छोरीलाई विभेद गर्ने क्रम घट्यो

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, २५ असोज ।
    बाँकेको पूर्वी क्षेत्रमा रहेको बैजापुरका महिलाले छोरीहरूलाई विभेद गर्ने क्रम पहिलेको तुलनामा निकै घटेको स्थानीय अगुवा महिलाले बताएका छन् । जीवन यापनका लागि वन तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत बैजापुर गाविसस्तरीय विषयमा आधारित परामर्श गोष्ठीका सहभागी महिलाले छोरीलाई छोरासरह अधिकार नदिइए पनि लैंगिक विभेद क्रमिक रूपमा सुधार हुँदैगएको बताएका हुन् ।
    बैजापुर गाविस–१, बैसाकी सुधा चौधरीले पहिलेको दाँजोमा महिला हिंसाका घटनामा सुधार भइरहेको बताइन् । ‘हिजोआज छोरासरह छोरीलाई पनि विद्यालय पठाउने गरिएको छ’, उनले भनिन्, ‘घरमा सीमित हुने हामी महिलापनि अहिले विभिन्न कार्यक्रममा जाने भएका छौं ।’
    सहरको तुलनामा गाउँका महिला धेरै स्वतन्त्र भएको बैजापुर–४, नयाँगाउँकी खिमा भण्डारीले बताइन् । ‘ठूलाबडाको तुलनामा स्थानीयस्तरमा बस्ने महिला धेरै स्वतन्त्र भएका छौं’, उनले भनिन्, ‘जसले महिला अधिकारको कुरा गर्छ उनीहरूले नै श्रीमतीलाई दमन गर्दै आएका छन् ।’
    कार्यक्रममा बैसाकी विमला चौधरीले महिलाको नाममा जमीन नभएकाले विभिन्न किसिमका हिंसा सहन बाध्य भएको
बताइन् । महिलाको नाममा जमीन भइदिएको भए कुटपिट, गालीगलौज र अवहेलना गर्ने श्रीमान््विरुद्ध बोल्ने आँट आउने उनको भनाइ छ । ‘महिलाका नाममा धनसम्पत्ति छैन’,उनले भने, ‘श्रीमान्ले छाड्यो भन्ने कसको सहारामा बस्ने भन्ने मानसिकताले पीडित हामी महिलाले श्रीमान्विरुद्ध बोल्न नसकेका हौं ।’ फाइन्ड योर फिटको सहयोगमा बेस बाँकेले आयोजना गरेको कार्यक्रममा बैजापुरकी नीमा विकले घरेलु हिंसा न्यूनीकरणका लागि सचेतनाको आवश्यकता औाल्याइन् ।
    ‘घरेलु हिंसासम्बन्धी बनेका ऐन, कानुनका बारेमा जानकारी नहुँदा पीडित भएपनि हकअधिकारका लागि आवाज उठाउन नसकेका हौं’, विकले भनिन्, ‘प्राय:जसो महिलाको जिन्दगी काट्ने आधार श्रीमान् मात्र भएकाले पनि हिंसामा पर्दा समेत मुख खोल्न नसकिएको हो ।’
    कार्यक्रमको सहजीकरण गर्दै अधिवक्ता रामशरण चौधरीले पुरुषको तुलनामा महिलाका लागि कानुन बलियो भएको बताए ‘श्रीमान्ले चाहेमा सम्बन्धविच्छेद सजिलै गर्न नसकिने कानुनी प्रावधान छ तर महिलाले चाहेमा सजिलोसंग सम्बन्धविच्छेद गर्न सकिनेव्यवस्था छ’, चौधरीले भने ।
    फाइन्ड योर फिटका नेपाल प्रतिनिधि वीरबहादुर हमालले अधिकारविहीन महिलालाई अधिकारबारेमा जानकारी गराउन कार्यक्रम परिकल्पना गरिएको बताए । ‘अधिकारविहीन महिलालाई अधिकारबारेमा जानकारी दिई उनीहरूलाई सशक्त बनाउने हाम्रो योजना हो’, हमालले भने, ‘वनजंगलमा पाइने कच्चा पदार्थबाट घरेलु सामानको उत्पादन गरी आयआर्जनमा टेवा पुर्‍याउने नै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।’
     बेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले पछाडि परेका समुदायको सशक्तीकरण गर्ने बेसको उद्देश्यअनुरूप कार्यक्रम तयार गरिएको बताए । ‘चेतना अभावका कारण ग्रामीण भेगका महिला पछाडि परेकाले कार्यक्रममार्फत सचेतना फैलाउन कार्यक्रम ल्याइएको हो’, चौधरीले भने ।
    एमाले प्रतिनिधि तुल्सीराम थारूले बालबालिकालाई सुमार्गमा लैजान महिलाको महत्वपूर्ण भूमिका हुन्छ भन्दै आफ्ना बालबालिकालाई राम्रा कुरा मात्र सिकाउन सुझाव दिए । ‘बालबालिकाको पहिलो पाठशाला घर हो’ उनले भने, ‘आमाबाबुले बोलेका कुरा बालबालिकाले सजिलै अंगीकार गर्ने भएकाले उनीहरूका अगाडि नराम्रो कुरा बोल्नु हुँदैन ।’
    नेपाली कांग्रेसका प्रेमराज श्रेष्ठले महिलाको अधिकारका लागि धेरै कानुन बने पनि कार्यान्वयन हुन सकेको छैन भन्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बैजापुरका समाजसेवी तुल्सीराम चौधरीले महिलाका लागि बनेका कानुनलाई स्थानीयस्तरबाट कार्यान्वयन गर्दै लैजानुपर्ने सुझाव दिए । ‘कानुन बनेर मात्र हुँदैन, बनेका कानुनको कार्यान्वयन गर्नु ठूलो कुरा हो’, चौधरीले भने ।
 

No comments:

Post a Comment