हराएका मध्ये ४० प्रतिशत बालबालिका भेटिदैंनन्

सुर्खेतपत्र संवाददाता 
ललितपुर, १५ पुस ।
    नेपालमा हराउने कूल बालबालिकामध्ये ४० प्रतिशत बालबालिका नभेटिने गरेको पाइएको छ । खोजतलास तथा समन्वय केन्द्रको तथ्यांकअनुसार हराएकामध्ये करिब ६० देखि ७० प्रतिशत बालबालिका मात्र भेटिने गरेका छन् । भेटिएका कतिपय बालबालिका पनि भेटिए भनेर केन्द्रमा जानकारी नआउने गरेका कारण कति बालबालिका भेटिए भन्ने यकिन तथ्यांक नभएको केन्द्रले जनाएको छ ।
    हराएका ती बालबालिकालाई कुनै कारखानामा श्रममा लगाएको वा विदेशमा लगेको हुनसक्ने केन्द्रको अनुमान छ । वि.सं. २०६३ मा तथ्यांक राख्न सुरु गरेको अवस्थामा वार्षिक २५/२६ सय बालबालिका हराउने गरेकामा हाल त्यो संख्या घटेर वार्षिक १५ सयमा झरेको पाइएको छ । परिवारको बेवास्ता, रमाइलो गर्ने चाहना र कामको खोजीमा उपत्यकामा छिर्ने बालबालिकाको संख्या करिब पाँच हजारको हाराहारीमा रहेको छ । उपत्यकामा छिरेपछि हराउने बालबालिका पनि उत्तिकै छन् ।
    कतिपय बालबालिकालाई खोज्नका लागि केन्द्रले सञ्चारमाध्यमको समेत प्रयोग गर्ने गरेको छ । केन्द्रका कार्यक्रम अधिकृत भीमविक्रम शाहीका अनुसार सञ्चार माध्यमसंगको सहकार्यमा हराएको सूचना प्रकाशित गरेर पनि खोज्नेक्रम जारी रहनेछ । त्यसका लागि नेपाल टेलिभिजन र रेडियो नेपालसंग समन्वय गरिने गरिएको छ । यस्तै बेवारिसे अवस्थामा भेटिएका बालबालिकालाई प्रहरीले उद्धार गरी समन्वय केन्द्रको जिम्मा लगाउने गरेको छ ।
     आकस्मिक उद्धार र परामर्शका लागि भनेर बाल हेल्पलाइन १०४ नि:शुल्क टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ । २०६३ साल फागुनबाट संचालनमा ल्याएको सो हेल्पलाइनमा पनि बालबालिका हराएमा उजुरी आउने गरेको छ । उक्त हेल्पलाइन संचालनका लागि सरकारका तर्फबाट वार्षिक रु. ५ लाख प्रदान गर्ने गरेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।
    शाहीले भने, ‘हामी आकस्मिक सेवा दिन्छौं, तर जनशक्ति अभाव छ । रकम थोरै छुट्टाएकाले आवश्यक जनशक्ति पुगेको छैन, त्यसैले सेवा त्यति प्रभावकारी छै्रन ।’ बालबालिकाका क्षेत्रमा कार्यरत सिविनले पनि नेपालका ५ स्थानबाट हेल्पलाइन सेवा दिइरहेको छ । यस्तै आवाज नामक संस्थाले बालहेल्पलाइन सेवा तीन जिल्लामा संचालन गरिरहेको छभने अन्य ५ गैरसरकारी संस्थाले ५ जिल्लामा सेवा दिइरहेका छन् ।
    केन्द्रको आव २०६७/६८ को तथ्यांक अनुसार पूर्वाञ्चलबाट ९१, पश्चिमाञ्चलबाट २ सय ७, मध्यपश्चिमाञ्चलबाट २ सय र सुदूरपश्चिमाञ्चलबाट १ सय ९ गरी कूल २ हजार २ सय १६ बालबालिका हराएकामा १ हजार ३ सय ५ जना बालबालिका मात्र भेटिएका थिए । यसैगरी आव २०६८/६९ को तथ्यांक अनुसार १ हजार ५ सय ७८ बालबालिका हराएकामा ८ सय ८० फेला परेका थिए । हराएका बालकको संख्या ७ सय ७४ थियो भने बालिकाको संख्या ८ सय ४ । भेटिनेमा पनि बालकको संख्या नै धेरै थियो ।
भेटिएकामध्ये ५ सय ४ बालक र ३ सय ७६ जना बालिका थिए ।
    हराउनेमा विशेष गरी १४ देखि १६ वर्ष उमेरका बालबालिकाको संख्या बढिरहेको कार्यक्रम अधिकृत शाहीले बताए । काम गर्नसक्ने उमेर भएकाले यो उमेरका बालबालिकालाई ललाइफकाइ प्रलोभनमा पारेर वा डराइधम्काइ गरेरसमेत विभिन्न काममा लगाउने गरेको देखिन्छ ।
 

No comments:

Post a Comment