जंगलमा बच्चा फाल्ने आमा फेला परिन्

सुर्खेतपत्र संवाददाता 
सुर्खेत १५ पुस ।
    वीरेन्द्रनगर–३ कालागाउँको जंगलमा गत विहीवार बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको आमा फेला परेकी छन् । पश्चिम सुर्खेतको बाबियाचौरकी अन्दाजी २५ वर्षीया सीता परियारले सो शिशु आफनो रहेको प्रहरी समक्ष स्वीकारेपछि आमा पत्ता लागेको हो ।
    परियार वीरेन्द्रनगरस्थित वहिनीको घरमा आएको बेलामा सुत्केरी भएर बच्चा जंगलमा फालेको बयान प्रहरीलाई दिएकी छन् । उनले श्रीमानको अत्तोपत्तो नहुँदा आफूले पाल्न नसक्ने भएपछि जंगलमा फाल्न वाध्य भएको बयान प्रहरीलाई दिएकी छन् । ‘गरीवी अवस्थामा म छोरालाई कसरी पाल्ने, त्यसैले फाले’ उनको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले नवजात शिशु फाल्ने आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा पत्ता लागेको बताए । बच्चालाई वीरेन्द्रनगर–३ का बेलमति विकले पालेकी छन् । प्रहरीले कागज गराएर विकलाई पालनका लागि जिम्मा लगाएको थियो ।

No comments:

Post a Comment