किन बढ्दैछ महिलामाथि हिंसा ?

सुर्खेतपत्र संवाददाता 
काठमाडौं, १५ पुस ।
    देशका ठाउँठाउँमा महिलामाथि हिंसा भएको भन्दै अधिकारकर्मीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिइरहेको बेला दैलेखमा श्रीमानले श्रीमतीको हत्या प्रयास गरेको खबर सार्वजनिक भयो । केही दिनअघि मात्रै बारामा एक महिलाको आगोले जलाएर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । त्यसको केही हप्ताअघि पेट्रोल छर्केर आगो लगाई घाइते बनाइएकी बार्दियाकी शिवा हास्मीको मृत्यु भएको थियो ।
    महिला हक, अधिकारको चर्काे आवाज उठिरहेको र भर्खरैमात्र महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलाइएको बेला बढिरहेका यस्ता घटनाप्रति सबै चिन्तित र आक्रोशित भएका छन् । १६ दिने अभियान चलाएर केही दिन सुस्ताएका महिला अधिकारकर्मीहरु अहिले तातेका छन् । सरकारी निकायपनि सचेत भएका छन् । आफ्नो निवासमा धर्ना दिन आएका अधिकारकर्मीहरुसंगको भेटमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई महिला हिंसाको घटना सुनेर आफू स्तब्ध भएको भन्दै घटनाका दोषीहरुमाथि कडा भन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीले काठमाडौं अनामनगरमा रहस्यमयरुपमा मृत फेला परेकी सरस्वती अधिकारी सुवेदीको पुन: पोष्टमार्ट गरेर अनुसन्धान अघि बढाउन र घटनाका आरोपितलाई तत्कालै गिरफ्तार गर्न निर्देशन दिएका छन् ।
    वैदेशिक रोजगारबाट फर्केकी युवतीमाथि बिमानस्थलमा भएको लुटपाट र बलात्कारको घटनामा सरकारले ठोस निर्णय गरिसकेको र अन्य कारवाहीपनि अघि बढाउने आश्वासन दिएका छन् । महिला माथिको हिंसा बढिरहेको बेला सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको महिला हिंसा विरोधी सेलको बैठक बोलाएको छ । आपराधिक मानसिकता बढ्दो  महिलामाथि एकपछि अर्को हिंसाका घटना बढेपछि सबै आक्रोशित र चिन्तित बनेका छन् । घटनाका दोषीलाई कार्वाही हुन नसक्नु नै घटना बढ्नुको मुख्य कारण रहेको अधिकारकर्मीहरुको ठम्याइ छ । यस्तै पीडितले उचित न्याय र क्षतिपूर्ति नपाउँदा पनि अवस्था गम्भीर बन्दै गएको छ । ‘हिंसापीडित महिलाको सुरक्षा र पुनस्र्थापनामा विषयमा विद्यमान ऐन मौन छ’ राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीले भनिन् । पीडितका लागि बनाइएका सरकारी पुनस्र्थापना केन्द्रहरु व्यवस्थित नभएको र सामान्य सुविधा भएका केन्द्रमा वास्तविक पीडितको पहुँच पुग्न नसकेको उनले बताइन् ।
    हिंसा नियन्त्रणमा सरकारी निकायको उदासिनताले घटना बढाउन त मद्दत गरेको छ नै । मानिसको मानसिक समस्याले पनि यस्ता घटना निम्ताइरहेका छन् । ‘पछिल्लोपटक मान्छेको दिमागमा नकारात्मक सोच र क्रियाकलापले प्रश्रय पाउन थालेको छ’ मनोविज्ञ गंगा पाठकले भनिन्, ‘यसबाट पारिवारिक तथा सामाजिक हिंसा बढाएको छ ।’
    नकारात्मक सोचलाई समयमै नियन्त्रण गर्न नसक्दा हिंसात्मक घटना हुने गरेको उनले बताइन् । ‘मान्छेमा नैतिक र चारित्रिक शिक्षाको पनि कमी छ’ पाठकले भनिन्, ‘समाजमा नैतिकहीन र चरित्रहीन मान्छेको संख्या बढिरहेकाले आपराधिक क्रियाकलाप पनि मौलाइरहेको छ ।’ यस्ता क्रियाकलाप र घटना रोक्न घरघरबाट आवाज उठाउन अब ढिलो भैसकेको छ ।
 

No comments:

Post a Comment