हिन्दु र मुस्लिमको चाडपर्व संगै

सुर्खेतपत्र संवाददाता 
विराटनगर, २५ असोज ।
    यसवर्ष हिन्दूहरूको महान चाड वडादसैं र इस्लाम धर्मावलम्बीको महान चाड इदुजोहा संगसंगै पर्नुलाई ठूलो संजोग मानिएको छ । वडादसैं चाडको सुरुवात असोज ३० गते घटस्थापनादेखि पूर्णिमासम्म मनाइन्छ भने इस्लाम धर्मावलम्बीको महान चाड इदुजोहा अर्थात बकरिद यही तिथिमा उदाएको चन्द्रमाको दशवा दिन अर्थात कात्तिक १० गते हुने भएको छ ।
    आ–आफ्ना चाडसंगै परेपनि मनाउने विधि भने फरक/फरक छन् । हिन्दुले  खासगरी दुर्गाको पूजाआजा गर्ने, बली चढाउने, नयाँ लुगा लगाउने, ठूलाका हातबाट टीका लगाउने, मिठोमसिनो खाने परम्परा छभने मुसलमानले यस पर्वमा हज गर्न अवसर पाउने र अल्लाहको आदेश अनुसार कुर्वानी गर्नुपर्ने धार्मिक मान्यता संगसंगै मिठो परिकार बनाएर खाने चलन छ । यो पर्व तीन दिन धुमधामसंग मनाइन्छ ।
    पर्वसंगै पर्नुले धेरै उपभोक्ता एकैपटक बजारमा आउने जाने कारणले चहल पहल बढ्नुका साथै महंगी पनि बढेको पाइएको छ । गएको वर्षमा उपलब्ध हुने सामानहरूमा अहिले २० देखि ३० प्रतिशत मूल्य बढेकाले क्रेताहरूलाई जोहो गर्न हम्मेहम्मे परेको छ । दैनिक उपभोग्य सामग्रीदेखि लिएर लत्ता कपडामा बढेको मूल्यले उपभोक्तामा थप आर्थिक भार बढ्न गएको देखिन्छ ।    यही पर्वको सन्दर्भले पशु हाटमा पनि खसी, बोकालगायत कुर्वानीका लागि उपयुक्त हुने चौपायाहरूको मूल्य पनि आकसिएको छ ।
 

No comments:

Post a Comment