सुर्खेतमा मनपरी लोडसेडिङ

उपभोक्ता, व्यवसायी र सरोकारवाला निकाय मौन
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ पुस ।
    दैनिक १२ घन्टाको घोषित लोडसेडिङ हुने भनिएपनि सुर्खेतमा विद्युत प्राधिकरणले मनपरी लोडसेडिङ गरेको छ । जसले गर्दा यहाँका बासिन्दाहरुले दैनिक १५ घन्टासम्म अँध्यारोमा बस्न बाध्य भएका छन् ।
    हिउँदमा विद्युतको माग बढ्दो र आपूर्ति कम भएका कारण प्राधिकरणले देशभर हाल दैनिक १२ घन्टा लोडसेडिङ गरेको जनाएको छ । यो तालिका अझ बढ्न सक्ने पनि जनाइएको छ । तर सुर्खेतमा घोषित र अघोषित गरी दैनिक १५ घन्टासम्म लोडसेडिङ हुने गरेपछि यहाँका उद्योग धन्दालगायत उपभोक्ताहरु चर्को मारमा परेका छन् ।

    विगतका दिनमा सुर्खेतमा टनकपुरको लाइन भएकोले काठमाडौंको तुलनामा आधा कम समय लोडसेडिङ हुने गर्दथ्यो । तर यसपटक भने त्यसो नभइ समग्र मुलुकभर एउटै लोडसेडिङ हुने गरेको प्राधिकरण सुर्खेत शाखाले जनाएको छ ।
    सुर्खेतमा हाल दिनको उज्यालोमा ३ देखि ४ घन्टासम्म मात्रै विद्युत आउने गर्दछ । तर त्यो पनि वीचवीचमा आन्तरिक र भार धानेन भन्दै काट्ने
गरिएको छ । विद्युत प्राधिकरणमा कारण बुझ्न खोज्दा कोहलपुरबाट भार धानेन भनी काटेको जवाफ पाइनाले प्राधिकरण सुर्खेत शाखा लाचार व्यक्त गर्दछ । घोषित तालिकाभन्दा पनि बढी विद्युत काट्नाले उद्योगधन्दाहरु चौपट्ट भएको व्यवसायीहरु बताउँछन् । विद्युत आउने समयमा पनि पटक–पटक काट्नाले काम अवरुद्ध हुन पुगेको उनीहरुको भनाइ छ ।
    हाल मनपरी लोडसेडिङ हुनाले सवैभन्दा बढी असर छापाखाना, कम्प्यूटर इन्ष्टिच्यूट, एफएम रेडियो, पत्रपत्रिकाहरु, ग्रील तथा सटर उद्योगहरुमा परेको छ । घोषित तालिका बाहेक अन्य समयमा लोडसेडिङ नगर्न पटकपटक आग्रह गरेपनि भार धानेन भन्दै काट्ने गर्दासमेत उपभोक्ताहरुको पक्षमा सरोकारवाला निकाय पनि मौन बसेको छ । यस सम्वन्धमा न उद्योग व्यवसायीहरुको संस्थाले आवाज उठाउन सकेका छन् न त उपभोक्ताहरुले नै । बरु चुपचाप अँध्यारोमै बस्नमा मजा मानिरहेका छन् ।
    उता प्राधिकरण सुर्खेतले पनि कोहलपुरबाट काट्ने भएकोले आफूहरुले केही गर्न नसक्ने जनाएको छ । अघोषित लोडसेडिङले पनि समस्या उत्पन्न गराएको र त्यो सवै कोहलपुर हुने प्राधिकरणको रेडिमेट जवाफ छ । सुर्खेतमा आन्तरिक लोडसेडिङ हट्यो भनिएपनि अहिले त्यो नागरिक झुक्याउने चालमात्र भएको छ । 
 

No comments:

Post a Comment