, विज्ञान, उखान र शब्द भण्डारजस्ता पुस्तक अध्ययन गर्न मनपर्छ । पुस्तकालयमा साना बालबालिकाका खेलौना पनि राखिएका छन् । शनिबार र अन्य विदाका दिन बालबालिका खेल्न र बालबालिका सम्बन्धी पुस्तक पढ्न एक छिन भएपनि पुस्तकालयमा पस्ने गरेका छन् । पुस्तकालयमा १५ देखि १६ वर्ष उमेरका केटाकेटी अध्ययनका लागि आउने गरेका छन् ।
    सो पुस्तकालयमा १० प्रकारका पुस्तक पाइनुका साथै बाल कक्षा, संगीत, खेलकुद, श्रव्यदृष्य हेर्ने व्यवस्थापनि छ । ‘यही असोज २० गते शनिबार ४० भन्दा बढी बालबालिका अध्ययनका लागि पुस्तकालयमा आएका थिए’ पुस्तकालयका कोषाध्यक्ष भीम पौडेलले भने । ‘पुस्तकालयमा साना बालबालिकादेखि लिएर १५ देखि १७ वर्ष उमेरका किशोरकिशोरी पुस्तक पढ्नका लागि आउने गरेका छन् पुस्तकालयमा पुस्तक पढ्दा कुनै शुल्क लाग्दैन’, पौडेलले भने, ‘पुस्तकालयले ई–मेल र इन्टरनेट सेवा पनि नि:शुल्क प्रदान गर्दै आएको छ ।’ कोहलपुर र आसपासका बालबालिका विभिन्न पुस्तक पढ्न, संगीत तथा खेलकुदका लागि पुस्तकालयमा आउने गरेको पौडेलले बताए । ‘बालबालिकाको बौद्धिक विकासमा टेवा पुर्‍याउन पुस्तकालयका स्थापना गरिएको हो’ पौडेलले भने ।
    कोहलपुरमा रहेको ज्ञानोदय पुस्तकालयले बालबालिकामा पढ्नुपर्छ भन्ने भावनाको विकास गराएको पत्रकार शरद शर्माले बताए । यस्ता पुस्तकालय गाउँगाउँमा स्थापना गर्न सकेमा बालबालिकाको बौद्धिक विकासका साथै शिक्षामा टेवा पुग्ने पत्रकार शर्माको भनाइ छ ।
 

No comments:

Post a Comment