निर्वाचनका लागि छलफल आवश्यक

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १० पुस ।
    संविधानसभाको निर्वाचनका लागि राजनीतिक दल तथा सबै सरोकारवाला निकाय वीच विस्तृत रुपमा छलफल गर्नुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।  असलसासन जिल्ला समन्वय समिति सुर्खेतको सहकार्य र न्याय तथा अधिकार संस्था नेपाल जुरी ललितपुरको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा भएको संघीयता र मानवअधिकार विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
    संविधान जारी गर्नका लागि संविधान सभाको आवश्यकता भएकाले छलफलबाट निकास खोज्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । संविधानसभाका लागि विकल्पसहित निस्कर्ष निकाल्नुपर्ने उनीहरुले औल्याएका छन् । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै युएनडिपिका बसन्तप्रसाद अधिकारीले संविधानसभा विघटनपछि हुने परिस्थितिका बारेमा उचित छलफल नभएका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताए ।
    उनले संविधानसभामा संविधानका विवादित विषयमा सामान्य छलफलसमेत हुन नसक्दा सही निकास निस्कन नसकेको बताए । संविधानको अन्तरवस्तुमा सहमति हुन नसकेर, सत्ताको बाँडफाँडमा सहमति नभएर नै संविधानसभा विघटन भएको उनको भनाइ छ ।
    कार्यक्रममा अधिवक्ता कृष्ण हमालले नेपालमा मानवअधिकारको जगमा स्थापित संघीयता आवश्यक
रहेको बताए । संघीयतालाई स्वरुपमा लैजान नसक्दानै देशले संविधान पाउन नसकेको उनले जिकिर गरे ।
    त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका डीन पीताम्बर ढकालले विविधताको व्यवस्थापन संघीयताले गर्न सक्नुपर्ने बताए । विविध भाषा संस्कृति जातको व्यवस्थापन गर्नसक्ने संघीयता आवश्यक रहेको उनले बताए ।

No comments:

Post a Comment